नेप्सेमा उच्च अंकको करेक्सन आएको छ। बुधबार ४८ दशमलव ४२ अंकले घटेर तीन हजार ७६ दशमलव ४५ बिन्दुमा पुगेर बन्द भएको हो । झन्डै ३२ सयको बिन्दुमा रहेको नेप्सेमा बुधबार उच्च अंकसहितको करेक्सन आउँदा सबै समूहको सूचक नकारात्मक बन्न पुगेका छन्।
कारोबारमा आउने १३ समूहको सूचकमा सबैभन्दा धेरै गुमाउने समूहमा विकास बैंक र निर्जीवन बिमा समूहको सूचक रहेको छ भने माइक्रो फाइनान्स, जीवन बिमा समूहको सूचक पनि नकारात्मक बन्न पुगेका छन्।
खानीखोला हाइड्रोपावर कम्पनीको १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको भने जानकी फाइनान्स, जनरल इन्स्योरेन्स, नेपाल फाइनान्स, हिमालयन पावर पार्टनर, फर्स्ट फाइक्रो फाइनान्स कम्पनी, रुरु जलविद्युत् परियोजना, जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ता सो दिन सबैभन्दा निराश बनेका छन्। यी कम्पनीका सेयर लगानीकर्ताले सो दिन ६ प्रतिशतले आफ्नो हिस्सा गुमाउन पुगेका छन्। त्यस्तै कामना सेवा विकास बैंक, शिखर इन्स्योरेन्सका लगानीकर्ताले पनि ४ प्रतिशतले सेयर हिस्सा गुमाएका छन्।
उच्च अंकले घटेको नेप्सेमा जीवन विकास लघुवित्त १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ। त्यसैगरी कारोबार हुने कम्पनीमा आइसिएफसी कम्पनीको सेयरमा सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ। माउन्टेन इनर्जी, दिव्यश्वरी हाइड्रोपावर, साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सो दिन नाफा आर्जन गर्न सफल भएका छन्।
सो दिन नेप्सेसँगै कारोबार रकमले पनि साथ दिन सकेको छैन। लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहँदा कारोबार रकममा समेत गिरावट आएको हो। बुधबार धितोपत्र र ऋणपत्र गरी दुई सय २७ कम्पनीको दुई करोड कित्ता सेयर किनेबेच हुँदा १२ अर्ब नाै करोड २१ लाख रुपैयाँकाे काराेबार हुन पुगेको छ।
सो दिन सबैभन्दा सेयर खरिद–बिक्री हुने कम्पनीमा अरुण काबेली पावर रहेको छ। कम्पनीको सो दिन ४८ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी दोस्रो कारोबार हुने कम्पनीमा रिडी हाइड्रो पावर डेभलपमेन्ट रहेको छ। कम्पनीको सो दिन ४८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ।
त्यसैगरी अरुण भ्याली हाइड्रो पावर कम्पनीको ४६ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ। त्यसैगरी कारोबार हुने कम्पनीमा नेसनल हाइड्रोपावर कम्पनीको ३५ करोड रुपैयाँको काराबोर हुँदा आइसिएफसी फाइनान्सको ३५ करोड रुपैयाँको कारोबार हुन पुगेको छ।