महाधिवेशनको ‘म्यान्डेड’ : सम्पूर्ण शक्ति निर्वाचन तयारीमा, तीनवटै तहको निर्वाचनमा पार्टीलाई ठूलो दलका रूपमा स्थापित गर्ने संकल्प, तर भएन असन्तुष्ट मतको सम्बोधन
एमालेको प्रथम विधान महाधिवेशनले निर्वाचनकेन्द्रित पार्टी संरचना र नीति पारित गरेको छ । शुक्रबारबाट सुरु भएको महाधिवेशन पार्टीको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव सुझाबसहित पारित गर्दै आइतबार सकिएको छ । आगामी कार्ययोजनासहित पारित प्रतिवेदन र प्रस्ताव निर्वाचनकेन्द्रित छन् ।
६ हजारभन्दा धेरै प्रतिनिधि सहभागी एमालेको पहिलो विधान महाधिवेशनले तीनवटै तहको निर्वाचनमा पार्टीलाई एकल बहुमत प्राप्त ठूलो दलका रूपमा स्थापित गर्ने संकल्प पारित गरेको हो । ‘महाधिवेशन आसन्न स्थानीय तह निर्वाचनको तयारीमा लाग्न, आफ्ना पालिकाहरूमा पार्टीको विजय सुनिश्चित गर्न र यसका लागि आवश्यक संगठनात्मक व्यवस्थापनलाई तत्काल तीव्रता दिन सबै कमिटी तथा कमरेडहरूलाई आह्वान गर्दछ,’ महाधिवेशनबाट पारित प्रस्तावमा छ ।
महाधिवेशनमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्न र सुझाब सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले पनि तीनवटै तहको चुनावमा पार्टीलाई सुदृढ बहुमतको स्थानमा पुर्याउने गरी तयारीको काममा जुट्न आह्वान गरे । ‘हामीले अब स्थानीय तहको निर्वाचन जित्नैपर्नेछ । संघीय र प्रदेश तहका निर्वाचन जित्नुपर्नेछ र त्यहाँ हामीले अत्यधिक सफलता प्राप्त गर्नुपर्नेछ । सकेसम्म सबै प्रदेश सरकार र केन्द्रीय सरकारमा हामीले वर्चश्व जमाउनुपर्नेछ, बहुमतको एमालेको सुदृढ संघीय सरकार बनाउनुपर्नेछ । यी कार्यभारलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्नेछ,’ ओलीले भने ।
आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको र पार्टीलाई आगामी निर्वाचनमा स्पष्ट बहुमतमा पुर्याउने एक मात्र ध्येय रहेको ओलीको भनाइ थियो । ओलीले पार्टीले बहुमत ल्याउन सम्भव रहेको दाबी गरे । ‘अहिले हामीलाई कम्तीमा ५१ प्रतिशत नेपाली एमालेको पक्षमा छ भन्ने चाहिएको छ र यो सम्भव छ । हाम्रा महान् देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकामी, विकासमुखी सोच तथा समृद्ध नेपाल : सुखी नेपालीको सर्वोपरि आकांक्षाका आधारमा त्यहाँ पुग्न सकिन्छ,’ उनले भने ।
संसद् विघटन गर्ने तत्कालीन प्रधानमन्त्री ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि सरकारबाट बहिर्गमन भएको एमाले विधान महाधिवेशनले चुनावमार्फत पुनः सत्तामा जाने संकल्प गरेको छ । ‘अदालतको परमादेशद्वारा सरकारबाट बाहिरिनुपरे पनि जनादेशका माध्यमबाट पुनः राज्यको नेतृत्वमा पुनरागमन गर्दै समृद्धि र रूपान्तरणको अभियानलाई निरन्तरता दिने संकल्प गर्दछ,’ प्रचार विभाग प्रमुख योगेश भट्टराईको विज्ञप्तिमा छ ।
