अरू दिन बिहान ६ बजे उठ्ने राजन्ती धामी १५ साउनमा बिहान ५ बजे नै उठिसकेकी थिइन् । श्रीमान् जयसिंह धामी बिहानै खलंगा हुँदै काठमाडौं जाने तयारीमा थिए । खाजा खुवाइवरी साढे सात बजेतिर श्रीमान्लाई बिदा गरिन् राजन्तीले ।
बिदाइका हात हल्लाउँदै जयसिंहले भनेका थिए, ‘हप्ता दिनभित्रै फर्किएर आउँछु, सकेसम्म अझै चाँडै आउँला ।’ श्रीमान्का यिनै शब्दले राजन्तीलाई धेरै बिझाउँछ आजभोलि । किनभने घरबाट निस्किएको आधा घन्टा नबित्दै महाकालीको भेलमा हराए जयसिंह ।
भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन फुकालिदिँदा श्रीमान् बेपत्ता भएको खबर सुनेपछि राजन्ती बेहोस भइन् । अहिलेसम्म जयसिंह भेटिएका छैनन् । जीवितै भेट्ने आस मरेपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरिसके । श्रीमान् गुमाउँदाको पीडा छँदै छ, दुई लालाबालाको भविष्यको चिन्ताले थप गलेकी छिन् राजन्ती । किनभने ६ लाख ऋण उनको थाप्लोमा आइपरेको छ ।
‘डेढ वर्ष कतारमा कमाएको पैसाले गाउँमा तीनकोठे पक्की घर बनाउनुभयो । घर अझै व्यवस्थित बनाउन र सन्तानको भविष्यका लागि भनेर दुई वर्षअघि ऋण काढेर दुबई जानुभयो । तर, कोरोना महामारीका कारण सात महिनासम्म काम नपाएपछि फेरि ऋण खोजेर घर फर्किनुपर्यो । त्यतिवेलासम्म सात लाख ऋण पुगेको थियो । गत वैशाख–जेठमा लेकमा संकलन गरेको यार्सागुम्बा र वनलसुन बेचेर कमाएको एक लाखले ऋण ६ लाखमा झारेका थियौँ । बाँकी ऋण तिर्ने उपायको खोजीमा हुनुहुन्थ्यो, तर,’ बोल्दाबोल्दै राजन्तीको गला रोकियो ।
छोरा डेनियल पाँच वर्षका छन् । छोरी मेलिना भर्खर डेढ वर्षकी भइन् । छोराछोरीलाई नयाँ लुगा ल्याइदिने वचन दिएर, श्रीमतीलाई ऋण घटाउने उपायको आश्वासन छाडेर जयसिंह काठमाडौं हिँडेका थिए । गौरापर्वमा नयाँ नाना पाउने आसमा छोराछोरी फुरुंग थिए, राजन्तीलाई ऋणको भारी हलुका होला भन्ने अपेक्षा ।
‘गौरालाई लक्षित गरेर गाउँमा कपडा व्यापार गर्ने योजना बनाउनुभएको थियो । बैंकबाट ऋण निकालेर भए पनि केही कपडा ल्याउँछु, केही नाफा त गर्न सकिएला नि भन्नुभएको थियो,’ श्रीमान्ले सुनाएका योजना राजन्तीले सम्झिइन्, ‘विदेश जानका लागि पनि प्रक्रिया सुरु गरेर आउँछु, दशैँसम्म भिसा आयो भने गएर ऋण चुक्ता गर्छु भन्नुभएको थियो ।’ तर, जयसिंहका योजना र परिवारका सपना क्षणभरमै महाकालीमा घोलिए ।
ऋण, सन्तानको पालनपोषण र उनीहरूको शिक्षा, यो चुनौतीको सामना सजिलो छैन राजन्तीलाई । एसएलसीसम्म उत्तीर्ण गरेकी उनी चाहन्छिन्, सरकारले कुनै रोजगारी दिलाइदिए धेरै राहत हुने थियो । ‘गाउँमा खेतबारी धेरै छैन । कमाउने मान्छे नभएपछि साना छोराछोरी कसरी हुर्काऊँ ? सरकारले कुनै रोजगारीको ग्यारेन्टी गरिदिए केही राहत मिल्ने थियो,’ उनले भनिन् । हाल विभिन्न ठाउँबाट प्राप्त सहयोग रकमले भाइले खाद्यान्न जोहो गरिदिएको राजन्तीले बताइन् ।
