मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ७ सोमबार
  • Wednesday, 18 December, 2024
२o७८ भदौ ७ सोमबार ११:१o:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

वामपन्थको रोइलो

एमाले विभाजनले पुँजीवादी विश्लेषक खुसी र सन्तुष्ट देखिन्छन् भने वाम–विश्लेषक खिन्न र दुःखी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ७ सोमबार ११:१o:oo

एमालेमा ओलीतन्त्रको निरन्तर पेलाइपछि अन्ततः माधव नेपालले नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् । त्यसरी नै घनश्याम शर्मा भुसाल र भीम रावललगायत एकताका पहलकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीले एकताको दशबुँदे प्रस्ताव मानेनन् भने पार्टीमा अर्को विभाजनको चेतावनी दिइरहेका छन् । उता ओली गुटका सिपहसालारहरूको झर्के बोली सुन्दा एमाले नेतृत्वले एकता प्रस्ताव मान्ने सम्भावना कमै देखिन्छ । यस्तोमा एमालेमा अर्को फुटको सम्भावना बढ्दै गएको देखिन्छ । 

नेपालमा वाम आन्दोलनमा घटना–परिघटना विगत साढे दुई वर्षमा कुनै तीव्रगतिको चलचित्रका दृश्यजस्तै घटित हुँदै आएका छन् । माओवादी केन्द्र र एमालेले साझा मोर्चा बनाएर निर्वाचनमा दुईतिहाइनिकट सिट जितेर सरकार बनाए । लगत्तै दुवैले पार्टी एकता गरी नेकपा बनाए । ओली दुईतिहाइभन्दा बढी मतको सरकारका प्रधानमन्त्री भए । पार्टी एकतापछि ओली सरकार र पार्टी दुवैमा एकल वर्चस्व चाहन्थे, तर माओवादी केन्द्रतिरका प्रचण्ड र एमाले घटकका नेपाल–खनालहरू सत्ता र पार्टी दुवैमा हिस्सा चाहन्थे । फलस्वरूप नेकपा विभाजित भयो । माओवादी केन्द्र र एमाले बिउँतिए । अहिले फेरि एमाले एकीकृत समाजवादीमा विभाजित भएको छ भने अर्को विभाजनको सम्भावना बाँकी नै छ । 

अहिलेको विभाजनलाई राजनीतिक विश्लेषकले नेपालमा वाम आन्दोलन कमजोर हुँदै जाने प्रक्रियाका रूपमा व्याख्या गरिरहेका छन् । पुँजीवादी विश्लेषकमा एकखालको खुसी र सन्तोष देखिन्छ भने वाम–विश्लेषक खिन्न र दुःखी मुद्रामा देखिन्छन् । प्रचण्ड, ओली, नेपाल र उनका नेता र कार्यकर्ताले एक–अर्कालाई वाम आन्दोलन कमजोर पारेको आरोप लगाइरहेका छन् । समग्रमा अहिले नेपाली वाम आन्दोलनमा एकखालको रोइलो र गालीगलोज छ । सबैले आफूलाई वाम आन्दोलनको एक मात्र असली उत्तराधिकारी र अरूलाई वाम आन्दोलनका विघटनकर्ता भएको आरोप लगाइरहेका छन् । वाम आन्दोलनको रोचक रोइलो के छ भने आन्दोलन खस्किँदै गएको दाबी सबैको छ । तैपनि, सबै जुट्नमा भन्दा फुट्नमै बल लगाइरहेका देखिन्छन् । 

वैचारिक रूपमा ‘वाम’ आफैँमा एउटा भ्रमपूर्ण शब्द छ, जसले एकातिर कम्युनिस्ट गरिब, मजदुर र किसानको सर्वहारावादी अगुवाको भ्रम दिन्छ र अर्कातिर मध्यमवर्गलाई आकर्षित गर्नमा आफ्नो सांगठनिक ऊर्जा खर्च गर्छ । वस्तुतः वैचारिकताका दृष्टिले ‘वाम’ कम्युनिस्ट आन्दोलनभित्र यस्तो लचिलो अवधारणा हो, जसले माक्र्सवादी समाजवादको समानान्तर लोकतन्त्रलाई खडा गर्छ र पार्टीको दृढ वैचारिक र सांगठनिक अनुशासनलाई प्रभावित गर्छ । त्यसैले चिन्ता वाम आन्दोलन होइन, कम्युनिस्ट आन्दोलनको गर्नुपर्ने हो, किनभने मजदुर र किसानलगायत श्रमजीवी वर्ग तथा उत्पीडित समुदायको मुक्तिको प्रस्ट सैद्धान्तिक प्रतिबद्धता कम्युनिस्ट विचारधाराले मात्र व्यक्त गर्छ ।

