दाङमा जिल्ला कोभिड संंकट व्यवस्थापन केन्द्र(डिसिएमसी)को अनुमति लिएर विद्यालय सञ्चालन गर्न पाइने भएको छ । स्थानीय तहहरूले स्वास्थ्य तथा सुरक्षाको मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने भएमा डिसिएमसीको अनुमति लिनुपर्ने दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले बताए ।
जिल्लाको शान्तिनगर गाउँपालिकाले आगामी हप्तादेखि र तुलसीपुर उपमहानगरपालिकाले तिजपछि विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन् । शुक्रबार बसेको डिसिएमसीको बैठकले विद्यालय सञ्चालन गर्दा नेपाल सरकारको स्मार्ट लकडाउनको प्रावधानभित्र रही गर्नुपर्ने निर्णयसमेत गरेको छ ।
बैठकले चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्नुपर्ने, सर्वसाधारण, सार्वजनिक–निजी संघसंस्था, व्यावसायिक फर्मलगायतबाट सञ्चालन हुने सबै किसिमका कार्यहरू सरकारले तोकेको मापदण्डअनुसार गर्नुपर्ने, सभा, भिडभाड, जुलुस, जात्रा, महोत्सव नगर्ने निर्णयलाई निरन्तरता दिएको छ ।
त्यस्तै, लक्षण देखिएका तथा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूले एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह र अस्पतालमा सम्पर्क गरी परीक्षण गराउने, कोरोनाबाट मृत्यु भएकाहरूको स्वास्थ्य कार्यालयबाट प्रक्रिया पुगी पेस भएका व्यक्तिहरूलाई प्रदेश सरकार स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय मुकाम बुटवलबाट प्राप्त हुने एक लाख राहत उपलब्ध गराउन सिफारिस गरी पठाउने र बाँकी मृतकहरूको सम्बन्धमा प्रक्रिया पुगी स्वास्थ्य कार्यालयमा पेस भएपश्चात् राहत रकम उपलब्ध गराउनका लागि सिफारिस गरी पठाउने निर्णय भएको छ ।