मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १५ मंगलबार
  • Wednesday, 18 December, 2024
तस्बिर क्याप्सन : तोडफोडपछि देवकोटाको अर्धकदको शालिकको अवस्था ।  
२o७८ भदौ १५ मंगलबार o९:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झापामा महाकवि देवकोटाको सालिक तोडफोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ १५ मंगलबार o९:५४:oo

झापामा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ । चारआली–केचना सडकखण्डअन्तर्गत भद्रपुर– ९ मा रहेको देवकोटाको सालिक सोमबार मध्यरातमा तोडफोड भएको देवकोटा स्मारक तथा संरक्षक समितिका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए । 

देवकोटाको अर्धकदको सालिक भत्काएर दुई टुक्रा बनाइएको उनले बताए । सालिक यसअघि पनि तीनपटकसम्म तोडफोड भएको उनले बताए । सडकबीचमा सालिक भएकाले दुई वर्षअघि नै अन्यन्त्र सार्ने निर्णय भएको, तर बजेट अभावमा काम सार्न नसकिएको उनले बताए । ‘यो जनस्तरबाट निर्माण भएको सालिक हो । यहाँ पैसा दिने किसानलाई देवकोटा को हुन् भन्नेसम्म थाहा छैन,’ उनले भने, ‘बीचसडकबाट नजिकै सार्ने निर्णय त गर्‍यौँ । तर, पैसा नभएकाले सार्न सकेको थिएनौँ ।’ गत असारमा सालिकमा ठोक्किएर सडक दुर्घटना हुँदा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंका श्रीमान् तथा एमाले नेता ज्ञानुराम प्रसाईंको मृत्यु भएको थियो । 

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले महाकवि देवकोटाको सालिक तोडफोडका विषयमा अनुसन्धान भइरहेको बताए । सालिक तोडफोड भएको विषयमा प्रशासन संवेदनशील रहेको उनले बताए । ‘प्रहरीले निर्माण समितिलाई पनि सोधपुछका लागि बोलाएको छ । यो घटनामा हामी संवेदनशील छौँ,’ उनले भने, ‘घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउँछौँ ।’