मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ भदौ ३१ बिहीबार १५:२६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बन्दै रसुवा, ९२ प्रतिशतले पाए पहिलो मात्रा

Read Time : > 1 मिनेट
२०७८ भदौ ३१ बिहीबार १५:२६:००

रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बन्दै छ। खोप लगाउन योग्य १८ वर्षमाथिका नागरिकहरूलाई खोप लगाउने कार्य अन्तिम चरणमा पुगेसँगै रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बन्न लागेको हो।

जिल्लाको जनसंख्या ४४ हजार नाै सय ८१ छ। जिल्लामा १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउन योग्य मानिसको संख्या २९ हजार एक सय ६ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। तीमध्ये हालसम्म ९२.४४ प्रतिशतले खोपको पहिलो मात्रा पाइसकेका छन्।

तीन हजार दुई सय ८० जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा, १७ हजार पाँच सय ९० जनाले भेरोसेलको पहिलो मात्रा, तीन हजार ६ सय चारजनाले एस्ट्राजेनेकाको पहिलो मात्रा लगाएका छन् भने एक मात्रा मात्र लगाए हुने जोन्सन एन्ड जोन्सन दुई हजारले लगाएका छन्।

७० प्रतिशतले पाए खोपको दोस्रो मात्रा
जिल्लामा कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा ७०.८८ प्रतिशतले पाएका छन्। दोस्रो मात्राको कोभिसिल्ड खोप एक हजार ३० जनाले पाएका छन् भने १५ हजार नाै सय ८४ जनाले भेरोसेलको दोस्रो मात्रा पाएका छन्। त्यसैगरी एक मात्रा मात्र लगाए हुने जोन्सन एन्ड जोन्सन खोप दुई हजारलाई लगाइएको भने एक हजार ६ सय १७ जनाले एस्ट्राजेनेकाको खोप लगाएका छन्।

भदौ महिनाभित्र १८ वर्ष माथिका सबैलाई कोभिड– १९ विरुद्धको खोपको पूर्ण मात्रा लगाउने स्वास्थ्य कार्यालय रसुवाको लक्ष्य भने एक महिना पर धकेलिएको छ। अब असोज महिनाभित्रमा बाँकी रहेका खोप लगाउन योग्यलाई पूर्ण खोप दिइने स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए। ‘कालिका गाउँपालिकाको राम्चे र नौकुण्ड गाउँपालिकाको खोप केन्द्रमा खोप लगाउन कम आएको पाइन्छ। कभरेज बढाउन थोरै मिहिनेत गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘कोरोनाविरुद्ध पहिलो खोप अभियान अन्तिमपटकका लागि कभरेज कम भएको स्थानमा सरोकारवाला सबैलाई परिचालन गरी सफल बनाउनुपर्ने देखिन्छ।’

तीन गाउँपालिकाका सबैले पाए दोस्रो डोज
पाँचवटा गाउँपालिका रहेको रसुवाका तीन गाउँपालिकामा १८ वर्षमाथिका खोप लगाउन योग्य सबैले खोपको पहिलो मात्रा लगाएका छन्। गोसाइँकुण्ड, आमाछोदिङमाे र उत्तरगया गाउँपालिकामा खोप लगाउन योग्य सबै नागरिकले पहिलो मात्रा पाएका प्रमुख चालिसेले जानकारी दिए।