दसैँ भन्नासाथै मनोरञ्जन र खानपान सँगसँगै जोडिने गर्छ । तर, यसवेला खानपानमा सावधानी नअपनाउँदा दीर्घकालसम्म रहिरहने रोग सुरु हुन सक्ने चिकित्सकहरूको चेतावनी छ ।
स्वास्थ्यको ख्याल नै नगरी मासुजन्य पदार्थ तथा चिल्लो पदार्थ बढी भएका परिकार सेवन गर्दा हृदयाघात, मस्तिष्कघातजस्ता रोग निम्तिन सक्ने चिकित्सकहरूको भनाइ छ । यसकारण खानपानमा विशेष सजगता अपनाउन चिकित्सकको सुझाब छ ।
मासुमा चिल्लो र कोलेस्ट्रोलको मात्रा बढी हुने भएकाले मुटु तथा मिर्गाैला रोगीहरूले खान नहुने चिकित्सकहरू बताउँछन् । छालामा कोलेस्ट्रोल र चिल्लोको मात्रा बढी हुने हुँदा सामान्य व्यक्तिले पनि छाला खान नहुने चिकित्सकहरूको सुझाब छ । उनीहरूका अनुसार आन्द्राभुँडी टाउकोको सेवन पनि हानिकार हुन्छ । मासु सेवन गरिसकेपछि सागसब्जी, फलफूल गेडागुडी, कागतीको सर्वतलगायत फाइबरयुक्त खानेकुरा खान सुझाब छ । दसैँ सकिएलगत्तै खानपानका कारण हुने उच्च रक्तचाप, हृदयाघात, मुटुको धड्कन बिग्रिएका बिरामीहरू बढी आउने गरेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु बताउँछन् ।
एकै ठाउँमा बसेर नखाऔँ
दसैँ–तिहारमा तास खेल्ने, रक्सी खाने पनि धेरै हुन्छन् । एकै ठाउँमा बसेर तास खेल्ने र खाने गर्दा पेट तथा कलेजोमा समस्या हुने वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. दिलीप शर्मा बताउँछन् । खानपानमा विभिन्न प्रकारका विषाक्त पदार्थ मिसाएको हुने भएकाले स्वस्थकर खानपानमा ध्यान नदिँदा कलेजोमा खराबी आउन सक्ने शर्मा बताउँछन् । उनले चाडबाड भन्दैमा आफ्नो शरीरले पचाउन सक्नेभन्दा बढी खानु राम्रो नहुने बताए । ‘नेपालीको पाचन प्रक्रिया कमजोर छ,’ शर्मा भन्छन्, ‘प्रोटिनको मात्रा बढी हुनासाथ पखाला लाग्न थाल्छ । त्यसैले यस समयमा कुनै न कुनै समस्याले पिरोल्छ ।’ मासुजन्य खानेकुरासँग प्रशस्त मात्रामा रेसादार सागसब्जी प्रयोग गर्न उनको सुझाब छ ।
छाला निकालेका पंक्षीको मासु खानु राम्रो
चिकित्सकहरूका अनुसार रातो मासु खानुको साटो छाला निकालेर पक्षीको मासु खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । त्यसमा अझ माछा खानु उत्तम हो । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार रातो मासु युरिक एसिड, ट्राइग्लिसराइड, मुटु रोगीका लागि पनि राम्रो मानिँदैन ।
उनले भने, ‘मासु पकाउँदा थोरै तेल राख्नुपर्छ । मासुमा हुने बोसो सकेसम्म नखानु राम्रो ।’ हाँस, कुखुरा, माछा, चराचुरुंगीको मासु सेतो हुन्छ रातो रेसादार मासुको दाँजोमा यो कम खतरनाक हुन्छ । तर, यसको पनि बढी प्रयोग गरेको खण्डमा कोलेस्ट्रोल बढ्न सक्छ ।
मदिराको प्रयोग कति गर्ने ?
डा. रेग्मीका अनुसार एक दिनमा एक स्वस्थ पुरुषले दुई ड्रिंक र महिलाले एक ड्रिंक लिँदा कुनै समस्या हँुदैन । एक ड्रिंकमा ३० मिलिलिटर ह्विस्की, डेढ सय मिलिलिटर वाइन र अढाई सय मिलिलिटर बियर हुन्छ । ‘तर मुटुको समस्या भएका व्यक्तिले मदिरा सेवन गर्नुहुँदैन,’ डा. रेग्मी भन्छन् । मस्तिष्काघात, युरिक एसिडबढेका, गर्भवती महिला, कलेजोको बिरामी, मधुमेहका बिरामीले मदिरा सेवन गर्नु घातक हुने चिकित्सकहरूको भनाइ छ ।
साथै, रक्सी र मासुको एकैपटक प्रयोग पनि गर्नु नहुने रेग्मीको भनाइ छ । उनी भन्छन्, ‘यसले स्वास्थ्यमा दीर्घकालीन समस्या ल्याउन मद्दत पुर्याउँछ ।