म्याग्दीको बेनी नगरपालिका– ३ स्थित दूधेखोलामा आएको बाढीले एक घर बगाएको छ। मध्यराति अविरल वर्षासँगै ठाडो खोलामा आएको बाढीले स्थानीय दीपा पुनको घर बगाउँदा करिब १७ लाखबराबरको क्षति भएको छ।
बाढीले घरमा रहेका लत्ताकपडा, खाद्यान्न र पशु चौपायासमेत बगाएको छ। बाढीले बगाउँदा स्थानीय नारायण पुनको एउटा दुहुनो भैँसी पनि मरेको छ। भकिम्लीको लहरेनी र चिनाखेतको सिमानामा पहिरो खसेर दूधेखोलामा मिसिएपछि बाढी बस्तीतर्फ सोझिएको बेनी नगरपालिका– ३ का वडासदस्य गेमबहादुर घर्ती मगरले बताए। उनका अनुसार दीपा पुनको घर पूर्ण क्षति भएको छ भने स्थानीय नारायण पुन र दिल्लीराम थापाको घर उच्च जोखिममा रहेको छ। बाढीले सडक, विद्युत्, खानेपानी, सिँचाइलगायतका पूर्वाधारमा समेत क्षति पुर्याएको छ।
दूधेखोलाको तल्लो र उपल्लोे गाउँमा ४५ घर परिवारको बसोवास रहेको छ। दूधेखोला र म्याग्दी नदीको कटानका कारण ३० घरपरिवार उच्च जोखिममा रहेको वडासदस्य घर्तीमगरले बताए। बाढीका कारण मंगला गाउँपालिका र बेनी नगरपालिकाका चारवटा वडालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–बगरफाँट–सुर्केमेला–बरंजा सडक अवरुद्ध भएको छ ।
सुर्केमेलाबाट बेनी ढुवानी हुने दूध र तरकारी पनि ढुवानी हुन सकेको छैन। बाढीले म्याग्दी नदी बग्ने ठाउँलाई साँघुरो बनाइदिएको छ। स्थानीयवासीहरूले जोखिमयुक्त घरका सामान सुरक्षित घरमा सारेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले घटनास्थल पुगेर क्षतिको विवरण संकलन गरिरहेको छ।