१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ३१ आइतबार
  • Friday, 05 July, 2024
नारायण रिजाल बागलुङ
२o७८ श्रावण ३१ आइतबार १३:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

संक्रमण बढ्दै गर्दा अस्पताल र आइसोलेसन खाली

Read Time : > 1 मिनेट
नारायण रिजाल बागलुङ
नयाँ पत्रिका बागलुङ
२o७८ श्रावण ३१ आइतबार १३:१o:oo

कोभिड– १९ को दोस्रो लहरमा असारमा घट्दै गएको संक्रमण साउन लागेपछि पुनः तीव्र गतिमा वृद्धि भएको छ। बागलुङमा सक्रिय संक्रमितको संख्या ६ सय ६३ पुगेको छ। संक्रमणदर बढ्दै गए पनि पहिलो चरणमा जस्तो आइसोलेसन सेन्टरहरू भरिभराउ छैनन्। 

जिल्लाका १० स्थानीय तहमा १२ वटा कोभिड अस्पताल र आइसोलेसन सेन्टर छन्। तीमध्ये सातवटामा संक्रमितको संख्या शून्य रहेको छ। कुल एक सय ५० शय्या क्षमताका अस्पताल र आइसोलेसन सेन्टरमा हाल २७ संक्रमित मात्र उपचाररत छन् भने ६ सय ३६ संक्रमित होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले बताए। संक्रमितमध्ये धौलागिरि अस्पतालमा १० जना, ताराखोला कोभिड अस्पतालमा दुईजना, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पाँचजना, बरेङ कोभिड अस्पतालमा ६ जना र गलकोटमा चारजना रहेका छन्।

जटिल समस्या नभएसम्म आइसोलेसन सेन्टर जाँदैनन्
कोरोना संक्रमण भए पनि सामान्य अवस्थाका बिरामीहरू स्थानीय तहले बनाएका आइसोलेसनमा बस्न चाहँदैनन्। ‘संक्रमित भए पनि जटिल समस्या नदेखिएसम्म बिरामीहरू आइसोलेसन र अस्पताल गएको पाइँदैन,’ गुरौले भने, ‘पहिलो चरणमा जस्तो दोस्रो चरणमा त्यति स्वास्थ्य जटिलता भएका बिरामी छैनन्। स्वास्थ्यमा जटिल समस्या उत्पन्न नभएसम्म अस्पताल वा आइसोलेसन सेन्टर जाँदैनन्। संक्रमितलाई घरमै खानपानको व्यवस्था हुन्छ। उनीहरूलाई आवश्यक औषधि स्थानीय स्वास्थ्य संस्थाले पुर्‍याएका छन्।’

संक्रमितको बारम्बार फलोअप स्थानीय तह र स्वास्थ्य संस्थाबाट नै हुने गरेको गुरौले बताए। घरमै उपचार सम्भव भएसम्म उनीहरू आइसोलेसन नजाने गरेका छन्। 

होम आइसोलेसनमा बसेकाबाट संक्रमण फैलने चिन्ता
पछिल्लो समय एकातिर आइसोलेसन सेन्टर खाली छ भने समुदायमा संक्रमितको संख्या बढ्दै गएको छ। यसले संक्रमित घरमै बस्ने र परिवारसँग घुलमिल हुँदा संक्रमणदर फैलिँदै गएको त होइन भन्ने आशंका बढाएको छ। शुक्रबार मात्रै निषेधाज्ञा कडाइ गर्ने क्रममा प्रहरी–प्रशासनले होम आइसोलेसनमा बसेका संक्रमितहरू बजार डुल्दै गरेको अवस्थामा फेला पारेको थियो। बजार क्षेत्रमा विभिन्न बहानामा संक्रमितहरू खुलेआम हिँड्दै गर्दा ग्रामीण क्षेत्रको अवस्था फरक होला भन्न सकिन्न। यसरी होम आइसोलेसनमा रहेकाहरू खुलेआम हिँड्दा कोरोना संक्रमण झनै बढ्दै जानेमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

आधा संक्रमित बाग्लुङ नगरपालिकाका
स्वास्थ्य कार्यालय बाग्लुङका अनुसार शनिबारसम्म जिल्लामा कुल ६ सय ६३ सक्रिय संक्रमित छन्। कुल संक्रमितमध्ये आधा संक्रमित बाग्लुङ नगरपालिकामा मात्रै रहेका छन्। बाग्लुङ नगरपालिकामा हाल सक्रिय संक्रमितको संख्या तीन सय सात पुगेको स्वास्थ्य कार्यालय बाग्लुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए। बाग्लुङ नगरपालिकाको बलेवा क्षेत्र पैयुँपाटा, अमलाचौर र नारायणस्थानमा संक्रमितको संख्या धेरै रहेको छ।

ad
ad
ad
ad