कास्कीको गगनगौँडास्थित नेपाल आयल निगम लिमिटेडको गण्डकी प्रादेशिक कार्यालयमा एक करोड लिटर डिजेल अटाउने दुई ठूला भर्टिकल ट्यांक (भण्डारण गृह)को द्रुत गतिमा निर्माण अघि बढेको छ ।
आयल निगमले १४ वर्षपछि पोखराबाट पूर्वाधार निर्माणको काम सुरु गरेको हो । गगनगौंडास्थित डिपोमा फायर फाइटिङ स्तरोन्नति, लोड–अनलोड सेड विस्तार, डिपोको सुरक्षा प्रणाली सुधारसहित ५०–५० लाख लिटर डिजेल भण्डारण गर्न मिल्ने दुई ठूला भर्टिकल ट्यांक निर्माणको गत २७ कात्तिकमा शिलान्यास गरिएको थियो । त्यसयता निर्माण कार्य निरन्तर अघि बढिरहेको सो परियोजनाको प्रमुख तथा निगमका निमित्त निर्देशक इन्जिनियर मनोज ठाकुरले जानकारी दिए ।
उनका अनुसार २४ लाख लिटर पानी अटाउने अर्को भर्टिकल ट्यांक निर्माणको कामसमेत सुरु भएको छ । यी सबै पूर्वाधार तयार गर्न ७७ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । परियोजना प्रमुख ठाकुरले अबको एक बर्षभित्र सम्पूर्ण निर्माण सकेर सञ्चालनमा ल्याउने योजनाअनुसार काम भइरहेको बताए ।
‘अहिले डिजेलको दुईवटा र पानीको एउटा भर्टिकल ट्यांक निर्माणलाई प्राथमिकता दिएका छौँ । अहिलेसम्म तीनवटै भर्टिकल ट्यांकलाई १८ फिटमुनिबाट उठाएर जमिनको सतहभन्दा माथि ढलान उठाइएको छ’ ठाकुरले भने, ‘अब फलामको पातालाई जोडेर भर्टिकल ट्यांक जडान धमाधम थाल्छौँ ।’ निगमले पहिलोपटक जर्मन प्रविधि प्रयोग गरी भर्टिकल ट्यांक निर्माण थालेको हो । अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (एपिआई) मापदण्डको सामान र प्रविधि प्रयोग गरी निर्माण अघि बढाएको निगमले जनाएको छ ।
भर्टिकल ट्यांक, डिजेल पम्पिङ सेड, आयल वाटर सेपरेटरलगायत निर्माणका लागि काठमाडौं विश्वविद्यालयका दुईजना कन्सल्ट्यान्ट इन्जिनियरहरूले सुपरीवेक्षण गरिरहेका छन् । उनीहरूका अनुसार दैनिक बिहान ७ देखि बेलुका ६ बजेसम्म निर्माण कार्य हुने गरेको छ । निर्माणमा दक्ष, अदक्ष गरी २४ जना मजदुर र कर्मचारी खटिएका छन् । उनीहरू डिपो परिसरमा अस्थायी टहरा बनाई बसेका छन् ।
डिपो परिसर भित्रै मजदुर बसिरहेका कारण कुनै पनि दिन नरोकी निर्माण कार्य अघि बढिरहेको छ । अबको दुई महिनाभित्र डिजेलको दुईवटा र पानीको एउटा भर्टिकल ट्यांक तयार गर्ने गरी काम अघि बढेको ठाकुरले बताए । त्यसपछि भर्टिकल ट्यांकमा डिजेल पठाउने पम्पिङ सेड, आयल वाटर सेपरेटर, भर्टिकल ट्यांकको वरीपरी पिच सडक निर्माणलगायतका काम अघि बढ्नेछन् ।
