नेपाल–भारत सीमानाकास्थित सर्लाहीको फेन्हरालाई मदन भण्डारी लोकमार्गसँग जोड्ने पहल सुरु भएको छ । सीधा सडक सञ्जालमार्फत मधेसलाई पहाड हुँदै हिमालसम्म जोड्ने पहल सुरु गरिएको हो । जिल्लाको विष्णु गाउँपालिकास्थित फेन्हरा नाकालाई सीधा सडक सञ्जालबाट मदन भण्डारी लोकमार्गसँग जोड्ने कांग्रेस नेता विनोद खनालले जानकारी दिए ।
उक्त योजनाअन्तर्गत फेन्हरा नाकालाई हरिवन–क्यानेश्वर सडक हुँदै सीधा मदन भण्डारी लोकमार्गसँग जोडिनेछ । सर्लाही र सिन्धुली जोड्ने हरिवन–क्यानेश्वर सडक भने अहिले पनि सञ्चालनमै छ । तर, चुरे पहाड हुँदै आएको उक्त सडक कच्ची भएका कारण बर्सातको समयमा सर्लाहीकोे हरिवनतर्फको भाग अत्यन्त जीर्ण हुने गरेको छ । हरिवन–क्यानेश्वर सडकलाई यसअघि नै सिन्धुलीको झनझनेस्थित मदन भण्डारी लोकमार्गमा जोड्न पहल सुरु गरेका थिए ।
प्रस्तावित जिल्लाको विष्णु गाउँपालिकास्थित सिमरा फेन्हरादेखि हरिवन–क्यानेश्वर हुँदै मदन भण्डारी लोकमार्गसम्म जोड्ने सडकहरू लिंक रोडका रूपमा प्रयोग भइरहेका छन् । त्यसैले उक्त सडक स्तरोन्नति गर्ने, कालोपत्रे एवं पुल निर्माण गर्ने काम गर्दा सजिलै प्रयोगमा ल्याउन सकिने स्थानीय नेताहरूको भनाइ छ । यस अभियानलाई मूर्त रूप दिन हरिवनदेखि सिमरा फेन्हरासम्मको सडकअन्तर्गत पर्ने हरिपुर, बरहथवा, चक्रघट्टा तथा हरिवनबाट उत्तर सिन्धुलीको हरिहरपुरगढीसम्मका जनप्रतिनिधिसँग छलफल गरिने कांग्रेस नेता खनालले बताए ।
सडक संरचना पहिलादेखि नै रहेकाले फराकिलो गर्ने, कालोपत्रे एवं केही स्थानमा पुलपुलेसा निर्माण गर्नुपर्ने देखिएको छ । भारतीय सीमा क्षेत्रदेखि प्रदेश दुई हुँदै बागमती प्रदेशको मदन भण्डारी लोकमार्गसम्म जोड्ने सडक यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र भौगोलिक अवस्थामा ठूलो कोसेढुंगा साबित हुने नेता खनालको भनाइ छ ।