स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको सबै भागमा कोरोना फैलिसकेको निष्कर्ष निकालेको छ । हालै गरिएको एक सर्भेबाट हिमाल, पहाड, तराई सबै क्षेत्रमा बसोवास गर्ने नागरिकमा समान रूपमा कोरोनाको एन्टिबडी बनेको पाइएपछि सरकारले यस्तो निष्कर्ष निकालेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले सात प्रदेश, हिमाल, पहाड, तराई, गाउँ सहर सबै भागमा कोरोना फैलिई अधिकांशमा एन्टिबडी बनिसकेको बताए । २१ असारदेखि ३० साउनसम्म १३ हजार १६१ जनाको नमुना परीक्षण गरी विश्लेषण गरिएको थियो । सो क्रममा ६८ दशमलव ६ प्रतिशतमा कोरोना पोजेटिभ भई एन्टिबडी बनिसकेको पाइएको छ ।
अधिकारीहरूले बताएअनुसार कोरोना संक्रमण भएर वा कोरोनोविरुद्धको खोप लगाएर उनीहरूमा कोरोनाविरुद्ध लड्ने एन्टिबडी तयार भइसकेको देखिएको छ । पौडेलले खोपको प्रभावकारिता धेरै देखिएको बताए ।