दसैँमा घर फर्कने यात्रुहरूलाई लक्षित गर्दै यस वर्ष असोजको पहिलो सातादेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ। यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी महासंघ र अन्य यातायात व्यवसायीहरूको बुधबार बसेको बैठकले दसैँलाई मध्यनजर गर्दै छिट्टै टिकट बुकिङ खुला गर्ने तयारी गरेको हो।
यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले असोजको पहिलो सातादेखि नै बुकिङ खुला गर्ने गरी व्यवसायीहरूसँग छलफल भएको जानकारी दिए। उनले भने, ‘यस वर्ष अलि छिटो टिकट बुकिङ खुला गर्ने सल्लाह भएको छ। असोजको पहिलो सातादेखि नै बुकिङ खुला गर्ने हाम्रो योजना छ।’ उनले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सार्वजनिक यात्रु र सवारीसाधनलाई कोभिड स्वास्थ्य मापदण्ड तोकिने बताए।
चाडबाडको वेला लामो दूरीका यातायात व्यवस्थित गर्ने गरी व्यवसायीहरूसँग थप छलफल गरिने उनको भनाइ छ। त्यस्तै, भाडादर, कोभिड स्वास्थ्य मापदण्ड तोक्ने विषयमा विभागले अझै छलफल गरिने जनाएको छ ।
दसैँ–तिहारको वेला झन्डै १० देखि १५ लाख मानिस उपत्यकाबाट बाहिरिन्छन्। तर, हरेक वर्ष दसैँ–तिहारको वेला घर फर्कँदा यात्रुहरूले सहज यात्रा गर्न पाउँदैनन्। सरकारले लामो दूरीका यातायात व्यवस्थित र भाडादर तोकिदिए पनि सवारीसाधनले मनोमानी ढंगले यात्रुसँग महँगो भाडा असुल्ने गरेका छन्। यसबारेमा विभागले व्यवसायीहरूसँग बैठक बसेर थप छलफल गर्ने जनाएको छ।