जियो मामी (मुम्बई एकेडेमी अफ मुविङ इमेज)को अध्यक्षमा बलिउड अभिनेत्री प्रियंका चोपडा मनोनीत भएकी छिन्। मामी बोर्डका ट्रस्टिजहरूले चोपडालाई मनोनीत गरेका हुन्।
मंगलबार चोपडाले इन्स्टाग्राममार्फत मनोनीत भएकोमा खुसी व्यक्त गरेकी छिन्। बलिउडको अग्रणी फिल्म फेस्टिभलको अध्यक्षको जिम्मेवारी पाउँदा आफूले गर्व महसुस गरेको भन्दै उनले यसपटकको फिल्म फेस्टिभल पृथक हुने दाबी गरेकी छिन्।
हरेक वर्ष एक हप्ता चल्ने फिल्म फेस्टिभल यसपटक ६ महिना चल्नेछ। सन् २०२१ अक्टोबरदेखि सन् २०२२ मार्चसम्म चल्ने बताइएको छ। यसअघि सन् २०१९ मा दीपिका पादुकोणलाई मनोनीत गरिएको थियो । उनले कार्य व्यस्ताता देखाउँदै गत अप्रिलमा राजीनामा दिएपछि चोपडालाई मनोनीत गरिएको हो।