नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि १४औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवारीबाट पछाडि नहट्ने भएका छन्। कार्यतालिकाअनुसार अधिवेशन सुरु हुनुपूर्व नै निधिले सभापतिका लागि उम्मेदवारी दिने दोहोर्याएका हुन्।
यसैको तयारीस्वरूप उनले शुक्रबार बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय खोल्ने भएका छन्। सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेकाले तयारीमा लाग्न सम्पर्क कार्यालय खोल्न लागेको निधिले जानकारी गराएका छन्।
उनले सभापति शेरबहादुर देउवालाई समेत आफूले उम्मेदवारी दिने जानकारी गराइसकेका छन्। तर, देउवाले भने सभापतिमा दाबेदारी नगर्न र आफूलाई सहयोग गर्न आग्रह गर्दै आएका छन्। देउवाका विश्वासपात्र मानिएका निधिले सभापतिको उम्मेदवारीबाट पछि नहट्ने घोषणा गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।