दूरसञ्चार प्राधिकरणले देशभरका सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान गर्न एक अर्ब खर्च गर्ने भएको छ । प्राधिरकणले भूकम्प प्रभावित ८ जिल्लाका विद्यालयहरूमा इन्टरनेट जडानका लागि ३३ करोड र बाँकी ६६ जिल्लामा इन्टरनेट जडानका लागि ७० करोडमा सम्झौता गरेको हो ।
भूकम्प प्रभावित जिल्लाहरूमा इन्टरनेट जडानका लागि ब्याकबोन निर्माणदेखि फाइबरसमेत बिछ्याउनुपर्ने भएकाले लागत बढी लाग्ने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए । उनका अनुसार ६६ जिल्लामा भने साइड कस्ट मात्रै लाग्ने भएकाले थोरै लागत लागेको बताए । ब्रोडब्यान्ड फाइबर बिछ्याउनका लागि दुई सय ५७ स्थानीय तहहरूसँग समझदारीपत्रमा हस्ताक्षर भएकोे छ । भूकम्प प्रभावित ८ जिल्लाहरू र उपत्यकाबाहेकका ६६ जिल्लाहरूका ६ सय ५६ स्थानीय तहका सामुदायिक विद्यालयहरूमा २० एमबिपिएस क्षमताको ब्रोडब्यान्ड इन्टरनेट जडान गरिनेछ ।
अप्टिकल फाइबर बिछ्याउने कार्य ४६ प्रतिशत सम्पन्न
दूरसञ्चार प्राधिरकणले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्न सूचना महामार्ग परियोजना ४६ प्रतिशतले सम्पन्न भएको छ । प्राधिकरणको प्रतिवेदनअनुसार साउनसम्ममा एक हजार ६ किलोमिटर अप्टिकल फाइबर जडानको कार्य सम्पन्न भएको छ । परियोजनाअन्तर्गतको प्याकेज नम्बर १ परेको प्रदेशमा एक हजार ६ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सकिएको हो । प्याकेज नम्बर १ मा प्रदेश नम्बर १, २ र बागमती प्रदेश परेको छ । सो प्याकेजका लागि प्राधिकरणले नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता गरेको छ । दुई वर्षभित्रमा कार्य सम्पन्न हुने गरी सम्झौता गरिएको हो ।
प्योकज नम्बर २ का लागि प्राधिकरणको युनाइटेड टेलिकमसँग दुई वर्षभित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर, टेलिकमको सम्झौताबमोजिम कार्यको प्रगति शून्य भएपछि प्राधिकरणले सम्झौता रद्ध गरेको थियो । प्याकेज नम्बर ३ को एडिएसएसको सम्झौता भई कार्यान्वयनको चरणमा रहेको प्राधिकरणले जनाएको छ । साथै, डिडब्लुडिएम र कोर राउटरका लागि सम्झौता भई कार्य प्रारम्भ भएको छ । प्याकेज नम्बर ३ का लागि प्राधिकरणले नेपाल दूरसञ्चार कम्पनीसँग सम्झौता गरेको छ ।
प्राधिकरणले प्याकेज नम्बर १ का लागि ६१ करोड ५५ लाख रुपैयाँ अग्रिम भुक्तानी गरेको छ । भन्सार महसुलबापत १२ करोड ८० हजार भुक्तानी गरेको छ । प्याकेज नम्बर २ का लागि ४० करोड २० लाख रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
इन्टरनेट जडान कार्य ९४ प्रतिशत सम्पन्न
दूरसञ्चार प्राधिकरणले सञ्चालन गरेको ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजनामार्फत ९४ प्रतिशत स्थानीय निकायमा इन्टरनेट जडान सम्पन्न भएको छ । दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार कुल वडा कार्यालयमध्ये ९१ प्रतिशत कार्यालयमा इन्टरनेट जडान भइसकेको छ । त्यस्तै, कुल माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामध्ये करिब ९२ प्रतिशत इन्टरनेट जडान कार्य सम्पन्न भएको छ ।
प्राधिकरणका अनुसार स्थानीय निकायका ६ सय ६३ कार्यालयहरूमा इन्टरनेट जडान कार्य सम्पन्न भइसकेको छ । गत साउन महिनासम्ममा पाँच हजार चार सय २८ वडा कार्यालय, चार हजार सात सय ८३ माध्यमिक विद्यालय, तीन हजार आड सय नौ स्वास्थ्य संस्थासहित १४ हजार ६ सय ८३ कार्यालयहरूमा इन्टरनेट जडान सम्पन्न भइसकेको छ ।
त्यस्तै, ३९ स्थानीय निकायमा इन्टरनेट जडान गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । जसमध्ये पाँच सय पाँचवटा वडा कार्यालय, चार सय ४२ माध्यमिक विद्यालय र तीन सय १३ स्वास्थ्य संस्थामा इन्टरनेट जडान हुन बाँकी रहेको छ ।
इन्टरनेट जडान गर्ने १८ वटा प्याकेजहरूमध्ये १५ वटा प्याकेजहरूमार्फत ६० जिल्लाहरूमा शतप्रतिशत जडान भइसकेको छ । दुईवटा प्याकेजमार्फत १० जिल्लाहरूमा ५० प्रतिशत कार्य सम्पन्न भई सेवा सञ्चालन भइसकेको प्राधिकरणले जनाएको छ । साथै, एउटा प्याकेजमार्फत चार जिल्लामा ३० प्रतिशतभन्दा बढी कार्य सम्पन्न भई सेवा सञ्चालनमा रहेको छ ।
ब्रोडब्यान्ड परियोजनाको ६० प्रतिशत वित्तीय प्रगति भएको छ । प्राधिकरणले पाँच अर्ब ६७ करोडमा सम्झौता भएको थियो । जसमध्ये प्राधिकरणले तीन अर्ब ३८ करोड रुपैयाँ सेवाप्रदायक कम्पनीहरूलाई वितरण गरिएको छ ।