मार्क्सवादी धारणाअनुसार वर्गविभेदित तथा पुँजीवादी व्यवस्थामा प्रतिस्पर्धा गर्ने दलले वास्तविक लोकतान्त्रिक प्रक्रियाको प्रतिनिधित्व गर्दैनन्, बरु सर्वहारा र बुर्जुवाका आपसी विरोधी हितको प्रतिनिधित्व गर्छन् । त्यसैले माक्र्सवादी विचारधारामा श्रमजीवी र उत्पीडित वर्गको हितका निम्ति पुँजीवादी व्यवस्थालाई विस्थापित गरी समाजवादी व्यवस्थाले मात्र साम्यवादको दिशामा समाजलाई डोर्‍याउन सक्छ । ‘ह्वाट इज टु बी डन’ (के गर्ने) नामक आफ्नो पुस्तकमा लेनिनले यस उद्देश्यपूर्तिका निम्ति कम्युनिस्ट पार्टीलाई सर्वहारा र उत्पीडित समुदायको अगुवा दस्ता भनेका छन् । लेनिनको विचारमा कम्युनिस्ट पार्टी माक्र्सवादी लक्ष्य र विधिबारे परिचित सर्वहारा चेतनाबाट लेस नेतृत्व र सक्रिय राजनीतिक कार्यकर्ताको सुव्यवस्थित समूह हो । यसले संघर्ष र राज्यको उपयोग गर्दै समाजको सर्वहारावादी आमूल परिवर्तनको सही दिशामा पार्टीलाई लैजान्छ । पुँजीवादी शोषणको प्रभाव कम गर्दै क्रान्तिकारी विचार प्रसार गर्छ र क्रान्तिको सफलतापश्चात सत्तामा हाबी भएपछि श्रमजीवी वर्गको हितलाई पूर्ण सुरक्षा दिन्छ । 

‘वाम’ यसै श्रमजीवी र पुँजीवादी राजनीतिक विचारबीचको मध्यपन्थी धारणा हो, जो संघर्षको जटिलताबाट बचेर सत्ताको उपभोग गर्दै आफूलाई श्रमजीवी वर्गको प्रतिनिधि पनि देखाउन चाहन्छ । यसले कम्युनिस्ट विचार र संगठनमा वैचारिक वैकल्पिकता तथा अवसरवादी सम्भावना जन्माउनु स्वाभाविक छ । लेनिनले कम्युनिस्ट पार्टीका निम्ति जनवादी केन्द्रीयताको अवधारणा सुझाएका थिए । यसले कम्युनिस्ट पार्टीलाई श्रमजीवी वर्ग र उत्पीडित जनसमुदायमा आधारित कार्यकर्ताबाट उपल्लो नेतृत्वको चयन पद्धति तय गथ्र्यो । पार्टीलाई एउटा निश्चित उद्देश्यमा अनुशासित गथ्र्यो ।

नेपाली वाम आन्दोलनमा एकखालको रोइलो छ । सबैले आफूलाई वाम आन्दोलनको एक मात्र असली उत्तराधिकारी र अरूलाई वाम आन्दोलनका विघटनकर्ता बताइरहेका छन् ।

आज आफूलाई मार्क्सवादी र लेनिनवादी भन्ने पार्टीहरू लेनिनको यस संगठनात्मक कसीमा कतै ठहर्दैनन् । उनीहरूको वैचारिक त्रासदी के छ भने पुँजीपति विचारक जस्तै उनीहरू पनि अब माक्र्सवादको सर्वहारा अधिनायकत्वलाई निरपेक्ष अधिनायकत्व बुझ्न थालेका छन् र लेनिनको जनवादी केन्द्रीयतालाई बुर्जुवा लोकतान्त्रिक प्रतिस्पर्धाको रूप दिँदै छन् । नेपालका राजनीतिक परिवर्तनमा कम्युनिस्ट मुख्य कारक हुन् । तर, गणतन्त्रपछि संसदीय राजनीतिमा शीर्षमा पुग्न सफल भएका कम्युनिस्ट पार्टीहरू जसरी आफ्नो वर्गीय हैसियत, विचार र चरित्रमा परिवर्तित भएका छन्, संघर्षभन्दा पनि सत्ता प्रतिस्पर्धामा रमाएका छन्, त्यसले उनीहरूप्रति श्रमजीवी वर्गको आकर्षण घटेको छ । 

