नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पत्रकार सम्मेलनमार्फत केन्द्रीय महाधिवेशनमा सभापतिको साझा उम्मेदवारबारे घोषणा गर्ने भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका संस्थापनइतर समूहले बिहीबार पत्रकार सम्मेलनमार्फत साझा उम्मेदवार घोषणा गर्न लागेको केन्द्रीय सदस्य बलबहादुर केसीले नयाँ पत्रिकालाई जानकारी दिए।
‘साझा उम्मेदवारका सम्बन्धमा पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमार्फत जानकारी गराउन लागिएको हो,’ केसीले भने।
संस्थापनइतर समूहले बिहीबार साझा उम्मेदवार घोषणा गर्ने या साझा उम्मेदवार उठाउने सम्बन्धमा नेताहरूले प्रतिबद्धता जनाउने सम्भावना छ। स्रोतका अनुसार साझा उम्मेदवार टुंगो नलागेकाले वडा तहको अधिवेशनअगावै साझा उम्मेदवार घोषणा गर्ने प्रतिबद्धता गरेर एक रहेको सन्देश दिन खोजिएको हो।
कांग्रेसको कार्यतालिका अनुसार शुक्रबारबाट वडा तहको अधिवेशन सुरु हुँदै छ।