चुनावलाई नै लक्षित गरेर एमाले विधान महाधिवेशनले माधव नेपाल नेतृत्वको नेकपामा लागेका नेता–कार्यकर्तालाई मूल घरमा फर्काउने नीति पास गरेको छ । ‘भ्रमवश विभाजनको पक्षमा लागेका पार्टी कार्यकर्तालाई पुनः पार्टीमा फर्केर नेकपा (एमाले)लाई सुदृढ गर्ने र एकताबद्ध एमालेको नेतृत्वमा समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सफल पार्ने अभियानमा योगदान दिन हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा छ ।
प्रतिवेदनमाथि जवाफ दिँदै अध्यक्ष ओलीले भनेका थिए, ‘पार्टीमा योग्यता, क्षमता र योगदानका आधारमा जिम्मेवारी दिने विषयमा कुनै भेदभाव हुँदैन । भ्रममा परेका र बाटो बिराएका नेता—कार्यकर्तालाई मूलघरमा फर्कन आह्वान गर्दछु ।’ एमालेलाई विभाजन गरिछाड्ने दूषित मनसायका साथ ल्याइएको अध्यादेश, संविधानको अपव्याख्या र संवैधानिक अंगहरूका कतिपय मर्यादाबाहिरका काम र निर्णयसमेतका आधारमा एमालेलाई विभाजन गराइएको महाधिवेशनको निष्कर्ष छ ।
महाधिवेशनले राजनीतिक द्वन्द्वहरूलाई अन्त्य गर्ने, संविधान र संघीयता कार्यान्वयन गर्ने, राष्ट्रियतालाई सुदृढ र राष्ट्रिय स्वाभिमान उचो पार्ने, रणनीतिक महत्वका पूर्वाधारलगायत विकास निर्माणलाई तीव्रता दिने र सामाजिक न्यायलाई सुनिश्चित गर्नेजस्ता महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा ओलीको नेतृत्वको सरकारलाई धन्यवाद दिएको छ ।
एमालेले नेपालका लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका नेपाली भूभागमा रहेको बाह्य अतिक्रमण समाप्त गरी ती भूभागमा नेपालको हकभोग कायम गर्न गम्भीर कूटनीतिक पहल र वार्ता गर्न सरकारसँग माग गरेको छ । दार्चुलाका जयसिंह धामी बेपत्ता पारिएको घटनाका दोषीमाथि अविलम्ब कारबाही सुनिश्चित गर्न र पीडित परिवारलाई न्याय एवं राहत प्रदान गर्न महाधिवेशनले माग गरेको छ ।
यसबाहेक महाधिवेशनले वर्तमान सरकारले गरेका कतिपय निर्णयहरूले दुई छिमेकीसँग सन्तुलित र विश्वासिलो सम्बन्ध राख्नुपर्ने राष्ट्रिय आवश्यकता र परराष्ट्र नीतिको मर्ममाथि आँच पुर्याएको ठहर गरेको छ । गठबन्धन सरकारले स्रोत नखुलेको सम्पत्तिलाई वैधानिकता दिने गरी प्रतिस्थापन विधेयकमार्फत आयकर ऐन, २०५८ मा संशोधन गरी ल्याएको प्रावधानभित्र सत्तास्वार्थका लागि अवैध स्रोतलाई चोख्याउने दुराशय निहित रहेको एमालेको ठहर छ ।
दशौँ महाधिवेशन लुम्बिनीको बुटवलमा
एमालेले पार्टीको दशौँ महाधिवेशन लुम्बिनीको बुटवलमा आयोजना गर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न विधान महाधिवेशनले पार्टीको दशौँ महाधिवेशन बुटवलमा गर्ने निर्णय गरेको हो । एमालेले यसअघि नै १५ देखि १७ मंसिरसम्म दशौँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, काठमाडौंमा गर्ने निर्णय परिवर्तन गर्दै विधान महाधिवेशनले बुटवलमा आयोजना गर्ने निर्णय गरेको हो । यसअघि ०६५ मा एमालेले आठौँ महाधिवेशन बुटवलमा आयोजना गरेको थियो । दशौँ महाधिवेशनबाट एमालेले नेतृत्व चयन गर्नेछ ।
कति बदलियो एमाले ? १५९ बाट २२५ सदस्यीय केन्द्रीय कमिटी
