१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
तस्बिर : नेपाल–भारत सीमा स्तम्भ नजिकैको शिवरत्नपुर बस्ती
दीपक अधिकारी काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १४:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सीमावर्ती बस्तीका नेपाली वर्षौंदेखि लालपुर्जाविहीन

Read Time : > 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:१८:oo

सीमावर्ती क्षेत्रमा नेपाली भूमिको रक्षा गरेर बसेका मोहना नदी पारी पर्ने कैलालीको मोहनपुर, शिवरत्नपुर र हौसलपुर गाउँका बासिन्दा जग्गाधनी प्रमाणपुर्जाबाट वञ्चित छन्। आफू बसेको ठाउँको जग्गाधनी प्रमाणपुर्जा नहुँदा उनीहरू सरकारी सुविधाबाट वञ्चित हुँदै आएका छन् ।

सीमामा भारतीयको ज्यादती सहेर नेपाली भूमिको संरक्षण गरिरहेको भए पनि जग्गाधनी प्रमाणपुर्जा नदिएकोमा राज्यसँग उनीहरूको गुनासो छ । लालपुर्जा नहुँदा सरकारले कृषिमा दिने अनुदान र सहयोग उनीहरूले पाएका छैनन् । बैंक, सहकारीलगायत वित्तीय संस्थामा जग्गा धितो राखेर कारोबार गर्नसमेत नपाएको स्थानीयले बताएका छन् ।

आफूहरू ४० वर्षदेखि बस्दै आएको ठाउँको लालपुर्जा अहिलेसम्म नपाएको मोहनपुरका स्थानीय सुनील चौधरीले बताए ।लालपुर्जाका लागि पटकपटक विभिन्न निकाय धाए पनि कसैले नसुनेको उनले गुनासो गरे। ‘कृषि अनुदानको सिँचाइ ट्युबेल, कृषि मिटर राख्न लालपुर्जा खोज्छ। तर, हामी कसैसँग पनि लालपुर्जा छैन।’ उनले भने, ‘लालपुर्जा नहुँदा सरकारी सुविधा लिन पनि समस्या छ।

लालपुर्जा नहुँदा बैंकिङ कारोबारबाट पनि आफूहरू वञ्चित रहेको अर्का स्थानीय विष्णु चौधरीले बताए ।  सीमानाकामा भारतीयको ज्यादती सहेर बसिरहेका नेपालीलाई सरकारले बेवास्ता गरेको उनको गुनासो छ। बस्तीले नेपाली भूमि अतिक्रमण हुनबाट जोगिए पनि लालपुर्जा नहुँदा सरकारबाट हेपिएको महसुस हुने गरेको चौधरीले बताए। ‘हामी भारतीयको ज्यादती सहेर बसेका छौँ । भारतीय सुरक्षाकर्मी कहिलेकाहीँ गाउँमै आएर दुर्व्यवहार गर्छन्,’ उनले भने, ‘सिमानाको संरक्षण गरेर बसेकालाई जग्गाधनी प्रमाणपुर्जा दिएर सरकारले अपनत्व देखाउन सकेको छैन।’ बस्ती नभएको भए यस क्षेत्रको नेपाली भूमि अतिक्रमण भइसकेको हुने उनको दाबी छ। सीमाक्षेत्रमा खटिएका भारतीय सीमा सुरक्षा बल (एसएसबी) र वन रक्षकले वेलावेलामा गर्ने दुर्व्यवहार र गाउँमै समेत आएर गर्ने ज्यादतीबारे सीमावर्ती क्षेत्रका स्थानीय खुलेर बोल्नसमेत डराउँछन्।

तीनवटै गाउँमा दुई सय घरधुरी छन् । स्थानीय कसैसँग पनि आफू बसेको र उपभोग गरिरहेको जग्गाको लालपुर्जा भने    छैन । उनीहरू सुकुम्बासी जसरी सीमाक्षेत्रको संरक्षण गरेर बसिरहेका छन् । लालपुर्जा दिन माग गर्दै गाउँपालिका कार्यालय, तत्कालीन गाविस कार्यालय, मालपोत कार्यालय, सुकुम्बासी आयोगलगायत विभिन्न निकायमा पटकपटक पुग्दा पनि काम नभएको स्थानीयको गुनासो छ।

तीनतिर भारतीय सीमा जोडिएका मोहना नदी पारी पर्ने तीन वटै गाउँका बासिन्दालाई नदीमा पुल नहुँदा वर्षायाममा आफ्नै देशका अन्य बस्ती जानसमेत समस्या छ ।

ad
ad