
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले १० दिनका लागि मिश्रित लकडाउन थप्ने निर्णय गरेको छ। कोरोना संक्रमणकालका कारण यहाँका अस्पतालमा बिरामी भर्ना दर बढेसँगै लकडाउनको समय थप गरिएको हो।
यसअघि १० दिन थप गरिएको मिश्रित लकडाउन आज राति १२ बजेसम्म रहेकामा जोखिम मूल्यांकनबमोजिम जिल्ला पहेँलो जोनमा परेको कारण आजदेखि आगामी असोज ५ गते राति १२ बजेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए।
तोकिएको समयसम्म सबै प्रकारका भेला, जुलुस, सभा, सम्मेलन, सिनेमा हल, रेस्टुरेन्ट, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, मनोरञ्जनस्थल, सैलुन, ब्युटिपार्लर र जिमखाना सञ्चालन गर्न पाइनेछैन। यस्तै, हाट, मेला, जात्रा, महोत्सव पार्टी र भोजजस्ता भिडभाड हुने कार्य नगर्न पनि प्रशासनले आग्रह गरेको छ।
तोकिएका तरकारी बजारबाहेक अन्य सार्वजनिकस्थल र बाटोमा तरकारी तथा फलफूल बिक्री–वितरण गर्न नपाइने प्रशासनले जनाएको छ । प्रशासनले गोष्ठी, सेमिनार, समीक्षाजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट सञ्चालन गर्न र भौतिक रूपमा उक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने भएमा अनिवार्य रूपमा स्वास्थ्य मापदण्डको पालना गर्दै बढीमा २५ जना मात्र उपस्थित हुने गरी गर्न आग्रह गरेको छ।
शैक्षिक संघ–संस्था सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा स्थानीय पालिकाको निर्णयअनुसार विद्यालय व्यवस्थापन समिति र अभिभावक संघसमेतको समन्वय र सहकार्यमा निर्धारित स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी विद्यालय सञ्चालन गर्न सकिनेछ। सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्दा कुल सिट क्षमताभन्दा बढी संख्यामा यात्रु नराख्ने र चालक, सहचालक तथा यात्रुले निर्धारित स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्ने प्रशासनले जनाएको छ ।
यो समयावधिमा विकास निर्माणका ढुवानी गर्ने सवारीसाधन जिल्लाभित्र खपत हुने सामग्रीको हकमा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म र जिल्लाबाहिर लैजानेको हकमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने जनाइएको छ। जिल्लाभित्रका सम्पूर्ण पसल बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म मात्रै खोल्न पाउने स्थानीय प्रशासनले निर्णय गरेको छ। रासस