मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १८ शुक्रबार
  • Wednesday, 18 December, 2024
लन्ड्रे सिनिए
२o७८ भदौ १८ शुक्रबार o९:o६:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अफ्रिकामा देखिएको खोपको चरम अभाव कसरी समाधान होला ? 

Read Time : > 3 मिनेट
लन्ड्रे सिनिए
नयाँ पत्रिका
२o७८ भदौ १८ शुक्रबार o९:o६:oo

अफ्रिकाले आफूले प्रयोग गर्ने जम्मा एक प्रतिशत खोप मात्र निर्माण गर्ने भएकाले ऊ खोपमा अरू मुलुकमाथि निर्भर रहन्छ

महामारीको समयमा समृद्ध मुलुकले कोभिड–१९ को खोप विकास तथा निर्माण कार्यमा अग्रता हासिल गरे । खोप तयार भएपछि ठूलो संख्याको खोपको डोज पनि तिनै मुलुकका सरकारले आफूसँग राखे । अहिले उनीहरू तीव्रताका साथ आफ्नो जनसंख्यालाई खोप लगाइरहेका छन् । अझ खोप लगाइसकेका जनसंख्यामध्ये कमजोर प्रतिरोध क्षमता भएकालाई बुस्टर खोप दिने निर्णयसमेत भएको छ ।

तर, यही अवधिमा केही विकासशील मुलुकले भने आफ्ना जनतालाई एक डोज खोप पनि दिन सकेका छैनन् । अफ्रिका महादेशका मुलुकले कोभिड–१९ खोपको सीमित डोज पाउनसमेत संघर्ष गरिरहेका छन् । अगस्ट ३१ सम्म १.४ अर्ब जनसंख्या रहेको अफ्रिका महादेशका मुलुकहरूले जम्मा ९.४ करोड डोज मात्र पाएका छन् । जबकि ३३.२ करोड जनसंख्या रहेको अमेरिकाले ३७.५ करोड डोज खोप लगाइसकेको छ । यो असमानताले अधिकांश अफ्रिकी मुलुकको कमजोर औषधि तथा खोप निर्माण क्षेत्रलाई इंगित गर्छ । अफ्रिकाले कोभिड–१९ विरुद्धको खोप मात्र होइन, महादेशका जनतालाई प्रभावित बनाउने अन्य विभिन्न रोगविरुद्ध पनि खोप बनाउन सक्दैन । अफ्रिकामा जम्मा चारवटा स्थानीय खोप निर्माण संयन्त्र छन्, दुईवटा विकासका क्रममा छन् । 

कोभिड–१९ महामारीमा, सप्लाई चेनमा अवरोध पुग्दा चिकित्सकीय उत्पादनका लागि निर्यातमा निर्भर हुने मुलुक धेरै प्रभावित भए । अफ्रिकाले आफूले प्रयोग गर्ने जम्मा एक प्रतिशत खोप मात्र निर्माण गर्ने भएकाले ऊ लगभग सम्पूर्ण रूपमा खोप निर्यातमा निर्भर रहन्छ । हालसम्म अफ्रिकी मुलुकले हासिल गरेका खोपहरू द्विपक्षीय सहमति र कोभिड–१९ खोपको विश्वव्यापी सहायता सुविधा ‘कोभ्याक्स’अन्तर्गत हासिल भएका हुन् । कोभ्याक्स विश्व स्वास्थ्य संगठन र खोप वितरणसम्बन्धी गठनबन्धन ‘ग्याभी’ले अघिल्लो वर्ष आरम्भ गरेको थियो । यसले न्यून तथा मध्यम आययुक्त मुलुकका २० प्रतिशत मानिसलाई खोप दिने लक्ष्य राखेको छ ।

कोभ्याक्सजस्ता अग्रसरता अफ्रिकाको अल्पकालीन आवश्यकता पूरा गर्नका लागि आवश्यक छ । तर, त्यतिले मात्र महादेशको सम्पूर्ण खोपको आवश्यकता पूरा गर्न पर्याप्त हुँदैन । यसलाई ध्यान दिएर मास्टरकार्ड फाउन्डेसनले अफ्रिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी)मार्फत कोभिड–१९ खोपको निर्माण तथा वितरणलाई सघाउन १.३ अर्ब डलरको प्रतिबद्धता जनाएको छ । यो कार्यक्रमअन्तर्गत मानव–पुँजी विकासको पक्षलाई पनि जोड दिइनेछ र कार्यक्रम अफ्रिकी संघ तथा अफ्रिकाको सिडिसीको पार्टनरसिप फर अफ्रिकन भ्याक्सिन म्यानुफ्याक्चरिङ (पिएभिएम) अग्रसरतासाथ चल्नेछ ।

यही अप्रिलमा जारी भएको पिएभिएम अग्रसरताले आगामी १०–१५ वर्षमा महादेशमा पाँच खोप अनुसन्धान तथा निर्माण हब निर्माण गर्ने लक्ष्य लिएको छ । साथै, आगामी २० वर्षमा महादेशमा स्थानीयस्तरमा निर्माण हुने खोपको हिस्सा ६० प्रतिशत पुर्‍याउने पनि यसको लक्ष्य छ । युरोपेली संघले इन्टरनेसनल फाइनान्स कर्पोरेसन, फ्रान्स, जर्मनी र संयुक्त राज्य अमेरिकाको सहकार्यमा खोप हब विकास परियोजनामा एक अर्ब युरो लगानी गर्ने घोषणा गरिसकेको छ ।

