मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ५ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ५ मंगलबार o६:२९:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक वर्षपछि नेप्सेमा एकै दिन उच्च गिरावट

लगानीकर्ताले आत्मविश्वास गुमाउँदा २७ सयमुनि आइपुग्यो बजार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ५ मंगलबार o६:२९:oo

बैंकिङ क्षेत्रमा तरलता अभाव देखिएसँगै ओरालो लाग्ने क्रममा रहेको सेयर बजार तीन दिनपछि खुल्दा पनि ओरालो यात्रामै देखिएको छ । नेप्से परिसूचक सोमबार एक सय १४ अंकले घटेपछि दुई हजार आठ सय बिन्दुबाट ओर्लिएर दुई हजार ६ सय ९८ मा आइपुगेको छ । नेप्सेमा यो १८ मंसिर ०७७ यताकै उच्च अंकको गिरावट हो । 

राष्ट्र बैंकले एकल ग्राहक सीमा अधिकतम चार करोड र समग्र प्रणालीबाट १२ करोड मात्र लिन सक्ने व्यवस्था गरेपछि तीन हजार दुई सयको सर्वाधिक उचाइ छोएर बजार घट्न थालेको थियो । त्यसबीच बैंकहरूमा तरलता अभाव देखिनु, सरकारले खर्च गर्न नसक्दा यस्तो अभाव थप चुलिनु र निक्षेपको ब्याजदरमा केही वृद्धि हुनुले पनि बजार घटिरहेको थियो । असोजदेखि लागू हुने गरी तीन वर्षपछि बैंकहरूले मुद्दती निक्षेपमा दोहोरो अंकसम्म ब्याजदर पुर्‍याएका छन् । 

यही कारण अहिले बढेको प्यानिक सेलले लगानीकर्तामा थप दबाब पुगेको छ । आइतबार लामो समयदेखि अड्किएको बजेट प्रतिस्थापन विधेयक पारित भए पनि दसैँ नजिकिँदै गर्दा खर्चको जोहो गर्नुपर्ने बाध्यता र त्रैमासिक अन्त्यमा कर्जाको किस्ता तिर्नुपर्ने बाध्यताले बजार सकारात्मक हुन नसकेको हो । पारित बजेट राष्ट्रपतिबाट स्वीकृत हुन भने कम्तीमा थप दुई दिन लाग्ने देखिएको छ ।  

यद्यपि, सूचीकृत संस्थाहरूले लाभांश घोषणा गर्ने क्रम सुरु हुने समय आएकाले कर्जा दबाबमा नरहेको, केही समय होल्ड गर्ने क्षमता भएकाहरूले लाभांशसम्म होल्ड गर्नु उपयुक्त हुनेछ । लाभांशले थाम्ने मूल्यमै रहेकाहरूले पनि यही रणनीति अख्तियार गर्न सही हुने विश्लेषकहरू बताउँछन् । 

यस दिन बजारमा भने दुई सय २५ किसिमका सेयर तथा ऋणपत्रलगायतको कारोबार भएकोमा आठवटाको मात्रै मूल्य बढेको छ । मनकामना स्मार्ट, डिप्रोक्स, लक्ष्मी लघुवित्त र नयाँ सारथि लघुवित्त कम्पनीको सेयर मूल्य बढेको हो । नबिल, सानिमा तथा सन्राइज बैंकको ऋणपत्र र नबिल ब्यालेन्स्ड फन्ड २ को मूल्य पनि वृद्धि भएको हो । 

गुडविल, प्रोगे्रसिभ, आइसिएफसी, पोखरा फाइनान्सको मूल्य घटेर सर्किट ब्रेक लागेको छ । ३२ कम्पनीको मूल्य ९ देखि १० प्रतिशतसम्म घटेको छ । कारोबार रकममा सुधार हुने संकेत देखिन थालेको भए पनि सोमबार भने यस्तो रकम केही घटेको छ । यस दिन बजारमा आठ अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको हो । अरुण भ्याली, हिमालयन डिस्टिलरीको सर्वाधिक रकमको कारोबार भएको हो । यिनको क्रमशः ४० करोड र २२ करोड रुपैयाँको सेयर किनबेच 
भएको छ ।  

