विभिन्न ५ सुत्रीय मागसहित विगत ९ दिनदेखि अनशनमा बसेका चुरे अभियन्ताले प्रदेश सरकारसँगको सम्झौतापछि अनशन तोडेका छन् । प्रदेश २ सरकारसँगको ७ बुँदे सम्झौतापछि अनशनमा बसेका अभियन्ताहरु अमन यादव र रानी राय भुमिहारले शुक्रबार साँझ अनशन तोडेका हुन् । प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले उनीहरुलाई जुस पिलाएर अनशन तोडाएका हुन् ।
काठमाडौंमा रहेका मुख्यमन्त्रीले टेलिफोन गरि चुरे अभियन्ताहरुको माग सम्बोधन गर्न प्रदेश सरकार गम्भीर रहेको र उनीहरुसँग आवश्यक सहमति गर्न मन्त्री यादवलाई निर्देशन दिएका थिए ।
चुरे तथा वन जंगलको विषयमा चुरे अभियन्ताहरुले उठाएका विषयलाई प्रदेश सरकारले गम्भिरतापुर्वक लिने, चुरे अभियन्ताको ५ बुँदे मागको विषयमा ७ दिन भित्र उद्योग पर्यटन मन्त्रालयका सचिवसहितका ७ सदस्य छानबिन समिति गठन गर्ने र उक्त समितिले २१ दिनभित्र सो विषयमा तयार भएको प्रतिवेदनलाई सुझाव अनुसार प्रदेश सरकारले कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।
त्यसैगरि, पक्राउ परेका अभियन्ताहरुलाई छोडाउन प्रदेश सरकारले पहल गर्ने तथा मारुती सिनेन्टले वन जंगलको जग्गा कब्जा गरेको सम्बन्धमा प्रदेश सरकारले स्थानीय निकाय, मालपोत, डिभिजन वन तथा स्थानीय प्रशासनसँग समन्वय गरेर नाप नक्सा गरि कब्जा गरिएको जग्गा फिर्ता गराउने लगायतका सहमति भएको सामाजिक अभियन्ता तथा चुरे तथा वन जंगल संरक्षण समितिका सल्लाहकार सरोज राय यादवले बताए ।
यता, अनशन तोडाउँदै मन्त्री यादवले चुरे तथा वन जंगल मधेशको लाइफलाइन भएकाले त्यसको संरक्षणमा प्रदेश सरकार गम्भीर रहेको बताए । चुरे अभियन्ताको मागलाई पुरा गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको भन्दै चुरे तथा वन जंगलको संरक्षणको प्रभावकारी रुपमा संरक्षण गर्न प्रदेश सरकारले आवश्यक तयारी गरिरहेको बताए ।