मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ भदौ १४ सोमबार ०७:५६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कछुवा गतिमा बलेवा विमानस्थल

०७७ माघ मसान्तसम्म कालोपत्रे सक्ने गरी निर्माणको जिम्मा लिएको कम्पनीले कोरोना र निरन्तरको वर्षाका कारण पुनः ०७८ असार मसान्तसम्म काम सक्ने गरी ६ महिना ठेक्का म्याद थपेको भए पनि भदौसम्म कालोपत्रे भएको छैन

Read Time : > 1 मिनेट
२०७८ भदौ १४ सोमबार ०७:५६:००

 निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना र वर्षाका कारण बलेवा विमानस्थलको दुईपटक म्याद सकिँदासमेत काम सम्पन्न हुन सकेको छैन । एक वर्षमा नै सक्ने विमानस्थल दुई वर्ष बित्दासमेत निर्माणको काम कछुवा गतिमा छ । नागरिक उड्डयन प्राधिकरणले ६ महिना म्याद थप्दासमेत निर्माणको काम नसकेर पुनः असारदेखि म्याद सकिएको छ । 

धावनमार्ग कालोपत्रे गर्ने  जिम्मा लिएका निर्माण व्यवसायीले कोरोना र वर्षाका कारण समयमै काम सक्न समस्या भएको जनाउँदै आएका छन् । विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि धावनमार्ग कालोपत्रे गर्न नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत ०७६ फागुनमा काम सुरु गरेको भए पनि बन्दाबन्दी र वर्षाका कारण प्रभावित बन्दै भएको धावनमार्ग कालोपत्रे गर्ने जिम्मा पाएको काष्ठमण्डम उमा एन्ड कम्पनी जेभी, बल्खुका प्रतिनिधि वासु थापाले बताए ।

०७७ माघ मसान्तसम्म कालोपत्रे सक्ने गरी निर्माणको जिम्मा लिएको कम्पनीले कोरोना र निरन्तरको वर्षाका कारण पुनः ०७८ असार मसान्तसम्म काम सक्ने गरी ६ महिना ठेक्का म्याद थपेको भए पनि भदौसम्म कालोपत्रे भएको छैन । अहिले म्याद सकिएको र निरन्तर वर्षा भइरहेकाले विमानस्थलको काम ठप्प रहेको र पुनः ६ महिना म्याद थपको प्रक्रियामा पुगेकोे थापाले बताए । ‘सबै काम सकिएको छ, कालोपत्रे गर्न मात्रै बाँकी हो, हाम्रो लामो समय पूर्वाधार निर्माणमै गयो, कोरोनाका कारण र कालोपत्रे गर्ने समयमा पानी पर्दा समस्या भयो,’ उनले भने, ‘हामी त तयारी अवस्थामा छौँ, अहिले कालोपत्रे गर्ने उपकरण तथा कच्चा सामग्री लैजाने सडकसमेत बर्खाका कारण अवरुद्ध छ ।’

पानी रोकिएर घाम लागे १५ दिनमै विमानस्थल तयार हुने भए पनि निरन्तर झरीका कारण समस्या भएकाले असोजसम्म सक्ने गरी ठेक्का थप गर्न थालेको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर मीनराज ओझाले जानकारी दिए । ‘विमानस्थल कालोपत्रेमा ढिलाइ हुनुमा निर्माण व्यवसायीको दोष देखिँदैन, पूर्वाधारमा कुनै कसुर बाँकी राखेको छैन, तर विमानस्थल कालोपत्रे गर्ने काम मौसममा निर्भर हुन्छ, सुरुमा कालोपत्रेका लागि आवश्यक कच्चा पदार्थको ढुवानीमा समस्या भयो, ढुवानी हुन थालेपछि बर्खा लाग्यो, सडक अवरुद्ध भयो,’ ओझाले भने, ‘चर्को घाम नलागी कालोपत्रे गर्न प्राविधिक हिसाबले मिल्दैन र टिकाउ पनि हुँदैन, घाम लाग्दासाथ निर्माण व्यवसायी काममा फर्कन्छन्, आगामी असोजभित्रै काम सक्ने योजना हाम्रो छ ।’ 

कालोपत्रे गर्न आवश्यक कच्चा सामग्री ढुवानी गर्ने सडक रहेको कालीगण्डकी करिडोर बर्खा लागेपछि अवरुद्ध नै छ । बागलुङको बलेवा विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रेको पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ । विमानस्थलको ७ सय मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रे गरिसक्ने गरी नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डम उमा एन्ड कम्पनी जेभीसँग ७ करोडमा ठेक्का सम्झौता गरेको थियो । रासस