एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौं किंग्स– ११ र भैरहवा ग्लाडिएटर्सबीच आज मंगलबारका लागि तय भएको लिगको अन्तिम खेल रद्द भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तय भएको खेलमैदानको आउटफिल्ड भिजेका कारण खेल्न योग्य नभएपछि रद्द गरिएको हो। खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्।
यससँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स– ११ प्ले अफमा प्रवेश गरेको छ। काठमाडौं चौथो स्थानमा रहँदै प्ले अफमा पुगेको हो। काठमाडौंले पाँच खेलमा तीन अंक जोड्यो । ललितपुर प्याट्रियट्सले समान तीन अंक जोडे पनि काठमाडौं नेट रनरेटका आधारमा प्ले अफमा पुगेको हो।
लिगमा आठ अंक जोडेको चितवन टाइगर्स पहिलो स्थानमा छ भने सात अंक जोडेको पोखरा दोस्रो स्थानमा छ। त्यस्तै समान सात अंक नै जोडेको भैरहवा नेट रनरेटका आधारमा तेस्रो स्थानमा छ।
साबिक विजेता ललितपुरसँगै दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स भने प्रतियोगिताको लिग चरणबाटै बाहिरिएका छन्। भोलि बिहान ९ः१५ बजे चितवन टाइगर्स र पोखराबीच पहिलो क्वालिफायर खेल हुनेछ। त्यस्तै काठमाडौंले भैरहवासँग इलिमिनेटर खेल खेल्नेछ।