 प्राविधिक विश्लेषण
नेप्से दुई हजार सात सयको मनोवैज्ञानिक तहमा आएकाले यो तहमा टेवा परीक्षणमा भने देखिने सम्भावना छ । हाल भने नेप्सेमा बियरिस प्रवृत्ति कायमै छ ।   नेप्सेको २१ दिने मुभिङ ऐभरेजभन्दा तल नै सातदिने रेखा रहेको छ । त्यस्तै, नेप्सेको आरएसआई सूचकले बजारमा बिक्री चाप बढेको र बजार अवमूल्यनको अवस्थामा आएको संकेत गरेको छ । यो सूचक २८ दशमलव ७४ स्केलमा छ । मैनबत्ती चित्र विश्लेषणले नेप्सेले थ्री ब्ल्याक क्रोज आकृति बनाएको छ । यसले पनि बजार बियरिस प्रवृत्तिमा नै रहेको र यो केही दिन चल्न सक्ने संकेत गर्छ । 
कम्पनीले कति प्रतिफल दिन्छ भनेर लगानी गर्नेले कहिल्यै डराउनुपर्दैन 
निरञ्जन टिबडेवाला,लगानीकर्ता

सेयर बजारमा कतिपय कुरा हाम्रो वशमा हुँदैन । निक्षेप वा कर्जाको ब्याज बढ्ने, सरकारको खर्च क्षमता यस्ता विषय हुन् । तर, लगानीकर्ताले आफ्नो जोखिम क्षमता मूल्यांकन गर्नैपर्छ । केहीमा जोखिम बढेको पनि थियो । 

यद्यपि, सूचीकृत कम्पनीले केही न केही प्रतिफल दिन्छ । कम्पनीले कति प्रतिफल दिन्छ भनेर जान्न सामान्य हिसाबले सकिन्छ । यसमा कुनै विज्ञता चाहिन्छ । त्यसलाई हेरेर लगानी गर्नेले डराउनुपर्ने अवस्था आउँदैन । जोखिम लिएर लगानी गरेको हो भने धैर्यता पनि गर्न सक्नुपर्छ । अहिले घटेको बजार केही समयपछि फेरि बढ्न सक्ने देखिन्छ । विशेष गरेर सरकारले खर्च गर्न सक्ने अवस्था आएको छ ।

यसले निक्षेपमा बढेको ब्याजदरमा सुधार गर्न सक्छ । बजार कति बढ्छ भन्ने कुरा अलग हो । केही न केही बढ्न सक्छ । योभन्दा महत्वपूर्ण कुरा भने कम्पनीको मूल्यांकन नै हो । मूल्यांकन गरेर उचित मूल्य हालेका लगानीकर्ताले कहिल्यै पनि डराउनुपर्दैैन । 

राष्ट्र बैंकको नीति सुधार नहुँदासम्म बजार बढ्न गाह्रो छ
निर्मल प्रधान लगानीकर्ता

बजार ३२ सयको उचाइमा पुगेर करेक्सन हुनु थियो, भएको त हो । तर, यसमा यत्तिको दरमा करेक्सनको आवश्यकता थिएन । मूलतः राष्ट्र बैंकले सर्वसाधारणको मनोविज्ञानमा असर पर्ने गरेर सेयर धितो कर्जाको सीमा लगाएपछि बजारमा तनाव भएको हो । सेयर कर्जा लिएर कारोबार गर्नेहरूलाई यो नीतिले वञ्चित गरेको छ । कर्जा लिँदै नलिने लगानीकर्ताले मात्रै बजार धान्न सक्दैनन् । बजारमा जोखिम लिने समूह नै यही समूह हो । त्यसैले असोजपछि पनि यो नीतिमा सुधार भएन भने बजार थप घट्ने सम्भावना छ ।  

बजार प्राकृतिक कारणले घट्नु स्वाभाविक भए पनि अहिले त्यस्तो भएको भने होइन । सरकारले चाहन्छ भने मुलुकले सेयर बजारमा लगानी गर्न कर्जा नै बन्द गरे हुन्छ । तर, आजसम्म पनि सेयरमा कसैले ऋण नतिरेका कारण लिलामी गर्नुपरेको अवस्था आएको छैन, जसरी घरजग्गामा छ । हुन त अर्थमन्त्रीज्यूले केही दिनअघि भन्नुभएजस्तै बजारमा केहीको मूल्यमा बेलुनमा हावा भरिएजस्तै नै भरिएको थियो । तैपनि, यो कारणले मात्रै बजारमा यो दरमा करेक्सन भने आएको होइन ।