मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असोज १८ सोमबार ०६:३२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर बजारमा देखिएन सुधारको बाटो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असोज १८ सोमबार ०६:३२:००

सेयर बजारमा अझै सुधार आउन सकेको छैन । तीन हप्ताअघिदेखि लगातार घटेको बजारमा टेको लाग्न नसक्दा लगानीकर्ताले उल्लेख्य घाटा व्यहोर्नुपरेको छ । कतिपय लगानीकर्ता सेयर बजारको बुल रन नसकिएको र बजार फर्किने विश्वास राख्छन् । एकथरी लगानीकर्ता बजार बुल रन सकिएको र बियरिसमै केही समय रहने बताउँछन् ।

नजिकै आएको दसैँ–तिहार चाडपर्वले बजारलाई केही प्रभावित पारेको देखिन्छ । यो समय रकमको जोहो गर्ने समय हो भने ब्याजदर बुझाउने मसान्तको समय पनि हुँदा बजारको यात्रामा थप ब्रेक लागेको देखिन्छ । ठूला लगानीकर्ता अहिले लाभांश वितरणको मौका छोपेर बजार घटाउनेतिर लाग्ने र त्यही मौकामा सस्तो सेयर खरिद गर्न अग्रसर हुन थालेको एक लगानीकर्ता बताउँछन् । उनी भन्छन्, ‘एकथरी लगानीकर्ताको झुन्ड बजार घटाएर सेयर किन्ने मौका कुरिरहेको छ, त्यसैले आत्तिएर सेयर बेचिहाल्ने वेला आएको छैन ।’

राष्ट्र बैंकको नीति नसच्चिएसम्म बजार माथि उठ्न नसक्ने लगानीकर्ताको दाबी छ । मौद्रिक नीतिमा चार करोड र १२ करोड रुपैयाँको क्यापले ठूला लगानीकर्ता मारमा परेकाले बजार उकालो लाग्न नसकेको केहीको बुझाइ छ । आइतबार नेप्से सूचक ५५ दशमलव ९३ अंकले घटेर दुई हजार पाँच सय ७७ दशमलव ४९ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स पनि २ प्रतिशतले घटेको छ । 

निरन्तर घटेको बजारमा कारोबार रकममा पनि गिरावट आइरहेको छ । आइतबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३२ कम्पनीको ८९ लाख ४८ हजार कित्ता–इकाइ सेयर खरिद–बिक्री हुँदा चार अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ । अपि पावर कम्पनीको १५ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेसनल हाइड्रोपावरको १४ करोड ३८ लाख रुपैयाँ, रिद्धि हाइड्रोपावर कम्पनी, शिखर इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, नेपाल बैंक, नबिल बैंक, एनआइसी एसिया बैंकको १३ करोडदेखि सात करोड रुपैयाँसम्म कारोबार भएको छ ।
कारोबारमा आएका १३ वटै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै घट्नेमा जलविद्युत्, फाइनान्स, होटेल समूह रहेका छन् । त्यसैगरी, वाणिज्य बैंक, विकास बैंकको सूचकमा पनि उल्लेख्य गिरावट आएको छ ।