१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
मृतक सञ्जीव सार्की
टेकराज थामी काठमाडाैं
२o८१ जेठ ८ मंगलबार o९:oo:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

ज्यान मार्ने धम्की आउन थालेपछि पीडित दलित परिवार गाउँबाटै विस्थापित

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o९:oo:oo

दोलखा गैरागाउँका सञ्जीव सार्की मृत्यु प्रकरण 

कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दाका प्रतिवादीलाई धरौटीमा छाड्ने अदालतको आदेशपछि पीडित परिवारले गाउँ छाडेको छ । पीडक परिवारले मानसिक यातनासँगै ज्यान मार्नेसम्मको धम्की दिन थालेको भन्दै पीडित दोलखाको तामाकोशी गाउँपालिका– २ गैरागाउँका विनिता सार्कीको परिवार गाउँबाटै विस्थापित भएको हो । 

गाउँमा बस्न असुरक्षित भएपछि विनिता २३ वर्षीय बुहारी सपना सार्कीसहित काठमाडौंको बालाजु बस्दै आएकी छिन् । उनका श्रीमान् छत्रबहादुर सार्की भने गाउँ छाडेर ससुराली बस्छन् । गत १६ मंसिरमा बन्दुकको गोली लागेर विनिताका छोरा २१ वर्षीय सञ्जीव सार्कीको मृत्यु भएको थियो । घटनामा जोडिएका तामाकोशी गाउँपालिका– ३ गैराघरटोलका २२ वर्षीय माधव पोखरेल, धोक्रेजारी गाउँका ४५ वर्षीय सञ्जीव पोखरेल, तामाकोशी गाउँपालिका– २ अमरटोलका २५ वर्षीय अविदित कार्की र तामाकोशी गाउँपालिका– ३ ढुंगेबारीका २० वर्षीय रचेश मुग्रातीलाई जिल्ला अदालत दोलखाले गत १२ पुसमा पुर्पक्षका लागि कारागार चलान गरेको थियो । तर, उच्च अदालत पाटनले गत २५ माघमा धरौटीमा छाड्ने आदेश सुनायो । सोही दिनदेखि विनिताको परिवारले गाउँ छाडेको हो । ‘गोली प्रहारबाट छोराको मृत्यु भयो । जिल्ला अदालतले घटनामा संलग्नलाई पुर्पक्षका लागि जेल पठाएको थियो । तर, उच्चले जिल्लाको आदेश उल्ट्याएर धरौटीमा छाड्यो । हामी गाउँमा असुरक्षित भयौँ । ज्यान मार्नेसम्मको धम्की आयो । अभियुक्त र उनका परिवारबाट सामाजिक दुर्व्यवहार भए । गाउँमा बस्ने नसकेपछि गाउँ छाड्यौँ,’ मृतक सञ्जीवकी आमा विनिताले भनिन् ।

विनिताका अनुसार कारागारबाट छुटेपछि प्रतिवादीका परिवारले गाउँमा भोजभतेर लगाएका थिए । खुसियाली मनाउँदै नाचगान गरे । सोही दिनदेखि प्रतिवादी र उनीहरूको परिवारका सदस्यले पीडित परिवारलाई मनोवैज्ञानिक त्रास दिन सुरु गरेका थिए । यसका लागि उनीहरू पीडितको घरनजिक जान्थे । घरको चियोचर्चो गर्थे । स्थानीयसँग पीडित परिवारबारे सोधीखोजी गर्थे । ‘तिमीहरूले केही गर्न सक्दैनौँ’ भन्दै स्थानीयमार्फत मनोवैज्ञानिक धम्की दिने गरेको सार्की परिवारको भनाइ छ । गतिविधि नियमित हुन थालेपछि सार्की परिवार गाउँ छाड्ने निष्कर्षमा पुगेको हो ।

‘गोली प्रहारबाट श्रीमान्को मृत्यु भयो । पुर्पक्षका लागि जेलमा रहेकाहरू धरौटीमा छुटे । गाउँ आएर उनीहरूले भोजभतेर मात्रै गरेनन्, हामीलाई अनेक खालका ‘टर्चर’ दिए । घरमा आएर चियोचर्चो गर्न थाले । स्थानीयमार्फत ज्यान मार्ने धम्की दिए । हामी आफ्नै घरमा असुरक्षित भयौँ । त्यसपछि गाउँ छाडेर काठमाडौं आयौँ,’ मृतक सञ्जीवकी श्रीमती सपनाले भनिन् ।

