१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
अजित अधिकारी काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o७:२८:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

१ असोजदेखि चाडपर्वलक्षित सुपथ पसल

खाद्यान्नलगायत सामग्रीमा छुट दिन साल्ट टे«डिङलाई एक करोड ५० लाख र खाद्य कम्पनीलाई एक करोड ७५ लाख निकासा

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:२८:oo

सरकारले विगतका वर्षहरूमा जस्तै सार्वजनिक संस्थानहरू परिचालन गरी दसैँ–तिहारमा सुपथ पसल सञ्चालन गर्ने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीका अनुसार सरकारले १ असोजदेखि २४ कात्तिकसम्म सुपथ पसल सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल प्रतिकिलो पाँचका दरले २५ किलोको बोरामा एक सय २५ रुपैयाँ, सिमी र फापरमा प्रतिकिलो १० रुपैयाँ खसी–बोका प्रतिकिलो १० रुपैयाँ छुट दिएर बिक्री गर्नेछ ।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले नुनमा दुई रुपैयाँ र चिनी पाँच रुपैयाँ प्रतिकिलो छुट दिएर बिक्री गर्नेछ । उद्योग मन्त्रालयका अनुसार साल्ट ट्रेडिङले कालीमाटी, सतुंगल, कोटेश्वर, सूर्यविनायक, बनेपालगायतको बिक्री केन्द्रमा सुपथ पसल खोल्नेछ । त्यस्तै, खाद्य कम्पनीले थापाथली, नख्खु, सूर्यविनायकलगायतका स्थापनमा सुपथ पसल सञ्चालन गर्नेछ । दुग्ध विकास संस्थानले दुग्धजन्य पदार्थमा छुटसहित रामशाहपथ, लैनचौरस्थित कार्यालयको बिक्री केन्द्रलगायतमा सुपथ पसल सञ्चालन गर्नेछ ।

सरकारले १ असोजबाट सञ्चालन गर्ने सुपथ पसलबाट उपभोक्तालाई तीन करोड २५ लाख रुपैयाँसम्म छुट दिने गरी बजेट व्यवस्था गरेको छ । उद्योग मन्त्रालयको सहायक प्रवक्ता उर्मिला केसीले सुपथ पसलमा खाद्यान्नलगायत छुट दिन साल्ट ट्रेडिङलाई एक करोड ५० लाख र खाद्य कम्पनीलाई एक करोड ७५ लाख निकासा भएको बताइन् । उनले भनिन्, ‘बजार मूल्यभन्दा कममा खाद्यान्नलगायत बिक्री गर्ने संस्थानलाई शोधभर्ना दिन तीन करोड २५ लाख रुपैयाँ निकासा भइसकेको छ ।’ 

 दसैँलाई ६ करोडको खसी, बोका 
छुट मूल्यमा खसी, बोका खरिद गर्न खाद्य कम्पनीले करिब ६ करोड बजेट विनियोजन गरिसकेको छ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालका अनुसार यो वर्ष एक हजार ६ सय खसी, बोका र करिब १५ सय च्यांग्रा खरिदका लागि बजेट विनियोजन गरिएको छ । तर, गत वर्षजस्तै च्यांग्रा आयात गर्ने सम्भावना न्यून छ । खाद्य कम्पनीले थापाथलीस्थित अञ्चल कार्यालयबाट खसी, बोका बिक्री गर्नेछ । बजार मूल्यभन्दा १० रुपैयाँ प्रतिकिलो सस्तो भनिए पनि करिब ५० रुपैयाँ सस्तोमा खाद्य कम्पनीको खसी, बोका बिक्री हुने गरेको छ । 

०६५ देखि नियमित रूपमा सुपथ पसल
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा ०६५ देखि नियमित रूपमा सुपथ पसल सञ्चालन हुँदै आएको छ । सुरुका वर्षमा रामशाहपथस्थित तत्कालीन नेसनल ट्रेडिङ लिमिटेडको प्रांगणमा मात्रै सुपथ पसल लाग्ने गरेको थियो । साल्ट ट्रेडिङले नून र चिनीमा, नेसनल ट्रेडिङले विभिन्न इलेक्ट्रोनिक घरायसी सामान र खाद्य कम्पनीले चामलमा छुट दिने गरेका थिए ।

सुपथ पसलमा उपभोक्ताको आकर्षण बढ्दै गएपछि सरकारले शोधभर्नाबापतको रकम पनि बढाउँदै लगेको थियो । जसकारण सुपथ पसलको संख्या पनि बढेर गत वर्ष सबैभन्दा बढी ४९ वटासम्म पुगेको थियो । यद्यपि, संस्थानको कार्यालय रहेको ठाउँ वा पहिलेदेखि नै स्थापित बिक्री केन्द्रमा मात्रै सुपथ पसल सञ्चालन गरिँदै आएको छ । जसकारण सहरी क्षेत्रका उपभोक्ताले मात्रै सुपथ पसलबाट लाभ लिइरहेका छन् ।

 चिनी पाउने सम्भावना कम
गत वर्षको सुपथ पसलमा चिनी खरिद गर्ने उपभोक्ताको भिड बाक्लो थियो । प्रतिकिलो पाँच रुपैयाँ छुट दिएर ७० रुपैयाँ किलोको दरले प्रतिपरिवारलाई चार किलोसम्म चिनी बिक्री गरिएको थियो । त्यतिखेर व्यापारीले बजार मूल्य ८०–८५ रुपैयाँ कायम गरेका थिए । यो बर्ष पनि बजारमूल्य ८५–९० रुपैयाँ हुँदा साल्ट ट्रेडिङले ७९.५० रुपैयाँमा चिनी बिक्री गरिरहेको छ । साल्ट ट्रेडिङका प्रबन्धक ब्रजेश झाले चिनी अभाव भएकाले खरिदका लागि सरकारलाई गत माघमा नै पत्राचार गरे पनि अहिलेसम्म निर्णय नभएको बताए ।

‘हामीले भन्सार सहुलियतमा ५० हजार टन चिनी खरिदका लागि स्वीकृति माग्दै चिठी पठाएको धेरै भयो तर, अहिलेसम्म अनुमति पाएका छैनौँ’ उनले भने । साल्ट ट्रेडिङले एक प्रतिशत भन्सारमा चिनी आयात गरी उपभोक्तालाई सस्तो दरमा बिक्री गर्दै आएको छ । तर, यो पटक दसैँमा साल्ट ट्रेडिङले सहुलियतको चिनी बिक्री गर्न नसक्ने संकेत गरेको छ । 

उद्योग मन्त्रालयको उपसचिव उर्मिला केसीले पनि चाडपर्वका लागि समेत हुने गरी भन्सार सहुलियतमा चिनी खरिदका लागि स्वीकृति दिन अर्थ मन्त्रालयलाई पत्राचार गरे पनि कुनै जवाफ नआएको बताइन् ।
 

ad
ad