१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ भदौ ३० बुधबार ०६:१८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अर्को महिनादेखि ११ वर्षमुनिका बालबालिकालाई कोभिडको भ्याक्सिन 

Read Time : > 1 मिनेट
२०७८ भदौ ३० बुधबार ०६:१८:००

बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाइने भएको छ । पछिल्ला क्लिनिकल ट्रायलहरूले ५–११ वर्ष उमेर समूहमा पनि भ्याक्सिन लगाउन सकिने पुष्टि गरेपछि अक्टोबरको अन्त्यबाट भ्याक्सिन लगाउने तयारी भएको हो ।कोभिडविरुद्धको भ्याक्सिन अहिले १२ वर्षभन्दा माथि उमेर समूहमा लगाइँदै आएको छ । कोभिड संक्रमण दर घट्न थालेसँगै विश्वभर नै विद्यालय खुल्न थालेका छन् । विद्यालय खुले पनि अभिभावकहरूमा भने त्रास कायम नै छ ।

अध्ययनहरूको यो निष्कर्षले भने उनीहरूमा केही खुसी गराएको छ । साथै ११ वर्षमुनिका बालबालिकामा पनि भ्याक्सिन लगाउन सुरु गरेपछि बालबालिकामा संक्रमणको जोखिम कम हुने विज्ञहरूले बताएका छन् । 

अमेरिकामा बालबालिकामा संक्रमण बढेसँगै विश्वभरि नै चिन्ताको विषय बनेको थियो । तेस्रो लहरको जोखिम बढेको भन्दै विज्ञहरू जोखिम न्युनीकरणमा लागेका थिए । यसैक्रममा अमेरिकामा दुईवटा वैज्ञानिकको समूहले गरेको अध्ययनले बालबालिकामा खोप प्रभावकारी हुने देखाएको हो । उनीहरूले खोप प्रयोगमा ल्याउन सकिने सुझाबसमेत दिएका छन् । ५ वर्षभन्दा माथिका बालबालिकामा दिइने भ्याक्सिनको डोजबारे भने मोर्डना र फाइजरले अनुसन्धान गरिरहेको जनाएको छ ।

बालबालिकामा संक्रमण र मृत्युदर न्यून 
हालसम्म विश्वभरको तथ्यांक हेर्दा वयस्कको तुलनामा बालबालिकामा संक्रमण र मृत्युदर न्यून छ । क्लिनिकल परीक्षणले समेत उनीहरूमा कोभिडको असर तुलनात्मक रूपमा न्यून देखाएको छ । तर, पछिल्लो समय बालबालिकामा उच्च संक्रामक देखिएको डेल्टा भेरियन्टको परिवर्तित स्वरूपले ल्याउन सक्ने महामारी नियन्त्रणका लागि भ्याक्सिन आवश्यक रहेको विज्ञहरूले बताउँदै आएका छन् ।१२ वर्षभन्दा माथि उमेर समूहमा मोडर्ना र फाइजरको भ्याक्सिन प्रयोगमा आइसके पनि अन्य उत्पादन कम्पनीहरू ट्रायलमै छन् । 

१२ वर्षभन्दा माथि उमेर समूहमा भ्याक्सिनको प्रभावकारिताबारे पनि यकिन विवरण आइसकेका छैनन् । विभिन्न ट्रायलहरूले बालबालिकामा भ्याक्सिन लगाउन सकिने जनाए पनि एफडिएले भने सिफारिसपूर्व भ्याक्सिन प्रयोगमा नल्याउन चेतावनी दिएको छ । साना बालबालिकामा प्रतिरोधी क्षमता र भ्याक्सिनको डोजबारे अझै कैयौँ प्रश्न अनुत्तारित रहेको एफडिएको भनाइ छ ।

नेपालमा निकै  समय लाग्छ : डा. पुन
केही विज्ञहरूले भने साना बालबालिकाको हकमा अझै अन्योल रहेको जनाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पनि पुसदेखि माघ महिनासम्म १२ देखि १८ वर्ष उमेर समूहका लागि भ्याक्सिन ल्याउने तयारी भइसकेको छ ।

सरकारले अमेरिकाबाट ६० लाख डोज भ्याक्स्नि ल्याउने तयारी गरिसकेको छ । तर, ११ वर्षमुनिका बालबालिकामा हालसम्म खोप प्रयोगमा नआएका कारण नेपालसम्म आइपुग्न लामो समय लाग्न सक्ने बताउँछन्, डा. शेरबहादुर पुन । उनी भन्छन्, ‘बच्चामा भ्याक्सिनको डोजबारे अझै निकै अनुसन्धान बाँकी छ । 

अध्ययनहरू पनि ट्रायलकै क्रममा रहेको र बच्चाको प्रतिरोधी क्षमताअनुसार खोपको प्रभावकारिताबारे समेत निकै शंका रहेका कारण तत्काल खोप लगाउन सम्भव देखिँदैन ।’हाल मोर्डना, फाइजर र बायोटेक कम्पनीले ५–११ वर्ष उमेरका लागि भ्याक्सिनमा ट्रायल गरिरहेका छन् । बायोटेक कम्पनीले भने ट्रायल सम्पन्न भइसकेको र विश्व स्वास्थ्य संगठनको स्वीकृति लिन समय लिएको जनाएको छ ।