अफ्रिकाको खोप निर्माण क्षमता विकास भयो भने भविष्यमा आइपर्ने अप्रत्याशित संकटको सामना गर्न सहयोग पुग्छ नै, साथमा यसले मुलुकहरूलाई नियमित रूपमा आवश्यक पर्ने खोपको आपूर्ति गर्न पनि सहज बनाउँछ । सन् २०१९ मा एनाडोलु एजेन्सीले गरेको एक खोजमा विश्वका एक करोड ९८ लाख बालबालिकाले नियमित खोप अभियानअन्तर्गत दादुरा खोप पाउनबाट वञ्चित भए । त्यसमध्ये धेरैजसो अफ्रिकाका बालबालिका थिए । 

त्यस अतिरिक्त हालका प्रयासले अफ्रिकालाई तिनको भावी जनस्वास्थ्य समस्या सम्बोधन गर्ने बलियो आधार दिनेछ । उदाहरणका लागि पश्चिम अफ्रिकाका आठ मुलुकमा महामारीका रूपमा रहेको लासा ज्वरो (जसले दिमागमा असर गर्छ) विरुद्धको खोप अहिले विकासको चरणमा छ । अनुसन्धानदाताहरू मलेरियाविरुद्ध थप प्रभावकारी र सस्तो खोप विकास गर्ने लक्ष्यको नजिक छन् । सन् २०१९ मा विश्वभरको कुल मलेरिया रोग तथा मृत्युमध्ये ९४ प्रतिशत सब–साहारा क्षेत्रका अफ्रिकी मुलुकमा देखिएको थियो । औषधोपचार सामग्रीअन्तर्गत अफ्रिकाले खोपबाहेक अन्य कुराको पहुँचका लागि संघर्ष गर्नुपर्छ ।

अफ्रिका आफैँले खोप निर्माण गर्न सुरु गर्‍यो भने मात्र भविष्यमा आइपर्ने अप्रत्याशित संकटको सामना गर्न सहयोग पुग्नेछ र त्यस महादेशका जनतालाई नियमित रूपमा दिइने खोपको वितरण पनि सहज बन्नेछ

सन् २०१५ मा १६ लाख अफ्रिकी नागरिक मलेरिया, टिबी वा एचआइभी/एड्सका कारण मरे । मलेरिया र टिबी उपचार हुन सक्ने रोग हुँदाहुँदै पनि औषधिको चरम अभावका कारण त्यति धेरै मानिसको ज्यान लिइरहेको छ । अहिले अफ्रिकामा औषधि निर्माण गर्न रहेका अवरोध हटाउने अग्रसरता सञ्चालन हुन थालेको छ । सन् २०१२ मा अफ्रिकी संघ विकास एजेन्सीले ‘अफ्रिकाका लागि औषधोपचार निर्माण योजना’ प्रकाशित गर्‍यो । त्यसमा औषधि निर्माता कम्पनीले सामना गरेका धेरै चुनौतीको प्राविधिक समाधान प्रस्ताव गरिएको थियो । अफ्रिकी महादेशभर खुला व्यापार क्षेत्रको कार्यान्वयनमार्फत ‘अफ्रिकाका लागि औषधोपचार निर्माण योजना’लाई सफल बनाउन सकिन्छ ।

‘अफ्रिकाका लागि औषधोपचार निर्माण योजना’जस्तै ‘अफ्रिकन मेडिसिन रेगुलेटोरी हार्मोनाइजेसन (एएमआरएच)’ कार्यक्रमको सफलताको पनि महत्व छ । एएमआरएच कार्यक्रमलाई अफ्रिकाका औषधि कम्पनी क्षेत्रलाई प्रभावित बनाउने नियामक कमजोरीलाई सम्बोधन गर्न सन् २००९ मा अफ्रिकी संघ विकास एजेन्सीले स्थापना गरेको थियो । कार्यक्रमले हालसम्म विभिन्न कानुन ल्याउन सफल भइसकेको छ । एएमआरएच कार्यक्रमलाई अफ्रिकी संघ, विश्व स्वास्थ्य संगठन, ग्याभी, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनजस्ता अन्तर्राष्ट्रिय संगठनले सहयोग पुर्‍याइरहेका छन् । 

अफ्रिकी संघ तथा संयुक्त राष्ट्रसंघजस्ता बहुपक्षीय संस्थानले कार्यान्वयन पक्षमा रहेका कमीकमजोरी पुर्न र अफ्रिकाको औषधि निर्माण क्षेत्रको विकास दर तीव्र बनाउनका लागि थप काम गर्न आवश्यक छ । यसको अर्थ क्षमता अभिवृद्धि, ज्ञान हस्तान्तरण तथा अन्तर–क्षेत्रीय सहकार्यजस्ता विषयमा सहयोग गर्नुपर्छ । त्यस अतिरिक्त अन्तर्राष्ट्रिय वित्तीय संस्थान तथा विकास बैंकबाट वित्तीय स्रोत परिचालन गर्न, मानव पुँजी सबल बनाउन अन्तरदेशीय सहकार्यमा पनि सहयोग पुर्‍याउन सकिन्छ । महामारीको समयमा यस्ता कार्यतर्फ केही कदम उठाइएका पनि छन् । अफ्रिकी नेता तथा बहुपक्षीय संगठनले अहिलेको समयलाई अधिकतम उपयोग गरेर आगामी संकटका लागि अफ्रिकालाई सक्षम बनाउने कुरा सुनिश्चित गर्नुपर्छ । 

ब्रकिङ्स इन्स्टिच्युटका सिनियर फेलो लन्ड्रे सिनिए एरिजोना स्टेट युनिभर्सिटीका प्राध्यापक हुन् । साथमा उनी स्ट्यानफोर्ड युनिभर्सिटीका विशिष्ट फेलो पनि हुन् । 

© Project Syndicate 2021
नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य