नवौँ महाधिवेशनबाट एक सय १५ पूर्ण र ४४ वैकल्पिकसहित एक सय ५९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको एमालेले दशौँ महाधिवेशनबाट भने दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी सदस्य निर्वाचित गर्ने विधान पारित गरेको छ । अघिल्लोपटकभन्दा अबको महाधिवेशनबाट ६६ जना बढी केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । वैकल्पिक केन्द्रीय सदस्यको व्यवस्था यसपटक खारेज भएको छ ।
वरिष्ठ उपाध्यक्षको नयाँ व्यवस्था
नवौँ महाधिवेशनबाट एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहित १४ जना पदाधिकारी निर्वाचित गरेको एमालेले दशौँ महाधिवेशनबाट १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने विधान पास गरेको छ । जसअनुसार उपाध्यक्षमध्ये एकजना वरिष्ठ उपाध्यक्ष निर्वाचित हुनेछन् भने सचिवको संख्या सात पु¥याइएको छ । यसअघिको दुई उपमहासचिवको संख्या घटाएर एकजनाको व्यवस्था गरिएको छ ।
पदाधिकारीको संख्या बढाउने विकल्प खुला
विधान मस्यौदामाथि प्रतिनिधिका सुझाब र टिप्पणीको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले दशौँ महाधिवेशनले संशोधन आवश्यक ठानेकोबाहेक १५ जना पदाधिकारी निर्वाचित गर्न प्रस्ताव गरेका थिए । पौडेलकै भनाइलाई आधार मान्ने हो भने पनि पदाधिकारी संख्या बढाएर भए पनि नेताहरूको व्यवस्थापन गर्ने विकल्प भने खुलै राखिएको छ ।
स्थायी समिति ४५ सदस्यीय र पदाधिकारी रहने केन्द्रीय सचिवालय
नवौँ महाधिवेशनपछि २१ जनासम्मको स्थायी समिति बनाएको एमालेले दशौँ महाधिवेशनबाट ४५ सदस्यीय समिति बनाउने भएको छ । हलका प्रतिनिधिले पोलिटब्युरो राख्न सुझाब दिए पनि त्यसलाई हटाउने र पदाधिकारीहरू रहेको केन्द्रीय सचिवालय बनाइने प्रस्ताव पारित भएको छ ।
प्रदेश कमिटी कार्यकारी
प्रदेश कमिटी र पालिका कमिटीहरू बनाउने नयाँ व्यवस्था गरिएकोमा प्रदेश कमिटी अधिवेशनबाटै निर्वाचित हुने गरी कार्यकारी बनाउने विधान पास भएको छ । प्रदेश कमिटी ५० जनामा एक निर्वाचन क्षेत्रबाट पाँचजनाको बराबरले थपेर बनाउने, जिल्ला कमिटी ५० जनामा एक निर्वाचन क्षेत्रबराबर १५ जना थपेर बनाउने, पालिका कमिटीहरू ५० मा प्रतिवडा पाँचजना थपेर बनाउने विधान पारित भएको छ । अनुशासन आयोग, निर्वाचन आयोग र केन्द्रीय लेखा आयोग अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १५ सदस्यीय रहने विधान पारित भएको छ ।
ससर्त ७० वर्षको उमेर हद
पार्टीमा ७० वर्षको उमेर हदलाई निरन्तरता दिइएको छ । पार्टीको कार्यकारी पदमा ७० वर्ष पूरा नभएसम्म उम्मेदवार हुन पाउने र कार्यकाल पूरा नहुँदै उमेर हद पूरा भएका कारण जिम्मेवारीबाट हट्न नपर्ने व्यवस्था छ । एउटै व्यक्ति कुनै एउटा पदमा दुई कार्यकालभन्दा बढी पटक उम्मेदवार हुन नपाइने भएको छ ।
फेरियो पार्टीको लोगो, नयाँ एप पनि लन्च
एमालेले पार्टीको नयाँ लोगो पारित गरेको छ । नयाँ लोगोमा सूर्य चिह्नको बीचमा हँसिया–हथौडा रहने पार्टीको नयाँ लोगो रहनेछ । यसअघि सूर्य चिह्नको बीचमा सिपिएन युएमएल लेखेर हँसिया–हथौडा राखिएको थियो । एमालेले एप पनि लन्च गरेको छ । एपले सबै कार्यकर्तालाई एउटै सञ्जालमा जोड्न मद्दत गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले बताए । नयाँ सदस्यता एपमार्फत लिन सकिने र तोकेको शुल्क तिरेर सदस्यता नवीकरण गर्न सकिने विशेषता रहेको उनले जानकारी दिए । पार्टीको निर्णय र अपानिहरू एपमार्फत सबै कार्यकर्तालाई एकसाथ दिइनेछ भने एपमा पार्टीका सबै कमिटी, जनवर्गीय संगठनको प्रोफाइल हुने जनाइएको छ ।
