मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ ११ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ११ शुक्रबार १७:३९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पहिलो महिनामै एक खर्ब ५० अर्बभन्दा बढीको आयात, व्यापार घाटा ७० प्रतिशतले वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ११ शुक्रबार १७:३९:oo

चालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक खर्बभन्दा बढीको वस्तु आयात भएको छ। भन्सार विभागले आज शुक्रबार सार्वजनिक गरेको चालू आव (०७८/७९)को पहिलो महिनाको तथ्यांकअनुसार एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रुपैयाँबराबरको वस्तु आयात भएको हो।

गत आव ०७७/७८ को पहिलो एक महिना ८५ अर्ब ८० करोड ७९ लाख रुपैयाँबराबरको आयात गरिएको थियो। सो अवधिका तुलनामा चालू आवमा ७५.६६ प्रतिशतले आयातमा वृद्धि भएको छ।

यस्तै चालू आवको पहिलो एक महिनामा २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँबराबरको स्वदेशी वस्तु निर्यात भएको छ। अन्य आवका तुलनामा चालू आवको एक महिनामा निर्यातमा पनि उच्च रूपमा वृद्धि भएको छ। गत आवको सोही अवधिमा नौ अर्ब ६२ करोड रुपैयाँबराबरका स्वदेशी सामग्री निर्यात गरिएको थियो। तथ्यांकअनुसार गत वर्षको तुलनामा निर्यात ११५.८५ प्रतिशतले बढेको हो।

गत आव ०७७/७८ को पहिलो एक महिनाको तुलनामा चालू आवको पहिलो एक महिनामा निर्यातसँगै आयातमा समेत वृद्धि भएको छ। यसैगरी नेपालले साउनमा मात्रै एक खर्ब २९ अर्ब ९६ करोड ६६ लाख रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ। गत वर्षको सोही अवधिमा ७६ अर्ब १८ करोड ७९ लाख रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको थियो। गत वर्षको तुलनामा चालू आवमा ७०.५९ प्रतिशतले व्यापार घाटासमेत बढेको छ।

विभागले सार्वजनिक गरेको एक महिनाको तथ्यांकअनुसार सबैभन्दा धेरै आयात हुने सामग्रीको पहिलो स्थानमा पेट्रोलियम पदार्थ छ। एक महिनामा १८ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको तथ्यांकमा उल्लेख छ।

एक महिनाका अवधिमा एक सय दुई देशबाट एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजारबराबरको विदेशी वस्तु आयात भएको हो। तथ्यांकअनुसार एक महिनाको अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ। भारतबाट ८९ अर्ब ४८ करोड ६३ हजार रुपैयाँबराबरको आयात भएको छ। भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ। चीनबाट एक महिनामा २० अर्ब ९७ करोड ६६ लाख रुपैयाँबराबरको आयात भएको छ। एक महिनाको अवधिमा भारतमा १६ अर्ब ८३ करोड ६९ लाख र चीनमा आठ करोड रुपैयाँबराबरको निर्यात भएको छ। रासस