मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका रुपन्देही
२०७८ भदौ २१ सोमबार ०६:१५:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

लुम्बिनीमा २५ अर्ब लगानीका होटेल, तर छैनन् पर्यटक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, रुपन्देही
२०७८ भदौ २१ सोमबार ०६:१५:००

भगवान् गौतम बुद्धको जन्मस्थल विश्वप्रसिद्ध लुम्बिनी क्षेत्र यतिखेर सुनसान छ । रुपन्देहीका होटेलमा मात्र झन्डै २५ अर्बको लगानी छ । यहाँ साना–ठूला गरी दुई हजार पाँच सय होटेल छन् । त्यसमध्ये एक सय ५० भन्दा बढी स्तरीय होटेल सञ्चालनमा रहेको होटेल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम बताउँछन् । अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल सञ्चालनपछि पर्यटन व्यवसाय फस्टाउने अपेक्षाले यो क्षेत्र लगानीकर्ताका लागि आकर्षणको केन्द्र बनेको छ । पछिल्लो दुई वर्षमा मात्र एक सय होटेल थपिएका छन्, तर कोरोनाका कारण पर्यटन व्यवसाय भने धराशायी बन्दै गएको अध्यक्ष गौतमको भनाइ छ । 

लुम्बिनी सांस्कृतिक नगरपालिकामा मात्रै साना–ठूला गरी एक  सय २४ होटेल तथा रेस्टुरेन्ट छन् । तीनवटा होटेल निर्माणाधीन अवस्थामा छन् । बैंकको ब्याज तथा कर्मचारीलाई पारिश्रमिक दिन समस्या भएपछि केही सञ्चालक होटेल छाडेरसमेत हिँडेका छन् । पर्यटनसँग जोडिएका होटेल, ट्राभल एजेन्सी तथा अन्य साना व्यवसायसमेत प्रभावित भएका छन् । अहिले दैनिक एक हजारको हाराहारीमा पर्यटक लुम्बिनी घुम्न आए पनि दिनभर घुमेर रात नबिताई फर्किंदा यहाँँका पर्यटन व्यवसायीले लाभ लिन नसकेको लुम्बिनी होटेल व्यवसायी संघका महासचिव लीलामणि शर्मा बताउँछन् । उनी भन्छन्, ‘कोरोना संक्रमणका कारण आन्तरिक पर्यटकले रात बिताउँँदैनन्, विदेशी पर्यटक आउन चाहेर पनि पाएका छैनन् । पोल्यान्ड, फ्रान्स, जर्मनी, इटालीलगयतका देशका पर्यटक बुद्ध जन्मस्थल आउन इच्छुक छन्, फोन गरेरै अन्तर्राष्ट्रिय उडान खुल्नेबित्तिकै आउँछौँ भनेका छन्, तर महामारी नहटेसम्म आउने अवस्था छैन ।’

परीक्षण उडानको तयारीमा रहेको गौतम बुद्ध विमानस्थल, बुटवल–भैरहवा तथा भैरहवा–लुम्बिनी–तौलिहवा चार लेन सडक, बेथरी–बेलवास चार लेन सडक र निर्माणाधीन बुटवल–नारायणगढ ६ लेन सडक, बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय सभाहल र प्रदर्शनी केन्द्र, लुम्बिनीमा पाँच हजार क्षमताको सभाहललगायतका ठूला पूर्वाधारले यहाँ लगानीकर्ताको ध्यान तानिएको हो । भैरहवादेखि सात किलोमिटर उत्तर चिल्हियामा बाउन्नकोटी सामुदायिक वननजिकै पाँच अर्बभन्दा बढी लगानीमा टाइगर प्यालेस पाँचतारे होटेल सञ्चालनमा छ । 

व्यवसायी पवन हलुवाईसहितको तीन अर्ब लगानीमा लुम्बिनीमा अर्को पाँचतारे पवन प्यालेस इन्टरनेसनल होटेल सञ्चालनमा छ । यसैगरी, डेढ अर्बभन्दा बढी लगानीमा पाँचतारेस्तरको लुम्बिनीमै बुद्धमाया र जापानी नागरिक नोबुओ कासाईको करिब डेढ अर्ब बढी लगानीमा अर्को पाँचतारे होटेल कासाई पनि सञ्चालनमा छ । 

त्यसैगरी, लुम्बिनीमै एक अर्बभन्दा बढी लगानी रहेको होटेल होक्के, लुम्बिनी गार्डेन र न्यू क्रिस्टल होटेल पनि सञ्चालनमा छन् । भैरहवा–परासी सडकखण्डको वसन्तपुरमा रहेको बोधि रेडसन होटेलमा पनि एक अर्बभन्दा बढी लगानी रहेको छ । मणिग्राममा एक अर्बभन्दा बढी लगानीमा ड्रिम ल्यान्ड गोल्ड रिसोर्ट सञ्चालनमा छ ।

