मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असोज २५ सोमबार ०९:०६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

थाङ्काभित्र लुकाई चरेस तस्करी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असोज २५ सोमबार ०९:०६:००

लागुऔषध तस्करले चरेस तस्करी गर्न बौद्ध धर्मावलम्बीको पवित्र कला थाङ्कालाई समेत प्रयोग गर्ने गरेको खुलेको छ । थाङ्काको फ्रेमभित्र लुकाई तस्कर गर्न लागिएको लागुऔषधसहित ‘र्‍याकेट’का सदस्य पक्राउ परेपछि यो तथ्य खुलेको हो । लागुऔषध नियन्त्रण ब्युरोले सात दिनको विशेष अप्रेसनपछि थाङ्काभित्र लुकाई भारतको कोलकाता हुँदै पानीजहाजमार्फत हङकङ लैजान लागिएका सात किलो नौ सय ७७ ग्राम चरेस बरामद गरेको छ ।

ब्युरोका अनुसार बरामद चरेस नेपाली बजारमा प्रतिकिलो १८ हजार रुपैयाँ र हङकङ पुग्दा प्रतिकिलो दुई लाख रुपैयाँमा बिक्छ । तस्करीमा संलग्न मोरङ उर्लाबारी– ८ का ३२ वर्षीय अन्जित थापा, सिन्धुपाल्चोक सुनकोसी– ५ का ३० वर्षीय सुजन श्रेष्ठ, सिन्धुपाल्चोक लिसखु– ५ का ४१ वर्षीय सागर भनिने जालिन्द्र श्रेष्ठ, पर्सा सखुवापर्सौनी– १ का दिनदयाल महतो उराव, दीपेन्द्र महतो उराव, मकवानपुर थाहा– ११ का ४५ वर्षीय रवि मुक्तान र धादिङ थाक्रे– ३ का २३ वर्षीय मोतीलाल तामाङ पक्राउ परेका छन् । 

उनीहरूले ललितपुरको मानभवनस्थित ब्लु स्टार कार्गोबाट उक्त लागुऔषध हङकङ लैजान लागेका थिए । ब्युरो प्रमुख एसएसपी हृदय थापाले तस्करले चरेस तस्करी गर्न थाङ्कालाई समेत प्रयोग गर्ने गरेको बताए । उनले भने, ‘ह्यान्डिक्र्याफ्टका सामग्रीभित्र लुकाई लागुऔषध तस्कर हुने गरेको त भेटिएको हो । तर, थाङ्का नै प्रयोग हुने गरेको भने भेटिएको थिएन । पछिल्लो घटनाले अब तस्करीका लागि थाङ्कासमेत प्रयोग हुने गरेको पुष्टि भएको छ ।’

बौद्ध धर्मावलम्बीमाझ थाङ्का कला अत्यन्तै लोकप्रिय छ । तिब्बती शब्दावलीमा यसलाई अभिलेखीकरण गरिएको सन्देश भनिन्छ । अर्थात् थाङ्का बौद्ध धर्म दर्शन व्याख्या गर्ने एउटा सजिलो माध्यम हो । जसमा बौद्ध धर्मसँग सम्बन्धित देवी–देवताको अर्थ पूर्ण चित्र समेटिएका हुन्छन् । त्यसो हुँदा थाङ्कालाई बौद्ध धर्ममा उच्चकोटिको पवित्र रचना मानिन्छ । तर, लागुऔषध तस्करले बौद्ध धर्मको यही आस्थालाई प्रयोग गरेर चरेस तस्कर गर्ने गरेको अनुसन्धानमा संलग्न ब्युरोका डिएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए । उनले भने, ‘घटनाबारे अझै अनुसन्धान हुँदै छ । थप तथ्य अझै पनि खुल्दै जाला ।’