सपनाका अनुसार प्रतिवादीहरूको मानसिक ‘टर्चर’कै कारण ससुरा छत्रबहादुर ‘डिप्रेसन’मा पुगेका छन् । मनोत्रासका कारण उनी काठमाडौं आउन सकेका छैनन् । घरमा बस्न असुरक्षित भएपछि उनी स्थानीय बजारछेउमा बनाइएको छाप्रोमा बस्दै आएका थिए । तर, प्रतिवादीहरूको ‘टर्चर’ त्यहाँ पनि रोकिएन । अहिले उनी ससुरालीको शरणमा छन् । ‘घरमा बस्न सक्ने अवस्था भएन । बुबालाई काठमाडौं जाउँ भन्यौँ, तर मान्नुभएन । गाउँकै सानो सहरछेउमा छाप्रो हाल्नुभयो । त्यहीँ बस्न थाल्नुभयो । तर, प्रतिवादीको ‘टर्चर’ त्यहाँ पनि रोकिएन । अहिले उहाँ ससुराली गएर बस्नुभएको छ । उहाँ अहिले ‘डिप्रेसन’मा पुग्नुभएको छ,’ सपनाले भनिन् ।

उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधान र कृष्णराम कोइरालाको संयुक्त इजलासले कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका प्रतिवादी माधव, सञ्जीव, अविदित र रचेशलाई धरौटीमा छाड्ने आदेश गरेको थियो । उच्चले सञ्जीवविरुद्ध पाँच लाख र अन्य तीन प्रतिवादीविरुद्ध जनही तीन–तीन लाख रुपैयाँ धरौटी माग गरेको थियो । पीडित परिवार आर्थिक रूपले विपन्न छन् । उनीहरूको स्थायी आर्थिक स्रोत छैन । खेती–किसानका लागि गाउँमा जग्गाजमिन पनि छैन । आफन्तको शरणमा रहेका उनीहरूलाई अहिले छाक टार्ने समस्या छ । ‘आर्थिक स्रोत गतिलो छैन । काठमाडौंमा आफन्तको शरणमा छौँ । बिहान–बेलुकाको छाक टार्न मुस्किल भयो । त्यहीमाथि कानुनी परामर्शमा धाइरहनुपर्छ । आउजाउ गरिरहनुपर्ने हुन्छ । हामीसँग गाडीभाडासमेत छैन । गाउँमै बस्ने अवस्था भएको भए यो समस्या आउने थिएन,’ सपनाले भनिन् ।

तर प्रतिवादी पक्षले भने पीडित परिवारलाई कुनै धम्की नदिएको दाबी गरेको छ । प्रतिवादी सञ्जीव पोखरेलका भाइ सन्तोषले आफूहरूले कुनै धम्की नदिएको बताए । ‘पहिलो कुरा त सञ्जीव सार्कीलाई कसैले गोली प्रहार गरेको होइन । आफैँले बोकेको बन्दुक पड्किएर उनको मृत्यु भएको हो । यो तथ्यलाई पोलिग्राफ रिपोर्टले पनि पुष्टि गरेको छ । यद्यपि, घटनाप्रति हामी दुःखी छौँ । घटनाका सम्बन्धमा जिल्ला अदालत दोलखाले दाइ सञ्जीवसहित माधव पोखरेल, अविदित कार्की र रचेश मुग्रातीलाई पुर्पक्षका लागि कारागार चलान गर्‍यो । तर, उच्च अदालत पाटनले भने चारैजनालाई धरौटीमा छाड्ने आदेश गर्‍यो,’ उनले भने, ‘मृतकका परिवार उच्चको आदेशविरुद्ध सर्वोच्च पुगेछ । सर्वोच्चले पनि उच्चकै आदेश सदर गर्‍यो । अहिले सञ्जीव ठेक्कापट्टाको सिलसिलामा जिल्लाबाहिर छन् । माधव, अविदित र रचेश काठमाडौंतिरै बस्छन् । यो अवस्थामा उनीहरूले पीडितलाई धम्की दिएजस्तो लाग्दैन ।’

