मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ८ मंगलबार
  • Wednesday, 18 December, 2024
२o७८ भदौ ८ मंगलबार o६:२८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लागुऔषधमा पत्रकार फसाउने दुई प्रहरी निलम्बित, पक्राउ परेका पत्रकार मुजिबुल्लाह रिहा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ८ मंगलबार o६:२८:oo

एसपी र डिएसपीकै योजनामा फसाइएको भन्दै पत्रकारहरूबाट जाँचको माग

लागुऔषध प्रयोग गरी पत्रकारलाई सुनियोजित तवरले फसाउन खोज्ने दुई प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यलय रौतहटमा कार्यरत असइ उदय यादव र प्रहरी जवान मनोज साह निलम्बनमा परेका हुन् । 

असइ यादव र प्रहरी जवान जिप्रका रौतहटका घुमुवा हुन् । उनीहरूको प्रत्यक्ष संलग्नतामा पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध लुकाई पत्रकारलाई पक्राउ गरिएको थियो । यसका लागि उनीहरूले स्थानीय युवा धीरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोटरसाइकलमा ‘नाइट्राभेट’ नामक लागुऔषध राख्न लगाएका थिए । प्रहरीले घटनामा संलग्न धीरज र जितेशकुमारलाई पनि पक्राउ गरेको छ । उनीहरूविरुद्ध अनुसन्धानका लागि ६ दिनको म्यादसमेत थप भएको छ । 

प्रदेश २ को प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उमेश रञ्जितकारले घटनामा संलग्न दुई प्रहरीमाथि पनि अनुसन्धान गर्नुपर्ने भएकाले निलम्बन गरिएको बताए । ‘लागुऔषधसहित पत्रकार पक्राउ परेको घटनामा हामीले अनुसन्धान गर्‍याैँ । यही क्रममा सिसिटिभी फुटेजको अध्ययन पनि भयो । फुटेजमा दुई प्रहरी पनि सहभागी भएको देखिएपछि दुवैलाई निलम्बन गरेका छौँ, अब निष्पक्ष छानबिन हुन्छ । दोषीमाथि कारबाही हुन्छ,’ उनले भने ।

असइ उदय र प्रहरी जवान मनोजको निर्देशनमा धीरज र जितेशकुमारले ३२ साउनमा स्थानीय होटेलअगाडि पार्क गरी राखेको मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखेका थिए । मोजिबुल्लाह भने होटेलभित्र खाजा खान छिरेका थिए । लागुऔषध राखेलगत्तै उनीहरूले नै प्रहरीलाई खबर गरेका थिए । घटनाको पाँच दिनपछि होटेलको सिसिटिभी फुटेज सार्वजनिक भएपछि मात्र प्रहरीकै मिलेमतोमा मोजिबुल्लाहलाई फसाइएको तथ्य सार्वजनिक भएको थियो । 

पत्रकार मुजिबुल्लाह रिहा 
चौतर्फी दबाबपछि लागुऔषध कारोबारको अभियोगमा पक्राउ परेका पत्रकार मोजिबुल्लाहलाई प्रहरीले छाडेको छ । तीन दिनअघि रौतहट प्रहरीले लागुऔषध कारोबार गरेको अभियोगमा उनलाई पक्राउ गरेको थियो । उनी निर्दोष भएको प्रमाणित भएपछि प्रहरीले छाडेको हो । सोमबार जिप्रका रौतहटले गरेको पत्रकार सम्मेलनमा जिप्रका प्रमुख एसपी सिद्धिविक्रम शाहले पत्रकार मोजिबुल्लाहलाई छाडिएको जानकारी दिए । उनले निर्दोष पत्रकार पक्राउ परेको भन्दै माफी पनि मागेका थिए । 

पत्रकार सम्मेलनमा एसपी शाहले सञ्जय सहनी नाम गरेका अर्का पत्रकारको मिलेमतोमा घुमुवा प्रहरीको संलग्नतामा पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखेको पाइएको दाबी गरे ।