जबज नै सिद्धान्त र समाजवादउन्मुख कार्यदिशा
जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त र यसकै कार्यक्रमलाई अँगाल्दै आएको एमालेले विधान महाधिवेशनबाट नवौँ महाधिवेशनबाट पारित दस्ताबेजमा कुनै नयाँ नीतिगत परिवर्तन गरेन । नेपाली समाज पुँजीवादको प्रारम्भिक अवस्थामा रहेको पुरानो विश्लेषण दोहोर्याउँदै राष्ट्रिय पुँजीको विकासमार्फत समाजवादको आधार निर्माण गर्ने कार्यदिशालाई निरन्तरता दिएको छ । त्यसका लागि जनताको बहुदलीय जनवादको क्रान्तिपछि समाजवादमा पुग्ने कार्यक्रमको बाटोबाट अगाडि बढ्नुपर्ने एमालेको निष्कर्ष छ ।
भुसालले पाएनन् अनुमति
उपमहासचिव घनश्याम भुसालले जबज सिद्धान्त र कार्यक्रमका रूपमा ठिक रहे पनि त्यसलाई सिद्धान्त बनाउने प्रक्रिया बाँकी नै रहेको भन्दै फरक मत राख्दै आएका थिए । तर, उनको फरक मतलाई केन्द्रीय कमिटीले महाधिवेशनमा प्रस्तुत गर्न भने कुनै अनुमति दिएन । भुसालले पार्टीमाथि लागेको संविधान उल्लंघन र संसद् विघटनको जवाफ दिनुपर्ने माग गरेका थिए । तर, प्रतिवेदनमा संसद् विघटनलाई जायज ठहर्याएको छ ।
केपी ओलीले के जवाफ दिए ?
विरोधीहरू देवत्वकरणका कुरा उठाउँछन्, हामी कसैलाई देवता मान्दैनौँ र देवत्वकरण गर्दैनौँ । तर, लिडरसिप हुन्छ, लिडरसिपको वरिपरि पार्टी, आन्दोलन एकीकृत हुन्छ । यो स्वाभाविक हो । पुष्पलालले अगाडि सारेका विचारका वरिपरि हामी आजसम्म गोलबन्द भएका छैनौँ ? कार्ल माक्र्सले अगाडि सारेको दर्शन, सिद्धान्तको वरिपरि गोलबन्द भएका छैनौँ ? लेनिनका अगाडि सिंगै रुस, माओका अगाडि सिंगै चीन गोलबन्द भएर क्रान्ति सम्पन्न गरेन ? मदन भण्डारी हुँदा देख्न सकिएन, पुष्पलाललाई बाँचुञ्जेल एउटा महाधिवेशन पनि गर्न दिइएन । तपाईं नेता हो भन्न छोडिएन, तर हुर्मत लिने काम छोडिएन । पुष्पलालको विचार पास हुने, पन्छाएर अर्कोले मनपरी गर्ने स्थिति बन्यो । अहिले हाम्रो टिम छ । हामी थुप्रै नेता छौँ, तर एकताबद्ध छौँ । सबै नेता भएर बुरुक्क–बुरुक्क उफ्रियौँ भने जुन दिन रानो हुँदैन, मौरी पनि समाप्त हुन्छ । त्यसकारण हाम्रो एकता तोड्न अनेक भ्रम चलाइएको हुन्छ, त्यसमा सतर्क हुनुपर्छ ।
मान्छेहरू अहिले दुई कुराले चिन्तित छन् । एउटा म बाँचिराखेका कारण चिन्तित छन् । यो बिरामी हुन्छ, अप्रेसन गरेर किड्नी फेर्छ, मेनन्जाइटिस हुन्छ, फेरि बाँच्छ, बिरामी भयो, अब त होला भन्यो, फेरि बाँच्छ । अर्को– कार्यकर्ताले, जनताले असाध्यै धेरै माया गर्छन्, त्यसले एमालेलाई फाइदा पुग्छ, जनता गोलबन्द हुन्छ । त्यसकारण बाँचेकैमा उनीहरू चिन्तित छन् त म के गरूँ ? मलाई एउटा आफ्नो अगुवा, प्रिय साथीका रूपमा तपाईंहरूले जुन विश्वास दिनुभएको छ, त्यो विश्वास एक थोपो पनि तलमाथि पर्नेछैन । देश र जनताको हितका विरुद्ध प्रगतिको विरुद्ध, पार्टीका विरुद्ध एउटा पनि कदम मबाट चालिनेछैन । एमालेलाई बहुमतमा पुर्याएर यस्तो, उस्तो मधुकैटवले हल्लाउन नसक्ने खालको सुदृढ स्थितिमा पुर्याएर छाड्नेछु ।