प्रहरी प्रतिवेदन भन्छ– पूर्वयोजनाअनुसार सञ्जीवको हत्या भयो
गत १६ मंसिर बिहान माधव पोखरेल सञ्जीव सार्कीलाई लिन घरमै आए । उनले जान इन्कार गरे । माधव गालीगलौजमा उत्रिएपछि कपाल काट्ने बहाना बनाएर सञ्जीव मामाघरतर्फ लागे । माधवले उनलाई पछ्याए । कपाल काट्ने ठाउँमा पुगेपछि उनले धम्क्याए । त्यसपछि सञ्जीव माधवसँग जान बाध्य भए । माधवका छिमेकी दाइ सञ्जीव पोखरेलले आफ्नो भरुवा बन्दुक मतानमा लुकाइराखेका थिए । सञ्जीव पोखरेलले मृतक सञ्जीवका बुबा छत्रबहादुर सार्कीलाई बन्दुक घरमा ल्याउन भने । छत्रबहादुरले इन्कार गरे । तर, निकै कर गरेपछि छत्रबहादुर बन्दुक बोकेर सञ्जीवकहाँ पुगे । बन्दुक ल्याएको सूचना दिए । छत्रबहादुर बन्दुक बोकेर बोलेरोनजिक गए, बन्दुक दिए र घर फर्किए । 

बोलेरोभित्र माधव र मृतक सञ्जीव पहिले नै पुगिसकेका थिए । त्यसबाहेक अविदित कार्की, रचेश मुग्राती र अन्य दुई नाबालक बोलेरोभित्रै थिए । उनीहरूबीच सिकार खेल्न जाने सहमति भयो । बोलेरोमा सवार सातैजना तामाकोशी गाउँपालिका– ३ गोगनडाँडास्थित जंगलमा सिकार गर्न हिँडे । सो क्रममा करिब ८ बजे जंगलमा लोड गरिएको भरुवा बन्दुक पड्कियो । बन्दुकको छरुवा सञ्जीवको छातीमा लाग्यो । उनी जंगलमै ढले । उनलाई उपचार गर्न तत्काल स्थानीय अस्पताल लगियो । अस्पतालमा घरको छतबाट लडेर घाइते भएको भनियो । मृतकका परिवारलाई पनि लडेर घाइते भएको भनियो । त्यसवेलासम्म सञ्जीवको मृत्यु भइसकेको थियो । सञ्जीव पोखरेलसहितको टोलीले सञ्जीवको शरीर बोलेरोमा राख्यो । मृतकका परिवार बोलाए, तर घटनाबारे कुनै जानकारी दिएनन् । रातभर झुलाउँदै बल्लतल्ल बोलेरो सदरमुकामस्थित पशुपति चौलागार्ईं स्मृति अस्पताल पुर्‍याए । घटनामा संलग्न सबै फरार भए । प्रहरी अस्पताल आइपुग्यो । जब पीडित परिवारले घटनाको यथार्थ बुझे, उनीहरू छाँगाबाट खसेझैँ भए । 

प्रहरीको अनुसन्धानमा भने पूर्वयोजनाअनुसार सञ्जीवको गोली प्रहारबाट हत्या गरिएको उल्लेख छ । जसमा २२ वर्षीय माधव, ४५ वर्षीय सञ्जीव, २५ वर्षीय अविदित, २० वर्षीय रचेश र अन्य दुई नाबालक संलग्न थिए । ‘परिस्थितिजन्य प्रमाणबाट १६ मंसिर राति ८ बजे तामाकोशी गाउँपालिका– ३ जमबोटेस्थित जंगलमा माधव, सञ्जीव, अविदित, रचेश र अन्य दुई नाबालक पूर्वयोजनाअनुसार कालिज मार्ने बहानामा सञ्जीव सार्कीलाई लगी अवैध रूपमा भरुवा बन्दुक प्रहार गरी कर्तव्य गरी मारेको वारदात सप्रमाण पुष्टि हुन आयो,’ प्रतिवेदनमा उल्लेख छ । प्रहरीले पेस गरेको सोही मुचुल्का प्रतिवेदनलाई आधार मानेर जिल्ला अदालत दोलखाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल इजलासले घटनमा संलग्नमध्ये माधव, सञ्जीव, अविदित, रचेशलाई पुर्पक्षका लागि जेल र दुई नाबालकलाई हाजिर जमानीमा छाड्ने आदेश गर्‍यो । तर, उच्च अदालतले उनीहरूलाई धरौटीमा छाड्ने आदेश दियो ।

ad
ad