नोबेल कमिटीले यस वर्षको नोबेल शान्ति पुरस्कार मारिया रेसा र दिमित्री मुरातोभलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा गरेको छ। द नर्वेजियन नोबेल कमिटीले रेसा र मुरातोभले लोकतन्त्र र दिगो शान्तिको पूर्वसर्त, अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि योगदान पुर्याएकाले उनीहरूलाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको बताएको छ।
फिलिपिन्समा जन्मिएकी रेसा पत्रकार तथा लेखक हुन्। उनले सिएनएनका लागि दक्षिण पूर्वी एसियाको मुख्य रिपोर्टरका रूपमा काम गरेकी थिइन्। त्यस्तै, मुरातोभ रसियाली पत्रकार हुन्। उनी रसियाको नोभाया गजेटा नामक पत्रिकाका प्रधान सम्पादक हुन्। नोभाया गजेटाले रसियाली सरकारलाई निरन्तर खबरदारी गर्दै आएको छ।
चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको पुरस्कार यसअघि नै घोषणा भइसकेको छ। अक्टोबर ४ देखि ११ सम्म चल्ने पुरस्कार घोषणा कार्यक्रममा सोमबार अर्थशास्त्रतर्फको पुरस्कार घोषणा गरिँदै छ।