१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १० आइतबार
  • Saturday, 21 September, 2024
२o७८ असोज १० आइतबार १८:५९:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सोमबारदेखि अग्रिम टिकट बुकिङ खोलिँदै, सडक बिग्रिएकोले दसैँको यात्रा चुनौतीपूर्ण

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १० आइतबार १८:५९:oo

चाडबाडमा घर फर्कनेहरूलाई लक्षित गरी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्दै छ। सो अवसरमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायी केन्द्रीय महासंघले उपत्यकाभित्र आठ स्थानबाट टिकट काट्न सकिने व्यवस्था मिलाएको छ।  कोटेश्वर, गौशाला, नयाँ बसपार्क, सुन्धारा, बल्खु, भक्तपुर बसपार्क, जगाती, कलंकीलगायत ठाउँबाट टिकट काट्न सकिनेछ।  डिलक्स तथा कतिपय लामो दूरीका बसले अनलाइनबाट पनि टिकट काट्न सकिने व्यवस्था मिलाएका छन्।  

यातायात व्यवस्था विभागका अनुसार यो वर्ष उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या अन्य वर्षहरूमा भन्दा कम रहेको छ।  कोरोना महामारीका कारण अग्रिम रूपमा केही यात्रुहरू घर फर्किने क्रम बढेकोले दसैँको वेला खासै चाप नहुने बताइएको छ।  असोज १५ गतेदेखि २९ गतेसम्म करिब आठ लाख यात्रुले उपत्यका छाड्ने यातायात व्यवस्था विभागको आकलन छ।  विभागका सूचना अधिकारी लोकनाथ भुसालले यो वर्ष कोरोना महामारीलाई मध्यनजर राख्दै बस व्यवसायीहरूलाई कोरोना मापदण्ड पालना गराउन आग्रह गरिएको बताए।  बसभित्र अनावश्यक भिडभाड नगर्न, कोचाकोच यात्रु नबसाल्न, तोकिएभन्दा बढी भाडा नलिन, स्वास्थ्य मापदण्ड परिपालना गर्नलगायत निर्देशन जारी गरिएको उनको भनाइ छ।  ‘यातायात व्यवसायीहरूसँगको लामो छलफलपछि अग्रिम टिकट बुकिङ खुल्दै छ, यो वर्ष ठाउँ–ठाउँमा बाटो अप्ठ्यारो छ, हामीले सडक विभागलाई सडक मर्मत गर्न अनुरोध गरेका छौँ,’ उनले भने, ‘कसैलाई समस्या पर्‍यो वा ठगिएको महसुस भएमा यात्रु सहायत कक्ष राखिएका छन्, त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ।’ 

यात्रुहरूको सहायताको लागि उपत्यकाभित्र १४ स्थानमा यात्रु सहायता कक्ष राखिएको छ।  उक्त सहायता कक्ष नेपाल प्रहरीले सञ्चालन गरेको हो।  विभागले यात्रुहरूको निम्ति आवश्यक सूचना र भाडादर ठाउँठाउँमा टाँसेको छ।  त्यस्तै बसपार्क, टिकट काउन्टर क्षेत्रमा विभागका कर्मचारी र ट्राफिक प्रहरीले अनुगमन गर्नेछन्। 

विगतका वर्षहरूमा यात्रुहरूबाट व्यवसायीहरूले फरक–फरक भाडादर लिने गरेकोले यो वर्ष दूरी र सवारीसाधनका आधारमा भाडादर तोकिएको छ।  विभागले सवारीसाधनको सुविधाको आधारमा भाडादर निर्धारण गरेको छ।  जसअनुसार एसी, वाइफाई, कम्फर्ट सिट र अन्य सुविधाका आधारमा भाडादर तय गरिएको छ।  त्यस्तै, सामान्य बस र डिलक्स बसको पनि फरक–फरक भाडादर तोकिएको छ।  

