१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल तस्बिर
जीवन बस्नेत काठमाडौं
२०७८ असोज ३ आइतबार ०७:२७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सडक र पुलसम्बन्धी वार्षिक लक्ष्य पूरा भएन

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७८ असोज ३ आइतबार ०७:२७:००

- ७०७ किलोमिटर सडक कालोपत्रे गर्ने भनिए पनि ४८३ किलोमिटर मात्रै कालोपत्रे भयो 

- तीन सय पुल निर्माण पूरा गर्नेभनिएकोमा एक सय ९२ पुल मात्र निर्माण सम्पन्न

सरकार गत आर्थिक वर्ष ०७७/७८ मा सडक र पुलसम्बन्धी तय गरेको वार्षिक लक्ष्य पूरा गर्न असफल भएको छ । कुल एक हजार चार सय किलोमिटर नयाँ सडक कालोपत्रे गर्ने लक्ष्य राखिएकोमा एक हजार एक सय ९० किलोमिटर मात्र कालोपत्रे भएको सडक विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको प्रगति विवरणले जनाएको छ । यो संघीय–स्थानीय दुवै किसिमको सडकमा भएको कालोपत्रे हो ।

प्रगति विवरणअनुसार सात सय सात किलोमिटर स्थानीय सडक र चार सय ८३ किलोमिटर राष्ट्रिय राजमार्ग कालोपत्रे भएको छ । यो वार्षिक लक्ष्यको तुलनामा ८५ प्रतिशत प्रगति हो । त्यस्तै, गत आर्थिक वर्षभरिमा एक हजार किलोमिटर नयाँ सडक ग्राभेल गर्ने लक्ष्य राखिएकोमा सात सय ३९ किलोमिटर मात्र ग्राभेल भएको छ । यो लक्ष्यको ७३ दशमलव ९० प्रतिशत मात्र हो । 

नयाँ ट्र्याक निर्माण गर्ने लक्ष्य अघिल्ला वर्षहरूको तुलनामा घटाउँदै लगिएको छ । यसले जताततै सडक खन्ने प्रवृत्तिमा कमी आएको छ । तर, सरकारले आवश्यक देखिएका ठाउँमा पाँच सय किलोमिटर नयाँ ट्र्याक पनि पूरा गर्न सकेको छैन । गत आवमा चार सय ७२ किलोमिटर मात्र नयाँ ट्र्याक खनिएको छ । यो लक्ष्यभन्दा २८ किलोमिटर न्यून हो । 

राजमार्गलाई दुई लेन, चार लेन र ६ लेनमा स्तरोन्नति तथा पुनस्र्थापना गर्ने लक्ष्य पनि पूरा भएको छैन । कुल ६ सय किलोमिटर राजमार्ग स्तरोन्नति तथा पुनस्र्थापना गर्ने भनिएकोमा वर्षको अन्त्यसम्ममा पाँच सय सात किलोमिटर मात्र राजमार्ग स्तरोन्नति तथा पुनस्र्थापना सम्भव भएको तथ्यांकमा उल्लेख छ । अन्य वर्षहरूमा सहज पूरा हुने गरेको आवधिक मर्मत–सम्भार पनि यो वर्ष पर्याप्त नभएको देखिन्छ ।

वर्षभरिमा सात सय २९ किलोमिटर आवधिक मर्मत र सम्भार गर्ने लक्ष्य राखिएकोमा चार सय २४ किलोमिटर मात्र पूरा भएको छ । यो लक्ष्यको ५८ प्रतिशत मात्र हो । पुल निर्माणमा पनि अपेक्षित प्रगति देखिएन । गत वर्ष तीन सय पुल निर्माण पूरा गर्ने भनिएकोमा एक सय ९२ पुल मात्र निर्माण सम्पन्न भएका छन् । 

सडक विभागले वार्षिक लक्ष्य पूरा नहुनुको मुख्य कारण कोभिड प्रभावलाई दिएको छ । विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार वार्षिक प्रगति पूरा गर्न नदिनेमा पहिलो कारक कोभिड हो । लकडाउन नभएको भए अहिलेको भन्दा १० देखि १५ प्रतिशत थप प्रगति हुने उनको जिकिर छ । त्यस्तै, दोस्रो कारक ‘अर्ली मनसुन’ हो । ‘जेठदेखि नै पानी पर्न थालेपछि त्यही समयमा बढी काम हुने पुल पूरा हुन पाएनन्,’ उनले भने । तर, चालू आवको पहिलो चौमासिकमा पुल निर्माणको प्रगति उल्लेख्य हुने उनको भनाइ छ ।