जयसिंह बेपत्ता घटना छानबिन गर्न सरकारले गठन गरेको समिति पनि गाउँमा पुगेर फर्किएको छ । समितिका प्रतिनिधिसँग पनि राजन्तीले आफ्ना दुःखका चाङ बिसाइन् । र, जोडदार रूपमा ध्यानाकर्षण गराएकी छिन्, ‘मेरो श्रीमान्को हत्या गर्ने एसएसबीलाई कारबाही होस् । मृतात्माले शान्ति पाउने गरी प्रतिवेदन बनोस् । मलाई यो उमेरमा विधवा बनाउनेलाई त्यत्तिकै नछाडियोस् । बिन्ती छ, न्याय नमरोस् ।’
जयसिंहका बुबा दली भन्छन्– छोराको हत्यारालाई कारबाही भएको सुन्न पाऊँ
कमाइ गर्ने छोरो गुमाएको खबर सुनेपछि दली धामी स्पष्ट सुरमा छैनन् । अनाहकमा छोरामाथि अपराध गर्नेलाई कारबाही गरेको सुन्न प्रतीक्षारत छन् उनी । ‘मेरो प्रार्थना छ– छोराको हत्यारालाई कारबाही भएको सुन्न पाऊँ,’ घरमा कोही नयाँ मान्छेको पाइला पर्नेबित्तिकै दुई हात जोडेर अनुरोध गर्छन् ।
नातिनातिना र बुहारीको भोलिको चिन्ताले उत्तिकै सताएको छ दलीलाई । ‘केटाकेटी सानै छन् । ती लालाबालालाई छाडेर बुहारीले बाहिर के नै काम गर्न सक्छिन् र ! उनीहरूको लेखपढको जिम्मेवारी सरकारले गरिदेओस् । म वृद्धको यो खबर माथिसम्म पु¥याइदिनू,’ उनले भने ।
भारत जाने बाटो बन्द भएपछि व्याँसमा खाद्यान्न अभाव
नेपालतिर सडक तथा बाटो नहुँदा व्याँस गाउँपालिकाका नागरिकले भारतीय भूमि नटेकी खाद्यान्न पाउँदैनन् । भारतीय बजार धार्चुला उनीहरूले खाद्यान्न ल्याउने मुख्य गन्तव्य हो । आफ्नै जिल्ला सदरमुकाम खलंगा जानुपरे पनि भारतीय बाटो प्रयोग गर्नुको विकल्प छैन ।
जयसिंह धामी बेपत्ता घटनाअघिसम्म व्याँस गाउँपालिका– २ दुम्लिङका प्रभात बुढाथोकीको भान्सामा खाद्यान्न पर्याप्त हुन्थ्यो । कहिल्यै खाद्यान्न अभाव खेप्नुपरेको थिएन । तर, उक्त घटनापछि भारतीय बाटो बन्द भएको छ । गाउँका व्यापारीले खाद्यान्न ल्याउन नपाउँदा गाउँका भान्सा रित्तिन थालेका छन् ।
व्याँस– २ का दुम्लिङ, कल्जु, माल, राप्ला, तुसारपानी, सिना, सुनसेरालगायतका बस्तीमा अहिले खाद्यान्न हाहाकार हुन थालेको छ । गाउँले भेला बसेर तत्काल खाद्यान्न उपलब्ध गराइदिन सरकारसँग माग गरेका छन् ।
व्याँस– १ का छाँगरू, टिंकरमा पनि खाद्यान्न अभाव हुन थालेको छ । भारतीय बजारमै निर्भर कालापानीनजिकका यी दुई गाउँमा सरकारले एक वर्षदेखि खाद्यान्न ढुवानी गरेको छैन । गत वैशाखमा घोडा–खच्चडमार्फत पुर्याइएको खाद्यान्नले नै अहिलेसम्म चलेको थियो । केही महिनापछि खाद्यान्न पूरै सकिने भएकाले सरकारले थप व्यवस्था नगरे वा भारतीय बाटो पनि बन्द नै रहे भोकमरी लाग्ने स्थानीय बताउँछन् ।
छाँगरू र टिंकरका भान्सामा चीनमा निर्मित धुवाँरहित ग्यासचुलो छ । तर, चुलो बाल्ने ग्यास भने भारतीय नै हो । चामल र नुन, तेल पनि उतैबाट ल्याउनुपर्छ । यहाँका नागरिकले नेपालबाट केवल नागरिकता मात्रै पाएका छन् ।
छाँगरूका योगेश बोहरा भन्छन्, ‘सीमामा नेपाली छन् भनेर सरकारलाई थाहा छ कि छैन ? एक वर्षदेखि खाद्यान्न पुर्याएको छैन । सीमाको नक्सा जारी गर्दा दिनहुँ हेलिकोप्टरमा घुम्न आउने अधिकारीको कमी थिएन, तर एक वर्षयता व्याँसको आकाशमा हेलिकोप्टर उडेको छैन । जनताले के खाए, सुरक्षाकर्मी के खाँदै छन् भन्ने हेक्का किन नराखेको सरकारले ?’