यतिवेला हामीमाथि चौतर्फी हमला भइरहेको छ, वैचारिक हमला त्यत्तिकै भएको छ, अरू प्रकारका पनि हमला भएका छन् । संगठनमाथि हमला भएको छ । एमालेको ब्यानर, झन्डा देखिए रे । अलिक तामझाम देखिए रे, नेतृत्वको विरोधमा होइन, कार्यकर्ता समर्थनमा बोलेको देखियो रे, अनि विरोधीहरू छाती पिट्छन् । यो हाम्राविरुद्धको हमलाको विभिन्न रूप हो । हामी व्यक्तिपूजक, मूर्तिपूजक होइनौँ, हामी धर्मन्धतामा विश्वास गर्दैनौँ, सँगसँगै हामी केमा विश्वास गर्छौँ भने, कमिटी प्रणाली, सामूहिक नेतृत्वमा विश्वास गर्छौँ, छलफलबाट निष्कर्ष निकाल्ने कुरामा विश्वास गर्छौँ । प्राप्त गरेका अध्ययनलाई व्यवहारको कसीमा परीक्षण गर्छौँ, आएका निष्कर्षमा आधारित भएर सकेसम्म निर्भुल निष्कर्ष निकाल्छौँ ।
हाम्रो पार्टीका बिग्रिएका मान्छे को हुन्, जो छोडेर गए ती हुन् । जो यहाँ छन्, ती सप्रिएका हुन् भन्ने प्रमाण यहाँभन्दा केही चाहिन्छ ? छर्लंंगै छ नि ! हाम्रा विरोधी को हुन् ? जो हामीसँग लडिरहेका छन्, हाम्रो सरकार ढाल्न ज–जसले भूमिका खेले, जसले हामीलाई प्रतिपक्षमा पुर्याए, कम्युनिस्ट सरकार ढालेर कांग्रेस नेतृत्वमा सरकार बनाउनु अग्रगमन र क्रान्तिकारिता भनेर गए, यो पार्टी काम लाग्दैन भनेर निर्वाचन आयोग गएर पार्टी दर्ता गरे । त्यो कुनै नयाँ पार्टी होइन । गाईको पुच्छर समातेर वैतरणी तर्छन् रे भन्ने सुनेको थिएँ, तर अर्को पुच्छर समातेर तर्ने सुनेको थिइनँ । अहिले अर्कै पुच्छर समातेर वैतरणी तर्ने खेल देखिरहेका छौँ ।
हामी जितेर आएका छौँ, फेरि जित्नेछौँ, अब हाम्रो पार्टीको नीति यो हो । हाम्रो पार्टीको दृष्टिकोण, हैसियत र कर्तव्य यही हो । हामीले जित्नुपर्छ, आज हामी सक्रिय बहसमा किन लागिरहेका छौँ भने यी अभिभारा पूरा गर्नुपर्नेछ । अरूलाई अपसज दिएर हामी उम्किन सक्दैनौँ । अहिलेको सरकार बेहाल छ । नेपालको आकाशमा विदेशी हेलिकोप्टर घुमेको हो भन्न पनि सक्दैन । हो भने हो, होइन भने होइन भने हुन्छ नि ! हो कि, होइन अहिलेसम्म चुप छ । तुइन काटेर झराएर एउटा नेपाली मराइन्छ, नबोल है भनेर पत्रकारलाई सर्कुलर गराइन्छ । दक्षिणतिर फर्केर पनि बोल्न सक्दैन । अरूलाई अरूकै धन्दा, यो सरकारलाई खानकै धन्दा । यो सरकारको ध्यान अन्त छैन ।
बदलियो पार्टीको लोगो
एमालेले पार्टीको नयाँ लोगो पारित गरेको छ । नयाँ लोगोमा सूर्य चिह्नको बीचमा हँसिया–हथौडा रहने पार्टीको नयाँ लोगो रहनेछ । यसअघि सूर्य चिह्नको बीचमा सिपिएन युएमएल लेखेर हँसिया–हथौडा राखिएको थियो । एमालेले एप पनि लन्च गरेको छ । एपले सबै कार्यकर्तालाई एउटै सञ्जालमा जोड्न मद्दत गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।
जबज नै सिद्धान्त र समाजवादउन्मुख कार्यदिशा, भुसालले पाएनन् अनुमति
जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त र यसकै कार्यक्रमलाई अँगाल्दै आएको एमालेले विधान महाधिवेशनबाट नवौँ महाधिवेशनबाट पारित दस्ताबेजमा कुनै नयाँ नीतिगत परिवर्तन गरेन । नेपाली समाज पुँजीवादको प्रारम्भिक अवस्थामा रहेको पुरानो विश्लेषण दोहोर्याउँदै राष्ट्रिय पुँजीको विकासमार्फत समाजवादको आधार निर्माण गर्ने कार्यदिशालाई निरन्तरता दिएको छ ।
उपमहासचिव घनश्याम भुसालले जबज सिद्धान्त र कार्यक्रमका रूपमा ठिक रहे पनि त्यसलाई सिद्धान्त बनाउने प्रक्रिया बाँकी नै रहेको भन्दै फरक मत राख्दै आएका थिए । तर, उनको फरक मतलाई केन्द्रीय कमिटीले महाधिवेशनमा प्रस्तुत गर्न अनुमति दिएन । भुसालले पार्टीमाथि लागेको संविधान उल्लंघन र संसद् विघटनको जवाफ दिनुपर्ने माग गरेका थिए ।
अब एमालेको संगठन
१५९ बाट २२५ सदस्यीय केन्द्रीय कमिटी
नवौँ महाधिवेशनबाट ११५ पूर्ण र ४४ वैकल्पिकसहित १५९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको एमालेले दशौँ महाधिवेशनबाट भने २२५ सदस्यीय केन्द्रीय कमिटी सदस्य निर्वाचित गर्ने विधान पारित गरेको छ । अघिल्लोपटकभन्दा अबको महाधिवेशनबाट ६६ जना बढी केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । वैकल्पिक केन्द्रीय सदस्यको व्यवस्था यसपटक खारेज भएको छ ।
वरिष्ठ उपाध्यक्षको नयाँ व्यवस्था
नवौँ महाधिवेशनबाट एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहित १४ जना पदाधिकारी निर्वाचित गरेको एमालेले दशौँ महाधिवेशनबाट १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने विधान पास गरेको छ । जसअनुसार उपाध्यक्षमध्ये एकजना वरिष्ठ उपाध्यक्ष निर्वाचित हुनेछन् भने सचिवको संख्या सात पु¥याइएको छ । यसअघिको दुई उपमहासचिवको संख्या घटाएर एकजनाको व्यवस्था गरिएको छ ।
४५ सदस्यीय स्थायी समिति, पोलिटब्युरो खारेज
नवौँ महाधिवेशनपछि २१ जनासम्मको स्थायी समिति बनाएको एमालेले दशौँ महाधिवेशनबाट ४५ सदस्यीय समिति बनाउने भएको छ । हलका प्रतिनिधिले पोलिटब्युरो राख्न सुझाब दिए पनि त्यसलाई हटाउने र पदाधिकारीहरू रहेको केन्द्रीय सचिवालय बनाइने प्रस्ताव पारित भएको छ ।
पदाधिकारीको संख्या बढाउने विकल्प खुला
विधान मस्यौदामाथि प्रतिनिधिका सुझाब र टिप्पणीको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले दशौँ महाधिवेशनले संशोधन आवश्यक ठानेकोबाहेक १५ जना पदाधिकारी निर्वाचित गर्न प्रस्ताव गरेका थिए । पौडेलकै भनाइलाई आधार मान्ने हो भने पनि पदाधिकारी संख्या बढाएर भए पनि नेताहरूको व्यवस्थापन गर्ने विकल्प भने खुलै राखिएको छ ।
प्रदेश कमिटी कार्यकारी
प्रदेश कमिटी र पालिका कमिटीहरू बनाउने नयाँ व्यवस्था गरिएकोमा प्रदेश कमिटी अधिवेशनबाटै निर्वाचित हुने गरी कार्यकारी बनाउने विधान पास भएको छ । प्रदेश कमिटी ५० जनामा एक निर्वाचन क्षेत्रबाट पाँचजनाको बराबरले थपेर बनाउने, जिल्ला कमिटी ५० जनामा एक निर्वाचन क्षेत्रबराबर १५ जना थपेर बनाउने, पालिका कमिटीहरू ५० मा प्रतिवडा पाँचजना थपेर बनाउने विधान पारित भएको छ ।