डिजेलको भर्टिकल ट्यांकलाई नौ फिट अग्लो र दुई सय ३३ फिट लामो पर्खालले घेरिएको छ । कुनै कारणवश भर्टिकल ट्यांकको डिजेल चुहिए पर्खालले घेरेर राख्छ, बाहिर जान दिँदैन । ‘दुईमध्ये एउटा भर्टिकल ट्यांकको सबै डिजेल चुहियो भने पनि यो पर्खालभित्र अटाउने गरी डिजाइन भएको छ, पर्खालभन्दा बाहिर जान पाउँदैन’ ठाकुले भने, ‘यसरी चुहिएको डिजेललाई पर्खाल बाहिर राखिने आयल वाटर सेपरेटरले तानेर पाइपका माध्यमबाट पुनः भर्टिकल ट्यांकमै पठाउने प्रणाली जडान हुनेछ ।’
आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले परियोजनालाई लिएर निकै उत्साहित भएको बताए । उनले साबिककै जग्गालाई उपयोग गरी भण्डारण गृह निर्माण थालेकाले निगमको अन्य खर्च पनि जोगिएको बताए । ‘यो परियोजना सम्पन्न भएपछि गण्डकीमा एक महिनालाई पुग्ने तेल व्यवस्थापन गर्न कुनै चिन्ता हुनेछैन । अन्यत्र पनि यस्तो पूर्वाधार बनाउन हामीलाई थप हौसला पुग्नेछ’ उनले भने, ‘निकट भविष्यमै चितवनको लोथरमा सबैभन्दा ठूलो भण्डारण गृह बन्नेछ । त्यहीँबाट गण्डकीको भण्डारण गृहलाई पनि तेल लैजान सहयोग हुनेछ ।’
कस्तो बन्दै छ भण्डारण गृह
एपिआई मापदण्डअनुसारको भर्टिकल ट्यांक बनाउन फलामको पाता भारतबाट आयात गरिएको छ । प्राविधिकहरूका अनुसार ५०–५० लाख लिटर डिजेल अटाउने भर्टिकल ट्यांकको आधारको गोलाइ (डायमिटर) २१.५ मिटर छ । यसमध्ये तेल बस्ने क्षेत्रको गोलाइ २१.३ मिटर छ । २१.३ मिटर पूरै क्षेत्रफल ढाक्न १० मिलिमिटर बाक्लो फलामको पाता (एनुला प्लेट) बिछ्याइएको छ ।
भर्टिकल ट्यांकको उचाइ १४ मिटरको हुनेछ । परियोजना प्रमुख ठाकुरका अनुसार १४ मिटर उचाइसम्म भर्टिकल ट्यांक लैजान सात तहसम्म फलामको पाता (सेल प्लेट) जडान हुन्छ । ‘सात तहसम्म फरक–फरक गुणस्तरको सेल प्लेट जोडेर १४ मिटर उचाइसम्म पु¥याइन्छ’ ठाकुरले भने, ‘१.५ मिटरदेखि २.५ मिटरसम्मको अग्ला सेल प्लेट सात तहसम्म जोडेर १४ मिटर अग्लो भर्टिकल ट्यांक बनाउने हो ।’
प्रत्येक तहमा ११ वटा सेल प्लेट ६–६ मिटर लम्बाइको हुनेछ । एउटा भने १.७ मिटरको हुनेछ । यी सबै सेल प्लेट जडान हुँदा एक तहमा २१.३ मिटर गोलाइको ट्यांक तयार हुन्छ । सबैभन्दा तल्लो तहमा १० मिलिमिटर बाक्लो सेल प्लेट एउटा, त्यसको ठिक माथि ८ मिलिमिटर बाक्लो सेल प्लेट दुईवटा र सबैभन्दा माथि ६ मिलिमिटर बाक्लो चारवटा सेल प्लेट गरी कुल सात तह पु¥याइनेछ । भर्टिकल ट्यांकलाई ६ एमएम बाक्लो फलामे पाताको ढक्कन पनि लगाइनेछ । प्राविधिकहरूका अनुसार १४ मिटर अग्लो भर्टिकल ट्यांकमा १३.३ मिटरमा मात्रै तेल बस्नेछ । यति उचाइमा तेल भरिँदा ५० लिटर अटाउनेछ ।