दुईपटक म्याद थप्दा पनि छानबिन समितिको प्रतिवेदन अझै अनिश्चित
बेपत्ता जयसिंह मात्रै होइन, तुइन पनि भेटिएन : संयोजक गौतम
दार्चुला व्याँस गाउँपालिका– २ मालगाउँका ३३ वर्षीय जयसिंह धामी नेपाल र भारतलाई जोड्ने मालघाटमा रहेको तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका थिए । भारत हुँदै जिल्ला सदरमुकाम खलंगा जान तुइन तर्ने क्रममा पारितर्फ रहेका एसएसबीले तुइन फुकालिदिएको स्थानीयले बताएका छन् । घटना भएको तीन साता बितिसकेको छ ।
तर, घटनाको पर्सिपल्ट सरकारले १७ साउनमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठन गरेको पाँच सदस्यीय छानबिन समितिले अझै प्रतिवेदन तयार गर्न सकेको छैन । पहिलोपटक म्याद थपेर दिइएको १७ दिनमा पनि प्रतिवेदन तयार नभएपछि दोस्रोपटक म्याद थप भएको छ । गत मंगलबार सरकारले अर्को एक साता म्याद थपेको हो ।
‘प्रतिवेदनका विषयमा छलफल भइरहेको छ । लेखनको काम भने गरिएको छैन,’ समिति संयोजक गौतम भन्छन्, ‘जयसिंहको डेथबडी र तुइनसमेत फेला नपर्दा केही ढिलाइ भएको हो ।’
अनुसन्धान, सूचना र तथ्य संकलन जारी रहेको अवस्थामा ठोस विश्लेषणका लागि समय लाग्न सक्ने गौतमले बताए । उनी काठमाडौं फर्किएका छन् भने टोलीका चार सदस्य सुदूरपश्चिममै छन् । छानबिन समितिमा नेपाल प्रहरीका डिआइजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक सिडिओ ज्योत्सना भट्ट जोशी छन् ।
‘हाम्रो टोली अझै फिल्डमै खटिएको छ । स्थानीय प्रहरीको सहयोगमा अहिले पनि मालगाउँलगायत ठाउँमा पुगेर थप विवरण संकलन भइरहेको छ । गम्भीर विषय भएकाले केही समय लाग्न सक्छ, प्रतिवेदन तयार हुनेबित्तिकै जानकारी गराउँला,’ गौतमले भने ।
महाकालीको नेपालपट्टि मालघाटदेखि दत्तुसम्मको क्षेत्रमा ड्रोन क्यामेरा प्रयोग गरेर जयसिंहको खोजी भएको छ । पारिपट्टि उडाउन भने भारतले स्वीकृति दिएन । ‘समितिले जयसिंहको डेथबडी भेट्टाउन सके प्रतिवेदन लेख्न सहज हुने भएकाले २५–३० किलोमिटर क्षेत्रमा ड्रोन क्यामेराबाट खोजी भएको छ,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी मनोहरप्रसाद भट्टले भने ।