
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपालको राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा विभाजित भएको बताएका छन् । शनिबार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्दै पोखरेलले राष्ट्रिय राजनीति केपी ओली र गठबन्धन गरी दुई ध्रुवमा विभाजित भएको बताएका हुन् ।
केपी ओली ध्रुव राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको पक्षमा रहेको भन्दै उनले गठबन्धनलाई अवसरवादी, सिद्धान्तहीन र अनैतिकहरूको झुन्ड भएको टिप्पणी गरे ।
'नेपालमा अहिले राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा बाँडिएको छ । एउटा केपी शर्मा ओलीको छ, जुन आर्थिक विकास, जनताका दुःख र वेदना सुन्ने गर्छ, विकास र समृद्धिको कुरा गर्छ, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा गर्छ, सामाजिक सदभावको कुरा गर्छ । हामी यो पोल, यो ध्रुवको नेतृत्व गर्ने केपी ओली हुनुहुन्छ । अर्को ध्रुव गठबन्धनको छ, जहाँ अवसरवादीहरू, सिद्धान्तहीनहरू, अनैतिकहरूको झुन्ड छ । त्यो झुन्डले नेतृत्व गरेको अर्को पोल छ । यी दुईवटा ध्रुवमध्ये हामीले रोज्ने ध्रुव भनेको केपी ओलीले नेतृत्व गरेको ध्रुव हो,’ पोखरेलले भने ।