देश/परदेश
ह्युमन राइट्स वाचका अनुसार युगान्डामा इसाई धार्मिक राज्य बनाउने उद्देश्यले खोलिएको लर्ड्स रेसिस्टेन्स आर्मी (एलआरए) विद्रोही समूहले १९९० देखि २००० सम्म दसौँ हजारको अपहरण र हत्या गरेको थियो । यी गतिविधिका कारण संस्थापक जोसेफ कोनी र अन्य चार वरिष्ठ नेतालाई युद्ध एवं मानवताविरुद्धको अपराध गरेका कारण पक्राउ पुर्जी जारी गरिएको थियो । यो समूह आफूलाई ईश्वरको मार्गमा हिँडिरहेको इसाई सेना दाबी गथ्र्यो ।
विडम्बना ! मुसलमानमा यस्तै परिस्थिति आउँदा एलआरएको जस्तो खण्डन गर्ने ठाउँ पनि राखिँदैन । अफगानिस्तानमा तालिबान कब्जापछिका टिप्पणीलाई उदाहरणका रूपमा लिन सकिन्छ । अफगान महिलाको तालिबान लडाकुसँग जबर्जस्ती विवाह, रोजगार एवं विद्यालय छाड्न बाध्य बनाइएका तथा सार्वजनिक रूपमा कोर्रा बर्साएर यातना दिइएका समाचार सतहमा आएका छन् । पीडित महिलाका लागि उद्धार कार्यक्रम वा तालिबानमा सुधार ल्याउन राजनीतिक दबाब दिनुको सट्टा युरोप र अमेरिकाका दक्षिणपन्थी नेता युद्धले तहसनहस भएको यस मुलुकलाई मुसलमान एवं आप्रवासीविरुद्ध द्वेषको राजनीति गर्ने मेलो बनाइरहेका छन् ।
पश्चिमा मुलुकका हामी मुसलमान नागरिक आफ्नो समुदाय एवं आस्थाको प्रतिरक्षा गर्न बाध्य छौँ । हामीबाट तालिबानको निन्दा र आफू यसबाट अलग हौँ भन्ने पुष्टिको अपेक्षा गरिन्छ भने क्राइस्टका नाममा युद्ध अपराध गर्दा कुनै इसाईले चाहिँ त्यो गर्नुपर्दैन ? तालिबानले महिलाप्रति गर्ने व्यवहार इस्लामले सिकाउने शिक्षाको ठीक विपरीत छ ।
इस्लामले ईश्वरसँग जोडिन खोज्ने महिलालाई आध्यात्मिक महत्वाकांक्षाका लागि कुनै मध्यस्थकर्ता नचाहिने बताउँछ । सातौँ शताब्दीको अरबमा इस्लामको प्रादुर्भावसँगै वस्तु एवं सम्पत्तिसरह व्यवहार गरिने महिलालाई एक स्वतन्त्र व्यक्ति, जसको आर्थिक निर्णय र स्वामित्वमा केवल महिलाको आफ्नै निर्णय हुने अवस्था बन्यो । विवाह गर्ने वा पारपाचुके गर्ने निर्णय पनि महिलामै निहित बन्यो ।
पहिलो पुस्ताका श्रद्धालुदेखि हालसम्मका महिलाले चिकित्सकदेखि लडाकुलगायत सबै पेसा अपनाएका छन् । उदाहरण, रुफाइदा अल–अस्लामिया पैगम्बरले मान्यता दिएका महिला शल्यचिकित्सक थिइन् । उनले अन्य महिलालाई चिकित्सकीय तालिम दिएकी थिइन् र समुदायकै पहिलो अस्थायी अस्पताल निर्माण गरेकी थिइन् । ‘पैगम्बरको कवच’ भनेर चिनिने नुसैबा बिन्त काबले सबै पुरुष योद्धा युद्धमैदानबाट भाग्दा पैगम्बरको रक्षा गरेकी थिइन् ।
इस्लामिक शिक्षाले पुरुष एवं महिलालाई ज्ञानको खोजीमा उत्तिकै महत्व दिन्छ, तर के लडाकु समूह तालिबानले यसलाई स्विकार्छ ?