यसैगरी, लुम्बिनीमै होटेल जाम्बला, बुद्धमाया प्यालेस, ब्याम्बो रिसोर्टजस्ता ५० करोडभन्दा बढी लगानीका सुविधासम्पन्न होटेल सञ्चालनमा छन् । लुम्बिनीमै आनन्द इन, लिटल बुद्ध, पिस ल्यान्ड, लुम्बिनी गेस्टहाउस, मायादेवी गेस्टहाउस, सिद्धार्थ गेस्टहाउस, होटेल अशोकाइन, आकाश इन्टरनेसनल, स्तूप, शाक्य गेस्टहाउस, होली बर्थ, मिराजइन, आदर्शइन, हाम्रो गेस्टहाउस, लुम्बिनी ग्रिन भ्यू, सेभेनस्टप गेस्टहाउस, बेबिलोन, सुरम्मा, बुद्ध इन्टरनेसनल, बुद्ध प्यालेस, सनफ्लावर, बुद्ध रेजेन्सी, जयबुद्धजस्ता ७० भन्दा बढी पर्यटकीय होटेल सञ्चालनमा छन् ।

लुम्बिनीका होटेलमा मात्रै एक रातमा १० हजारभन्दा बढी पर्यटकलाई राख्न सकिने क्षमता छ । पछिल्लो समय करिब एक अर्ब लगानीमा छपियामा होटेल लुम्बिनी पिस प्यालेस र ५० करोडभन्दा बढी लगानीमा बुटवलमा होटेल फ्लामिंगो सञ्चालनमा आएका छन् । यी दुवै होटेल कोरोना महामारीकै बीच सञ्चालनमा आएका हुन् । त्यसैगरी, ५० करोड रुपैयाँ हाराहारी लगानीमा भैरहवाको होटेल नान्स, होटेल निर्वाणा, बुटवलमा ४० करोडभन्दा बढी लगानीका क्लब डेनोभो, होटेल एभिन्यू, डारसिस, टुलिप, महाराजा, दरबार लन्जलगायतका होटेल सञ्चालनमा छन् ।

भैरहवामा पाँच करोडभन्दा माथि लगानी गरिएका होटेल यती, अशोका, पौवा, क्यासल, ह्वाइट लोटस, सिटी म्याक्स, सिटी सेन्टर, लाकौल इन, होटेल लाकौल, एसआर, प्रकाश एन्ड प्रकाश, पटवा बैंकक्वेट, जोशी, सिटी सेन्टर, माउन्ट एभरेस्ट, मानसरोवर, ममता, कोटिहवाको यती पार्टी प्यालेस, पवन इन्टरनेसनल र मणिग्राममा होटेल मदानी सञ्चालनमा छन् । बुटवलमा पाँच करोड रुपैयाँभन्दा बढी लगानीका आरम्भ रिसोर्ट, सिद्धार्थ कटेज, लक्ष्मी होटेल, दरबार होटेल, न्यू इरा, सिन्दूर, एसियन, आम्रपाली कटेज, दियालो, मिराज, वृन्दावन छन् ।  छपियामा एकजना कृषकले २० करोड रुपैयाँको लागतमा फिस रिसोर्ट सञ्चालन गरेका छन् ।   टेकनाथ बस्यालले डाइभरटोलमा ८५ फिट अग्लो १५ करोडको लागतमा निर्माण भएको शंकर टावरमा होटेल एसआर सञ्चालन गरिरहेका छन् । 

अजय चौधरीले कानपारामा करोडौंँ रुपैयाँको लगानीमा एग्रो रिसोर्ट सञ्चालन गरिरहेका छन् । बर्सेनि झन्डै १६ लाख पर्यटकले भ्रमण गर्ने लुम्बिनीमा दुई वर्षदेखि विदेशी पर्यटकको संख्या शून्यसरह छ । सबैभन्दा धेरै पर्यटक भित्रिने श्रीलंका, थाइल्यान्ड, म्यानमार र चीनबाट पर्यटक आउन चाहेर पनि पाएनन् । कोरोना महामारीका बाबजुद छिमेकी मुलुक भारत हुँदै श्रीलंकाबाट तीनजना म्यानमारबाट एकजना र चीनबाट ३२ जना पर्यटक लुम्बिनी आए । बुद्धको जन्मस्थल भएका कारण आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने अपेक्षाले यहाँ लगानी गर्न लगानीकर्ता हौसिन्छन्, तर लगानीकर्ताको लगानी गर्दाको उत्साह पर्यटक आगमन कम भएपछि निराशामा परिणत भइदिन्छ ।

जग्गा किनेर होटेल बनाएकाको छोड्ने अवस्था छैन, तर भाडामा लिएका कतिपयले भने किनबेच गरिरहेका छन् । सरकारले पर्यटकीय गन्तव्यका सडक चार लेनमा विस्तार गर्ने, चीनको रेल केरुङबाट काठमाडौं, पोखरा हुँदै लुम्बिनी ल्याउने, भारतबाट काठमाडौंसम्म रेल ल्याउने, थप तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नेलगायत महत्वकांक्षी योजना सार्वजनिक गरेपछि मुलुकमा पर्यटनको लहर आउने विश्वासले पनि लगानीकर्तालाई होटेल व्यवसायमा आकर्षित गरिदियो, तर लगानी उठाउन सक्ने अवस्था नहुँदा व्यवसायी निराश छन् । रासस