मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १० बिहीबार
  • Wednesday, 18 December, 2024
२o७८ भदौ १० बिहीबार o७:१८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

माथिल्लो मर्स्याङ्दी ‘ए’को उत्पादन दुई महिनादेखि बन्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ १० बिहीबार o७:१८:oo

माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको दुई महिनादेखि विद्युत् उत्पादन बन्द भएको छ । असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै असार १ गतेदेखि नै आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको हो । विद्युत् उत्पादन बन्द हुँदा दैनिक करोडभन्दा बढीको नोक्सानी भएको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए । उनले भने, ‘आयोजनाले बर्खाको समयमा पूर्ण क्षमतामा विद्युतगृह चल्ने हुँदा दैनिक एक करोड रुपैयाँबराबरको आम्दानी गुमिरहेको छ ।’

आयोजनामा क्षति पुगेका संरचना मर्मतका लागि थप रकम खर्च हुने अधिकारीले बताए । दुई महिनादेखि बन्द आयोजना मर्मत गरी पुनः विद्युत् उत्पादन गर्नका लागि अझै दुई महिना लाग्ने आयोजनाले जनाएको छ । आयोजनाको दुई महिनामा थप ६० करोड रुपैयाँ बढी आम्दानी गुम्ने देखिएको छ । नदीमा आएको बाढीका कारण आयोजनाको बाँध क्षेत्रदेखि पावरहाउससम्मको संरचनामा क्षति पुगेको थियो । बाढीले आयोजनाको विद्युत् प्रवाह हुने प्रसारण लाइनको संरचनामा पनि क्षति पुर्‍याएको छ ।  क्षतिग्रस्त प्रसारण लाइनको पुनर्निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । 

क्षतिग्रस्त विद्युतगृहका उपकरण चीनबाट आयात गरेर बदली गरिने कम्पनीको तयारी छ । आयोजनाको अन्य संरचनामा अहिले पनि मर्मत कार्य जारी छ । बाढीका कारण आयोजनाको दुवै टर्मिनलमा क्षति पुगेकाले अब नयाँ संरचना राख्ने तयारी भएको जनसम्पर्क अधिकृत अधिकारीले बताए । चीनबाट नयाँ टर्मिनल ल्याउने तयारी भएको र पुरानोलाई पनि मर्मत गरिने अधिकारीको भनाइ छ । यस्तै आयोजनाको बाँधदेखि पावर हाउससम्मको ११ केभी विद्युत् प्रसारणलाइन र सडक संरचनामा पनि ठूलो क्षति पुगेको छ ।  

बाढीले आयोजनाका केही उपकरणसमेत बगाएको थियो । आयोजनामा चिनियाँ बहुराष्ट्रिय कम्पनीको सिनो हाइड्रोको ९० र नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको १० प्रतिशत लगानी रहेको छ । माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजना सिनोहाइड्रो–सगरमाथा पावर कम्पनीले निर्माण गरेको हो । आयोजनाले ०७३ असोजदेखि विद्युत् उत्पादन सुरु गरेको हो ।