मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ भदौ ३१ बिहीबार ०८:०६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बेंसीसहर नगरपालिका– १ उदीपुर लमजुङकै दोस्रो बालमैत्री वडा घोषणा 

Read Time : > 1 मिनेट
२०७८ भदौ ३१ बिहीबार ०८:०६:००

लमजुङको बेंसीसहर नगरपालिका– १ उदीपुरलाई बालमैत्री वडा घोषणा गरिएको छ । बालबालिकासम्बन्धी विभिन्न ३९ बुँदे सूचकहरू पूरा गरेपछि उदीपुरलाई बालमैत्री वडा घोषणा गरिएको हो । बेंसीसहर नगरपालिका– १ को स्वाभिमान, बालमैत्री वडा घोषणा हाम्रो अभियान भन्ने नाराका साथ बेंसीसहर– १ उदीपुरलाई लमजुङकै दोस्रो वडा र बेंसीसहर नगरपालिकाको पहिलो वडाको रुरूपमा बालमैत्री वडा घोषणा गरिएको हो । 

बालमैत्री स्थानीय शासनका न्यूनतम सूचकहरू बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकाससम्बन्धीका सबै सूचकहरू पूरा गरेपछि बुधबार गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारीले उक्त वडालाई बालमैत्री वडा घोषणा गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरूको स्वास्थ्य, शिक्षा, बालअधिकार सुनिश्चित गरेर देश निर्माण कार्यमा लगाउनुपर्नेमा जोड दिइन् । 

बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच सुनिश्चित गरी उनीहरूलाई बौद्धिक र क्षमतावान् बनाउन गर्भावस्थादेखि नै सुनौला हजार दिनलाई सबैले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । बालबालिकाहरूको आधारभूत आवश्यकतालाई पूरा गर्दै बालमैत्री वातावरणको माध्यमबाट दक्ष जनशक्तिको विकासलाई स्थानीय सरकारले प्राथमिकतामा राख्नुपर्ने मन्त्री अधिकारीको भनाइ थियो । 

बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बालमैत्री घोषणापश्चात् अब कार्यान्वयनका लागि सबैले आ–आफ्नो तहबाट अनुगमन निरन्तर गर्नुपर्ने बताए । बालमैत्री घोषणालाई पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि यहाँ सबै वर्ग–समुदाय चनाखो भएर लाग्नुपर्नेमा जोड दिए । 

वडाध्यक्ष बलराम श्रेष्ठले जनप्रतिनिधि, शिक्षक, स्थानीय आमा समूह, बाबा समूह, बाल क्लब र विद्यार्थीको समन्वयमा वडालाई बालमैत्री वडा घोषणा गरिएको बताए । उनले भने, ‘बालमैत्री स्थानीय शासन र स्थानीय तहमा बालअधिकार प्रवर्द्धन गर्ने उद्देश्यले बालमैत्री वडा घोषणा गरिएको हो । उनका अनुसार कार्यविधिमा व्यवस्था गरिएअनुसार बालबालिका लक्षित बजेट वडाबाट विनियोजन गरिएको छ । 

स्थानीयस्तरका सबै क्षेत्र र तहका निकायको नीति, संरचना, प्रणाली र कार्य प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता गर्न बालमैत्री वडा घोषणा गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । त्यस्तै, १६ वर्षमुनिका बालबालिकालाई धुम्रपान तथा मद्यपान किन्न नलगाउने र बिक्री–वितरण गर्न नपाइने भनिएको छ ।  यस्तो थाहा पाएमा जरिवाना पनि हुन्छ ।

उनले भने, ‘बालअधिकारको कुरा छ, उनीहरूको अधिकार संरक्षण गर्नु हाम्रो दायित्व हो ।’ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बालमैत्री स्थानीय शासन र स्थानीय तहमा बालअधिकार प्रवर्द्धन गर्न बालमैत्री वडा घोषणा भएसँगै महत्वपूर्ण भूमिका खेल्ने बताए । बालमैत्री वडा घोषणा उक्त वडालाई बालमैत्री वडा घोषणा गर्न वर्ल्डभिजन इन्टरनेसनल नेपाल, ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी)ले आर्थिक र प्राविधिक सहयोग रहेका छन् ।