एक्काइसौँ शताब्दीमा दलहरूको चरित्रमा व्यापक परिवर्तन भएको छ । पार्टी समान वर्गीय हितको राजनीतिक समूह हो भन्ने मार्क्सवादी धारणाविपरीत हालका राजनीतिक दलहरू विविध समुदायको समूह जस्ता भएका छन् । अब राजनीतिक विचार होइन, धर्म, संस्कृति, क्षेत्र र जातिगत आधारमा पनि दलहरू गठित भइरहेका छन् । 

बीसौँ शताब्दीको अन्त्यतिर दलहरूको एउटा रूपलाई ‘क्याच अल’ भन्न थालियो । सत्ताको आकर्षणमा क्याडर बेस र मास बेस पार्टी दुवैले आफूलाई क्याच अल पार्टीका रूपमा विकसित गर्न थाले । निर्वाचन आश्रित यी पार्टीले समाजको कुनै विशेष वर्गभन्दा पनि समाजको सबै हिस्साको मत प्राप्त गर्ने अपेक्षा राख्न थाले । यस प्रकारका दलले एकैसाथ व्यापारीलाई अनुकूल व्यापारिक स्थिति, उपभोक्तालाई सस्तामा उपभोग्य सामग्री, पुँजीपतिलाई बढी नाफाको अवसर, श्रमिकलाई सामाजिक सुरक्षा र उच्च वेतन, किसानलाई राम्रो मूल्य र समर्थन, वरिष्ठ नागरिकलाई सामाजिक सुरक्षा, गुणस्तरीय शिक्षा र युवालाई पर्याप्त जागिरको वाचा गर्छन् ।

त्यस्तै निर्वाचनमा यस्तो उमेदवार चयन गरिन्छ, जसले जसरी पनि जित्न सकोस् । निर्वाचनमा बढी खर्च गर्न नसक्नेहरू क्याच अल पार्टीका निम्ति अयोग्य हुने गर्छन् । यसकारण स्वाभाविक रूपमा पार्टीभित्रका धनाढ्यले धनको बलमा नेता र कार्यकर्ता खरिद–बिक्री गरी आफ्नो प्रभुत्व बढाउँदै लैजान्छन् । यस्तोमा पार्टी शीर्षमा विविध रूपमा देखिने वर्चस्वको अन्तर्संघर्ष पार्टीभित्रका पुँजीवादी स्वार्थको अन्तर्संघर्ष हुने गर्छ । अहिलेको माओवादी केन्द्र र एमालेलगायत कम्युनिस्ट पार्टीभित्रका अन्तर्संघर्षमा पुँजीवादी स्वार्थको संघर्ष सहजै ठम्याउन सकिन्छ ।

उमेश श्रेष्ठ, विनोद चौधरी, मोतीलाल दुगड र दिपक मनांगेजस्ता धनपति र आपराधिक इतिहास भएकाहरूको कम्युनिस्ट पार्टीभित्र बढ्दो प्रभावले वाम र माक्र्सवादी भनाउँदा पार्टीको वैचारिक निष्ठा प्रस्ट हुन्छ । कम्युनिस्ट पार्टीभित्रको फुट पनि यस्तै पुँजीवादी अवसरमाथि वर्चस्व स्थापित गरेर सत्ताशीर्षमा कब्जा गर्ने दाउ नै हो । त्यसैले वाम आन्दोलन कमजोर हुँदै गएको रोइलो नै फाल्तु हो । यस्तो रोइलो गर्ने इमानदार विश्लेषकसँग भने सहानुभूति राख्न सकिन्छ । किनभने, उनीहरू कम्युनिस्ट पार्टीमा उत्पीडित वर्ग र समुदायको हित समग्रमा सर्वहारावादी दृष्टिकोण कमजोर हुँदै गएको ठान्छन् । तर, सारमा भने यो वर्गीय चेतनाबाट विचलनको प्रश्न नै हो । वाम आन्दोलन कमजोर भयो भन्ने रोइलोमा श्रमजीवी वर्ग सामेल हुनु व्यर्थ हो ।