इस्लामिक शिक्षाले पुरुष एवं महिलालाई ज्ञानको खोजीमा उत्तिकै महत्व दिन्छ । मोरोक्कोको फेजमा सञ्चालनमा रहेको हजार वर्षभन्दा पुरानो विश्वकै पहिलो विश्वविद्यालय अल करविनका संस्थापक फतिमा अल फिहिरी थिइन् । फतिमा र उनकी बहिनी मरियम उच्च शिक्षा पाएका श्रद्धालु थिए । पिताको निधनपछि आर्जित पैतृक सम्पत्तिलाई दुवै बहिनीले उच्च शिक्षाको विकासमा खर्च गरेका थिए । स्मरण रहोस्, मुसलमान महिलाले समकक्षी युरोपेली महिलाभन्दा शताब्दीयौँ पहिलेदेखि पैतृक सम्पत्ति आर्जन गरेका थिए ।
अल फिहिरी अपवाद होइनन् । इस्लामिक शिक्षा अर्थात् हदिथका महिला विद्वान्बारे मुहद्दिथात ज्ञानकोश लेखेका प्राध्यापक मोहम्मद अक्रम नद्वीका अनुसार यस्ता विद्वान् करिब नौ हजार छन् । थोरै विद्वान् होलान् भन्ने अनुमान गरेका नद्वीले आफ्नो ज्ञानकोशलाई ४० भागमा लेख्नुप¥यो । उनको शोधले थप हजारौँ महिला हदिथ बौद्धिक हुन सक्ने औँल्याएको छ । यसको अर्थ प्रस्ट छ– इस्लामिक शिक्षामा महिला केवल विद्यार्थी मात्रै होइनन्, उपदेशक पनि थिए । हदिथबाहेक कानुन (फिख), तफसिर (शास्त्रको व्याख्या) र अन्य विज्ञानमा महिलाको संलग्नता उल्लेख्य छ ।
यद्यपि मुसलमान महिलाप्रतिको आमधारणा भने फरक छ । यही आमधारणाले तालिबानको महिलाप्रति हुने व्यवहारलाई धर्मसम्मत मानिन्छ, न कि विकृति । पश्चिमले जहिल्यै उत्पीडित मुसलमान महिलाको छवि देखाएर संरक्षणवादी भई इस्लामिक क्षेत्रहरूमा पश्चिमा साम्राज्य एवं कब्जालाई पुष्टि गर्दै आए । यस सन्दर्भमा मिडिया पूर्वाग्रह पनि उल्लेखनीय छ । स्ट्यानफोर्डकी डा. रोसेल टर्मनको नेतृत्वमा भएको अध्ययनले ३५ वर्षदेखि न्युयोर्क टाइम्स र वासिंगटन पोस्टका रिपोर्टिङमा मुसलमान समाजमा हुने गरेको महिला अधिकार हननलाई मात्रै समाचार बनाउने तर अन्य समुदायमा महिलाको अधिकार सम्मानित भएको समाचार प्रसारण गर्ने प्रवृत्ति देखाएको छ । मुसलमान महिला अन्य समुदायका महिलाझैँ पछाडि परे पनि उनीहरू मुसलमान भएकै कारण बढी पीडित भएको देखाइन्छ ।
हामी सूचनाको आलोचनात्मक उपभोक्ता बन्नुपर्छ र दोगलापन एवं पूर्वाग्रही समाचारमाथि प्रश्न गरेर सैन्य समूहका गतिविधिलाई मुसलमानका गतिविधि भनेर चिनाउने कुचेष्टालाई निस्तेज गर्नैपर्छ । यही आलोचनात्मक दृष्टिकोणबाट मात्रै हामी अफगान जनतासँग समानुभूति एवं ऐक्यबद्धता व्यक्त गर्न सक्छौँ ।
अलजजिराबाट (मोगाहेद इन्स्टिच्युट अफ सोसियल पोलिसी एन्ड अन्डरस्ट्यान्डिङकी शोध निर्देशक हुन्)