मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १५ शुक्रबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ असोज १५ शुक्रबार o६:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जबज सिद्धान्त पुष्टि भइसक्यो, समाजवादका लागि पनि सान्दर्भिक : बादल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असोज १५ शुक्रबार o६:५o:oo

एमाले स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जनताको बहुदलीय जनवाद नेपाली जनवादी क्रान्ति सफल बनाउने पथप्रदर्शक बनेर सिद्धान्तकै रूपमा पुष्टि भइसकेकाले अब पनि पार्टी त्यही बाटोबाट अगाडि बढ्ने बताएका छन् ।

पाँचौँ महाधिवेशनमा तत्कालीन महासचिव मदन भण्डारीले अगाडि सारेको जबज नै मार्क्सवाद–लेनिनवादकै हाराहारीमा सिद्धान्तका रूपमा पुष्टि भइसकेकाले यसबाटै नेपाललाई समाजवादमा संक्रमण गराउन सकिने दाबीसमेत गरे । 

‘जबज नेपालको जनवादी क्रान्तिलाई पथप्रदर्शन गर्ने प्रणाली हो, क्रान्ति सफल हुनुले पनि मदन भण्डारीले विचार र कार्यक्रमका रूपमा अगाडि सारेको परिकल्पना सही साबित भइसकेकाले यो सिद्धान्तका रूपमा परिणत भइसक्यो,’ विधान महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका बादलले भने, ‘नेपालको सन्दर्भमा जबज सही साबित भएकाले नै हामीले यसलाई विकसित सिद्धान्तका रूपमा प्रस्ताव गरेका छौँ ।’ 

उनले जबजको कार्यक्रम अहिले पनि सान्दर्भिक रहेकाले समाजवादमा संक्रमणका लागि यसका कार्यक्रम कार्यान्वयन गर्न प्रस्ताव गरिएको पनि बताए । ‘जबजको कार्यक्रम अहिले पनि सान्दर्भिक छ, त्यसैले हामीले तात्कालिक कार्यक्रम कार्यान्वयनका लागि अगाडि सारेका छौँ, यसमा समाजवादमा संक्रमण गर्ने कार्यक्रम पनि छ, हामी त्यसलाई लागू गर्दै अगाडि बढ्छौँ,’ बादलले भने ।

पार्टीभित्र जबलाई हेर्ने दृष्टिमा केही केन्द्रीय सदस्यको भिन्न मत रहे पनि यसलाई नै सिद्धान्त मानेर जाने जबजकै कार्यक्रमअनुसारको कार्यदिशा बनाउने विषयमा कुनै फरक मत नरहेको उनले प्रस्ट्याए । संसद् विघटनलाई केही केन्द्रीय सदस्यले लोकतन्त्रविरोधी कदमका रूपमा विश्लेषण गर्नुपर्ने मत राखे पनि पार्टीले त्यसलाई आधिकारिक रूपमा सही कदमका रूपमा व्याख्या गरेको जानकारी दिँदै बादलले संगठनात्मक रूपमा विधान महाधिवेशनले पार्टीलाई अझ लोकतान्त्रिक बनाउने विश्वास पनि व्यक्त गरे ।