चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)को खेल–तालिका सार्वजनिक भएको छ । आयोजक इपिएलले बुधबार सार्वजनिक गरेको तालिकाअनुसार ९ असोजमा साबिक विजेता ललितपुर प्याट्रिओट्सले काठमाडौं किंग्स इलाभेनको सामना गर्नेछ ।नेपालकै चर्चित फ्रेन्चाइज टी–२० लिग इपिएलमा ६ विभिन्न सहरका टोलीले सहभागिता जनाउनेछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २३ असोजसम्म चल्ने इपिएलमा १९ खेल हुनेछन् । प्रतियोगिताका ६ फ्रेन्चाइज टोलीले सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोबिन लिगको शीर्ष चार टोली क्वालिफायर चरणमा छनोट हुनेछन् । पहिलो तथा दोस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि सीधै प्रतिस्पर्धा गर्नेछ ।
तेस्रो तथा चौथो स्थानबीच हुने खेलको विजेताले पहिलो प्लेअफमा पराजित टोलीसँग खेल्नेछ । १४ दिनसम्म चल्ने प्रतियोगितामा पाँच दिन दुई खेल हुनेछन् । यसबाहेक अन्य दिन दिनमा एक खेल हुने आयोजकले बताएको छ । दिनमा एउटा मात्र खेल हुँदा दिउँसो १२:१५ बजेबाट सुरु हुनेछ । दुई खेल हुँदा दिनको पहिलो खेल बिहान ९:३० र दोस्रो खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।
प्रतियोगिताको फाइनलअघि एक दिन ब्रेक छ । प्रतियोगितामा ललितपुर, काठमाडौं, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । यसपटकको इपिएल विजेताले ५० लाख रुपैयाँ पाउनेछ । नेपालमा आयोजना हुने टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा विजेता टोलीले पाउन लागेको यो सर्वाधिक धनराशि हो । मुख्य प्रायोजक बजाज पल्सरले चौथो संस्करणको इपिएललाई दुई कोड ५० लाख रुपैयाँ प्रदान गर्नेछ ।