यातायात व्यवसायी महासंघ केन्द्रीय महासंघले टिकट बुकिङलाई व्यवस्थित गर्न व्यवसायीहरूलाई निर्देशन दिएको छ।  आइतबार महासंघका महासचिव सरोज सिटौलालगायतको टोली बसपार्क क्षेत्रमा पुगेर टिकट बुकिङ र यात्रु सहायता कक्षको पनि अनुगमन गरेको छ।  सहज तबरले यात्रा गर्न पाउने प्रबन्ध मिलाइएको महासचिव सिटौलाले बताए।  उनले यातायात व्यवसायीलाई यात्रुहरूसँग मयार्दित र शिष्ट व्यवहार गर्न पनि अनुरोध गरिएको बताए।  उनका अनुसार सडक बिग्रिएका कारण यात्रुहरूले दुःख पाउन सक्ने भएकोले यातायात व्यवस्था विभाग र सडक विभागलाई महासंघले सडक मर्मत गर्न आग्रह गरेको छ।  सडक सहज भए दसैँ तथा अन्य चाडबाडलक्षित यात्रा सहज हुने महासचिव सिटौलाको भनाइ छ। 

भोलि बिहान ६ बजेदेखि बुकिङ खुला हुनेछ।  बिहानदेखि बेलुकी ५ बजेसम्म तोकिएको ठाउँहरूमा पुगेर टिकट बुकिङ गर्न सकिनेछ।  परिचयपत्र र निलो ड्रेस लगाएका यातायातका कर्मचारीसँग मात्रै टिकट बुकिङ गर्न महासचिव सिटौलाले आग्रह गरे।  उनले भने, ‘टिकट काट्दा यात्रुहरू ठगिन्छन्, विगतमा केही ठगिएको विवरण पनि आएकोले ड्रेस लगाएका र परिचयपत्र लगाएका कर्मचारीसँग मात्रै टिकट काट्न अनुरोध गर्दछु,’ उनले भने, ‘टिकट काट्दा आफू जाने गन्तव्य स्थान, मिति र मूल्य राम्ररी हेर्न पनि आग्रह गर्छु। ’ उनले नयाँ बसपार्क, बौद्ध, कोटेश्वर, कलंकी, सामाखुसी, गौशाला, भक्तपुर बसपार्क, बल्खुलगायत यात्रुहरूको भिडभाड हुने क्षेत्रमा यात्रु सहायताकक्ष राखिएको जानकारी दिए।  लामो दूरीका यातायात साधनहरूले खाना खुवाउन भिडभाड हुने होटलमा नलैजान, तोकिएकोभन्दा बढी भाडा नलिन र बीचबाटोबाट चढ्ने यात्रुहरूसँग समेत टिकट आधारमा भाडा उठाउन व्यवसायीहरूलाई निर्देशन दिइएको उनको भनाइ छ।  

एक करोड सात लाखको बस किनेका व्यवसायीलाई सडकको चिन्ता
दसैँमा यात्रुहरूको सहज यात्राका लागि नयाँ नयाँ डिलक्स गाडी सञ्चालन हुँदै छन्।  यसपटक निजी कम्पनीहरूले १५ वटाभन्दा बढी महँगा नयाँ डिलक्स बस थप्ने तयारी गरेका छन्।  केही बस सञ्चालनमा पनि ल्याइसकेका छन्।  तर, सुविधासम्पन्न बस सञ्चालन गर्न लागेका व्यवसायीहरू  सडकको हविगत देख्दा दिक्क छन्।  खाल्डाखुल्डी, हिलाम्य र साँघुरो सडकका कारण दसैँको यात्रा चुनौतीपूर्ण हुने उनीहरूको भनाइ छ।  ‘यसपटक यात्रा त्यति सहज छैन, सडक निकै असहज छ, सबैतिर खाल्डाखुल्डी मात्रै  छन्,’ सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १०७० नम्बर डिलक्स बसका चालक ज्ञानु विष्टले भने, ‘सवारीसाधन राम्रो भए तापनि सडकले निकै दुःख दिन्छ भन्ने लागेको छ।’ अहिले चितवन नारायणगढदेखि बुटवलसम्मको सडक निकै बिग्रिएको छ ।  त्यस्तै, अन्य राजमार्गहरू पनि बिग्रिएका छन्।  सरकारले दसैँको बेलामा सडक मर्मत नगर्दा यात्रहरूले सास्ती खेप्नुपरेको छ।  महासंघका महासचिव सिटौलाले सडक अप्ठ्यारो भएकोले सवारीसाधन बिग्रने र यात्रा कठिन हुने भन्दै व्यवसायीहरूले चिन्ता मानेको बताए।  उनले भने, ‘एक करोड खर्च गरेर नयाँ नयाँ डिलक्स बस किनिएको छ, तर ती बस गुड्ने बाटोको हालत हेर्दा नमज्जा लाग्छ, सरकारले यसतर्फ पनि चासो दिनुपर्‍यो।’