अहिले एउटा भर्टिकल ट्यांकमा सबैभन्दा माथिल्लो भागको सेल प्लेटको घेरा हालिएको छ । सबै सेल प्लेटलाई वेल्डिङ गरी जडान भइरहेको छ । ‘सुरक्षा र मजबुतीका लागि प्रत्येक सेल प्लेटको टुक्रा जडान गर्दा बाहिरबाट तीनपटक र भित्रबाट दुईपटक बेल्डिङ गर्ने गरिएको छ ।
निगमले डिपो परिसरमा २४ लाख लिटर पानी अटाउने ठूलो भर्टिकल ट्यांक पनि बनाइरहेको छ । अहिले जमिनमुनिबाट ढलान उठाएर सकिएको छ । यसको गोलाइ १५ मिटर र उचाइ १४ मिटर हुनेछ । यसमा पनि सात तहसम्म सेल प्लेट जडान हुनेछ । तल्लो तीन तहमा ८ मिलिमिटर र माथिल्लो चार तहमा ६ मिलिमिटर बाक्लो सेल प्लेट राखिनेछ । देशभरका डिपोमध्ये पहिलोपटक पोखरामा एथ्रिएफ (एक्वाइस फिल्म फर्मिङ फोम) प्रविधिको पानीट्यांकी बनाउन लागिएको छ । यसका लागि ६–६ हजार लिटर क्षमताको दुईवटा एथ्रिएम फोम राख्ने अलग्गै ट्यांक पनि निर्माण हुनेछ । जसकारण डिपोभित्र आगलागीको घटना भई पानी हाल्नुप¥यो भने पाइपलाइनबाट फोम मिश्रित पानी जानेछ । यसले आगलागी नियन्त्रण प्रभावकारी हुने ठाकुरले बताए ।
भण्डारण गृह बिस्तारपछिको अवस्था
निगमको गण्डकी प्रादेशिक कार्यालय प्रमुख पुष्कर कार्कीका अनुसार हाल साना क्षमताका चारवटा भर्टिकल ट्यांक छन् । यसमध्ये सात लाख ६० हजार क्षमताको तीनवटा भर्टिकल ट्यांकमा २२ लाख ८० हजार लिटर डिजेल भण्डारण हुने गरेको छ । सात लाख ६० हजार लिटर क्षमताको एउटा मट्टितेल ट्यांक छ । पेट्रोल भण्डारणका लागि भने अन्डर–ग्राउन्डमा ७० हजार लिटर क्षमताको पाँचवटा ट्यांक छन् । ‘हालको भण्डारणले पेट्रोल तीन दिन र डिजेल १० को मात्रै माग धान्ने अवस्था छ’ कार्कीले भने, ‘त्यसैले यहाँ ठूलो क्षमताको भण्डारण गृहको आवश्यकता महसुस भई अहिले निर्माण भइरहेको हो ।’
१ करोड लिटर क्षमताको नयाँ डिजेल भडारण गृह तयार भएपछि हालको सानो क्षमताको चारवटै भर्टिकल ट्याकमा पेट्रोल राखिने कार्कीले बताए । त्यस्तै, पेट्रोल राखिने हालको अन्डर–ग्राउन्ड ट्यांकमा डिजेल र मट्टितेल राख्ने गरी कार्ययोजना अघि बढाइएको छ । ‘हालको सानो क्षमताको भर्टिकल ट्यांक कन्भर्सन गरेपछि पेट्रोलको भण्डारण क्षमता ३२ लाख २० हजारको हुनेछ । यसले २७ दिनको माग धान्न सक्छ’ कार्कीले भने, ‘एक करोड लिटर अटाउने नयाँ डिजेल ट्यांक तयार भएपछि ४२ दिनको माग धान्न सक्ने पूर्वाधार तयार हुन्छ ।’
पोखरा डिपोबाट हाल दैनिक औसतमा पेट्रोल एक लाख २० हजार र डिजेल दुई लाख २० हजार लिटर वितरण भइरहेको छ । पोखरा डिपोले तनहुँ, कास्की, स्याङ्जा, बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङका ५८ पम्पलाई इन्धन वितरण गर्ने गरेको छ ।