
कतारी धनाढ्यको लगानीमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले यो साता अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई भित्र्याउन सफल भयो । स्पेनिस क्लब बार्सिलोनासँगको २१ वर्षे नाता तोडेका मेसीलाई अनुबन्ध गरेसँगै पिएसजी हौसिएको छ । अब पिएसजीको नजर अर्का उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि परेको छ । मेसी, रोनाल्डो, नेमार जुनियर तथा केलियन एम्बाप्पेजस्ता वर्तमान समयकै उत्कृष्ट स्ट्राइकरहरूलाई समावेश गरी मैदानमा उतार्ने सपना पिएसजीले बुनेको फ्रान्सेली समाचार एजेन्सीहरूको दाबी छ ।
‘रोनाल्डो पनि पिएसजीमा भित्र्याएर फ्रेन्च क्लब विश्वकै शक्तिशाली क्लब बन्ने योजनामा लागेको छ,’ फ्रेन्च पत्रिकाहरूले शुक्रबार उल्लेख गरेका छन् । यसअघि नै पिएसजीले डिफेन्स लाइन बलियो बनाउन रियल म्याड्रिडका सर्जियो रामोसलाई अनुबन्ध गरेको थियो । सबै योजना सफल हुँदा पिएसजीमा डिफेन्सदेखि फिनिसिङ लाइनसम्मका खेलाडी एकसे एक हुनेछन् । अहिले नै फ्रेन्च टोलीका मेसी, नेमार र विश्व च्याम्पियन फ्रेन्च खेलाडी एम्बाप्पे पिएसजीमा छन् ।
यस वर्ष रोनाल्डो सिरिए क्लब युभेन्ट्समै रहनेछन् । अर्को वर्ष रोनाल्डो र युभेन्ट्सबीचको सम्झौता समाप्त हुँदै छ । स्पेनिस क्लब रियल म्याड्रिडलाई लगातार तीनपटक युरोपिय च्याम्पियन्स लिग उपाधि दिलाएपछि रोनाल्डो एक्कासि युभेन्ट्स पुगेका थिए । युभेन्ट्समा रोनाल्डो छाइरहेका छन् । नयाँ चुनौती स्वीकार गर्न खप्पिस रोनाल्डो राम्रो प्रस्ताव आउँदा जुनसुकै क्लबमा जान सक्छन् । अर्को वर्ष रोनाल्डो ३७ वर्षका हुनेछन् ।
फिटनेस र मानसिक रूपमा रोनाल्डो अहिले पनि उत्तिकै फिट छन् । युभेन्ट्समा आबद्ध भएयता रोनाल्डो क्लबकै शीर्ष गोलकर्ताका रूपमा रहेका छन् । पिएसजीले रोनाल्डो भित्र्याउन आफ्ना युवा खेलाडी एम्बाप्पेलाई अन्य क्लबमा पठाउन सक्छ । एम्बाप्पेको सम्झौता पनि अर्को वर्षसम्म मात्र हो । एम्बाप्पे अर्को वर्ष पिएसजीमा बस्न नचाहे क्लबले नरोक्ने भएको छ । ‘यदि एम्बाप्पले सम्झौता नवीकरण गर्न नचाहे क्लबले सबै बाटो खुला गर्नेछ,’ पिएसजीले जनाएको छ ।
पिएसजीका अध्यक्ष नासेर अल खेलैफिले एम्बाप्पेको स्थानमा रोनाल्डोसँग सम्झौता गर्न इच्छुक देखिएका छन् । यद्यपि पिएसजीको बिक्री गर्ने खेलाडीको सूचीमा एम्बाप्पे छैनन् । तर, एम्बाप्पेमाथि सम्झौताको दबाब पिएसजीले नगर्ने उनले बताएका छन् । ‘यदि एम्बाप्पेले सम्झौता नवीकरण गर्न नचाहे केही छैन, हामी अन्य क्लबमा जान सबै बाटो खुलस्त पार्छौँ,’ उनले भने ।
सन् २०१५ र २०१७ को बालोन डिअर अवार्डमा मेसी, रोनाल्डो र नेमार अन्तिम तीन सूचीमा परेका थिए । रोनाल्डोका एजेन्ट जर्जे मेन्डिसले पिएसजीको चासोप्रति कुराकानी भएको जानकारी दिएका छन् । ‘सम्भवत अर्को दुई वर्ष रोनाल्डो पिएसजीबाट खेल्न सक्छन्,’ रोनाल्डोका एजेन्ट मेन्डिसले भने, ‘रोनाल्डोसँग अझै दुई वर्ष समय छ ।’ तर, रोनाल्डो भने जुन क्लबबाट राम्रो प्रस्ताव आउनेछ, त्यसैतिर जान सक्ने आधार पनि छन् । ‘यो दुई वर्षभित्र अमेरिका वा कतारका क्लबबाट पनि राम्रो प्रस्ताव आउन सक्छन्, हेरौँ कुन क्लबको प्रस्ताव राम्रो लाग्ने छ,’ मेन्डिसले भने, ‘रोनाल्डोको डिमान्ड अमेरिका र कतारमा उत्तिकै छ ।’