अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी)ले आसन्न आइसिसी टी–२० विश्वकप २०२१ का लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । बोर्डले रसिद खानको कप्तानीमा टोली घोषणा गरेको थियो । तर, खानले बोर्डको निर्णय सार्वजनिक भएको आधा घन्टाभित्र नै राष्ट्रिय टोलीको कप्तानीबाट राजीनामा दिएका छन् । खानले अप्रत्याशित रूपमा सामाजिक सञ्जालमार्फत आफूले कप्तान पदबाट राजीनामा दिएको जानकारी दिएका छन् ।
छनोट कमिटीले घोषणा गरेको टोली आफूलाई चित्त नबुझेको खानको भनाइ छ । टोलीका कप्तानसँग छलफल नै नगरी बोर्डले एकैपटक विश्वकप खेल्ने टोली घोषणा गरेकोमा चित्त नबुझेको उनले बताए । ‘छनोट कमिटी र अफगानिस्तान क्रिकेट बोर्डले खेलाडी छनोट गर्दा मसँग कुनै सल्लाह गरेको छैन,’ खानले भनेका छन् ।
गत जुलाईमा प्रमुख छनोटकर्ता असदुल्ला खानले खेलाडी छनोटमा धेरै हस्तक्षेप भएको जनाउँदै राजीनामा दिएका थिए । उनले क्रिकेटबाहिरका मानिसले हस्तक्षेप गरेको आरोप लगाएका थिए । यसपटक रसिद खानले पनि त्यही किसिमको आरोप लगाएका छन् ।
यसैबीच, बोर्डले टोलीको प्रमुख अलराउन्डर मोहमद नाबीलाई टी–२० टोलीको कप्तान बनाएको छ । खानले पनि यसको समर्थन गरेका छन् । ‘मलाई थाहा थियो, मपछि टोलीको नेतृत्व गर्ने नै नाबी हुन्,’ खानले सामाजिक सञ्जालमा भनेका छन् । छनोट कमिटीले टी–२० का लागि खेलाडी घोषणा गर्दा टोलीबाहिर रहेकाहरूसमेतलाई समेटेको छ । यसपटक विकेटकिपर ब्याट्सम्यान मोहमद सेहसाद पनि फर्किएका छन् । एक वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिबन्धमा परेका सेहसाद सन् २०२० को अगस्टमा मात्र प्रतिबन्ध फुकुवा भएका थिए ।
लामो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका सापुर जार्दानले पनि स्थान बनाएका छन् । सापुरले डेढ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । घाइते खेलाडी हामिद हसनलाई पनि छनोट कमिटीले विश्वकपको टोलीमा समावेश गरेको छ । सन् २०१६ देखि हामिद राष्ट्रिय टोलीबाट बाहिर छन् । आइसिसी टी–२० विश्वकप युएई र ओमानमा १७ अक्टोबरदेखि १४ नोभेम्बरसम्म हुनेछ । सुपर १२ अन्तर्गत अफगानिस्तान समूह ‘बी’मा छ । यस समूहमा भारत, पाकिस्तान र न्युजिल्यान्ड पनि छन् ।
विद्रोही समूह तालिबान सरकारमा पुगेसँगै अफगानिस्तानको क्रिकेट भविष्य अनिश्चित बन्दै गएको छ । यहाँ अहिले खेलकुद गतिविधि ठप्पजस्तै छ । तालिबानले महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय खेलमा सहभागिता नगराउने घोषणा नै गरिसकेको छ । यो निर्णयसँगै अफगानिस्तानको टेस्ट मान्यतासमेत खोसिने सम्भावना छ । आइसिसीका अनुसार टेस्ट मान्यताप्राप्त राष्ट्रले अनिवार्य रूपमा पुरुष तथा महिला टोलीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनाउन अवसर दिनुपर्छ ।
तालिबानले महिला खेलाडीमाथि प्रतिबन्ध लगाएपछि अफगानिस्तान महिला क्रिकेट टोलीको अस्ट्रेलिया भ्रमण स्थगित भएको छ । अस्ट्रेलियन क्रिकेट बोर्डले आगामी दिनमा पुरुष तथा महिला अफगानी टोलीसँग खेल नखेल्ने घोषणा गरेको छ । अस्ट्रेलियाले अफगानिस्तानको पुरुष टोलीसँग २७ नोभेम्बरमा होबार्टमा टेस्ट खेल्ने कार्यक्रम थियो ।