मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २६ मंगलबार ०६:४४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सन्दीपले जिते आइसिसीको उत्कृष्ट खेलाडी अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २६ मंगलबार ०६:४४:००

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी (प्लेयर अफ द मन्थ) को अवार्ड जितेका छन् । उनले बंगलादेशका नासुम अहमद तथा अमेरिकाका ब्याट्सम्यान जसकरण मल्होत्रालाई पछि पार्दै यो उपाधि जितेका हुन् । 

आइसिसीको प्लेयर अफ द मन्थको मनोनयनमा पर्ने सन्दीप दोस्रो नेपाली खेलाडी हुन् । गत वैशाखमा नेपालका ओपनर कुशल भुर्तेल आइसिसीको अप्रिलमा यस मनोयनमा परेका थिए । त्यसवेला पाकिस्तानका कप्तान बाबर आजमले उपाधि हात पारेका थिए । यसपटक सन्दीपले उपाधि हात पार्नुको मुख्य कारण नै गत महिना ओमानमा सम्पन्न आइसिसी विश्वकप लिग २ क्रिकेट सिरिज तथा पपुवा न्युगिनीसँगको दुई एक दिवसीय खेलमा उत्कृष्ट प्रदर्शन गर्नु नै थियो । उनले पछिल्लो ६ अन्तर्राष्ट्रिय खेलमा १८ विकेट लिएका थिए । यसै प्रदर्शनको आधारमा आइसिसीले सन्दीपलाई सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडीको सूचीमा समावेश गरेको हो ।

नेपालले ओमानमा सम्पन्न पपुवा न्युगिनीसँगको दुई एक दिवसीय खेलमा जित निकालेको थियो । जसमा सन्दीपले उत्कृष्ट बलिङ स्पेल गरेका थिए । उनले पुपुवा न्युगिनीविरुद्धको पहिलो खेलमा १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिएका थिए । दोस्रो खेलमा उनले केवल ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका थिए । यी दुवै खेलमा उनी ‘म्यान अफ दी म्याच’ भएका थिए । 

ओमानमै नेपालले अमेरिका र आयोजक ओमान सम्मलित विश्वकप लिग २ सिरिजमा सहभागिता जनायो । अमेरिकलाई पहिलो खेलमा पाँच विकेटले हराउँदा सन्दीपले ३५ रन खर्चे दुई विकेट हात पारे । ओमानसँगको पहिलो खेलमा पेटमा समस्याका कारण उनले बलिङ गर्न सकेनन् । 

अमेरिकासँग दोस्रो खेलमा सन्दीपले दुई विकेट लिन ३४ रन खर्चे । अवार्डको विजेता आइसिसीकै प्यानल र खुला मतअनुसार घोषणा भएको हो । आइसिसीको प्यानलमा पूर्वखेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहेको छ ।