मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज १२ मंगलबार ०६:२५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लुम्बिनी घुम्नेलाई होटेल व्यवसायीको प्याकेज

Read Time : > 1 मिनेट
२०७८ असोज १२ मंगलबार ०६:२५:००

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक भित्र्याउनका लागि होटेल व्यवसायीहरूले प्याकेज कार्यक्रम सार्वजनिक गरेका छन् । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसर पारेर लुम्बिनीको पर्यटन पुनरुत्थानका लागि पर्यटन व्यवसायीहरूले सस्तो प्याकेज सार्वजनिक गरेका हुन् । 

लुम्बिनी होटेल संघका महासचिव लीलामणि शर्माले एक रात दुई दिनको भ्रमण प्याकेज घोषणा गरेको बताए । संघले असोजको १५ गतेदेखि लागू हुने गरी दुई हजार एक सय ९९ रुपैयाँमा लुम्बिनीको गाइडेड प्याकेज टुर कार्यक्रम घोषणा गरेको उनको भनाइ छ । संघले प्याकेज कार्यक्रमलाई अपत्यारिलो मूल्यमा पत्यारिलो लुम्बिनी भ्रमणको प्याकेज ल्याएको संघले जनाएको छ । 

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा करिब १८ महिनाअघिदेखि विदेशी पर्यटकको आगमन लुम्बिनीमा शून्य छ । धार्मिक पर्यटकका रूपमा भारतबाट आउने पर्यटकसमेत नाका बन्दका कारण आउन नसकिरहेको अवस्थामा व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी सस्तो प्याकेज घोषणा गरेको लुम्बिनी होटेल संघका महासचिव लीलामणि शर्माको भनाइ छ । प्याकेजको पहिलो दिन पर्यटकलाई बसपार्कबाट पिकअप गरी होटेलमा स्वागत गरिनेछ । सोही दिन लुम्बिनीबारे जानकारी दिई केहीबेरको विश्रामपछि साँझ लुम्बिनी तथा बुद्वग्राम रोबोटिक थिएटर भ्रमण गराई रात्रिभोजन गराई विश्राम दिइने प्याकेजमा समावेश छ ।

दोस्रो दिन बिहानको खाजादेखि मायादेवी मन्दिर र गुम्बा भ्रमण, अन्तर्राष्ट्रिय बिहार क्षेत्र भ्रमण, दिउँसोको खाना, विश्राम र बिदाइ रहेको जनाइएको छ । संघका अध्यक्ष मिथुन श्रेष्ठका अनुसार उक्त प्याकेजमा दुई बेड भएको कोठा, साँझको खाना, बिहान ब्रेकफास्ट, धुपबत्ती, गाइड, बुद्वग्राम रोबोटिक थिएटर टिकट, लन्च, मायादेवी मन्दिर प्रवेश टिकट र अन्तर्राष्ट्रिय बिहार क्षेत्र भ्रमणका लागि यातायात व्यवस्था रहेको छ । 

संघले लुम्बिनीका विभिन्न पर्यटन व्यवसायी संघ–संस्था र सरोकारवाला निकायसँगको सहकार्यमा उक्त सस्तो प्याकेज निर्धारण गरिएको लुम्बिनीका पर्यटन व्यवसायी गोविन्द ज्ञवालीले बताए । उनले भने, ‘यसले लुम्बिनीमा पाहुना आकर्षित गर्ने विश्वास छ ।’