पृष्ठभूमि
सदाझैँ धान काट्ने समयमा जंगली हात्तीहरू गाउँबस्तीतिर सलबलाउन थालेका थिए। हात्ती गाउँतिर निस्कने सम्भावित नाकातिर रात्रिगस्ती परिचालन भएकै थियो। तर, कतिपय अवस्थामा गस्ती टोलीलाई छक्याएर हात्तीले गाउँमा उपद्रो गरिसकेको हुन्थ्यो। घटना त्यस्तै ०६९ कात्तिक–पुसको हो। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने माडी गाउँबस्तीमा निस्केर त्यस समयमा जंगली हात्तीले चारजना मान्छेसमेत मारी गाउँबस्तीलाई आतंकित बनाएको थियो।
कुन हात्तीले जनधनको क्षति गर्याे भन्दा सबैको मुखबाट ध्रुवे हात्तीले भन्ने सुनिन थाल्यो। ध्रुवे त मान्छेको नाम हो, यो नाम के कसरी जंगली हात्तीमा रहन गयो भन्ने जिज्ञासा लाग्न थाल्यो। कारण पहिल्याउँदै जाँदा चितवन राष्ट्रिय निकुञ्जको ध्रुवपोस्टमा पहिलोपटक देखा परेकाले ध्रुवे रहेको भन्ने सुनियो भने कसैले भिम्ले पोस्टको ध्रुव नामको सिपाही हात्तीको आमने–सामने परेको, तर आक्रमण भने नगरेको र आफू हात्तीबाट बचेको कुरा कमान्डरलाई सुनाएपछि उक्त हात्तीको नाम ध्रुवे रहेको भन्ने कथन छ।
०६६ मा निकुञ्जमा कार्यरत गोरखबहादुर गणका सिपाही रिद्धिवीर दोङलाई मारेपछि ध्रुवेलाई रिद्धिदोङ नामले पनि पुकारिने गरिएको थियो, तर यस नामले खासै प्रचार पाउन सकेन।
हुन त ध्रुवेले पहिलादेखि नै जनधनको क्षति पुर्याइरहेको भए पनि पाण्डव दौपतीनगरका एकैघरका बोटे समुदायका बुढाबुढीलाई एकैचोटि मारेपछि घटनाले उग्ररूप लियो। निकुञ्जले हात्ती नियन्त्रणमा ल्याउन सकेन र हात्तीले मान्छे मारेका परिवारहरूलाई जीविकोपार्जनसहितको राहत उपलब्ध गराउन नसकेको भनी माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा आगजनी र निकुञ्ज कार्यालय कसराको झ्यालका सिसा फुटाएका थिए।
त्यतिले पनि नपुगेर वार्डेनको कार्यकक्षमा पनि तालाबन्दी लगाइएको थियो। माडी क्षेत्रका सम्पूर्ण यातायात, पसललगायत अन्य कार्यालय ठप्प पारेर दुवै लासलाई सार्वजनिक बाटोमा तेस्र्याई जिल्लास्तरका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिसहितका करिब पाँच सयजना स्थानीयले उक्त हात्तीलाई तुरुन्त मारी थप जनधनको क्षति हुन नदिनेलगायतका विभिन्न माग राख्दै निकुञ्जको माडी प्रवेश गर्ने नाकामा रहेको वनकट्टा रेन्जपोस्टअघि नाराजुलुस गर्दै निकुञ्जका पदाधिकारी कमलप्रसाद गैरे, विष्णु थपलिया, टीकाराम पौडेल र रूपक महर्जनलाई खोज्दै नामै किटेर गाली–गलौज गरी नाराजुलुस गर्दै कोणसभा गरेका थिए। यस्ता आन्दोलनका कार्यक्रम हप्तौँसम्म स्वरूप परिवर्तन गर्दै विभिन्न स्थानहरूमा चलिनै रहे।
हात्ती बौलायो, त्यसलाई मार्नुपर्छ भनेर सबैले भन्न थाले। यस विषयले राष्ट्रियस्तरका मिडिया सञ्जाललाई समेत ततायो। छापाहरूमा साँच्चै ध्रुवे बौलाएरै मान्छे मारेको हो भन्ने प्रचारबाजी भएर सो छाप आममानिसमा परेको थियो। तर, निकुञ्जलाई भने कत्ति पनि विश्वास थिएन हात्ती बौलाएको भनेर। निकुञ्जका कर्मचारीले पनि गाउँलेको बोलीमा लोली मिलाए, किनभने जनआक्रोशलाई न्यूनीकरण गरी निकुञ्जलाई थप क्षति हुनबाट बचाउनु कर्मचारीको कर्म र धर्म थियो।
त्यसवेला ध्रुवेले देशै तताएको अवस्था थियो। समाधानका लागि दर्जनौँपटक स्थानीय राजनीतिक दलसँग छलफल भयो। यस मौकामा निकुञ्जविरुद्ध धमिलो पानीमा माछा मार्नेहरूको पनि कमी थिएन। निकुञ्जलाई नै आघात पुग्ने खालका मागहरू पनि तेर्स्याइएका थिए। ध्रुवे हात्तीको निरीक्षण र अनुगमन गर्न तत्कालीन वनसचिवसहितको टोली चितवनमा आयो। अनुगमन कार्यलाई सफल पार्न हेलिकोप्टरसमेतको प्रयोग गरियो।
तर, जंगली हात्ती जंगलमा के सहज भेटिन्थ्यो र ? ध्रुवेको खोजीमा आएको थियो, तर नसकेर फर्कियो। त्यसवेला देशै ध्रुवेमय भएको थियो। ध्रुवे हात्तीको निकै धेरै व्याख्या भएको थियो। तत्कालीन महानिर्देशक मेघबहादुर पाण्डेलाई विभाग मन्त्रालयतिर ध्रुवेको उपनामले पुर्काथे। त्यस्तै, फिल्डमा अग्रपंक्तिको रूपमा हात्ती नियन्त्रणमा खटिने टोलीलाई ध्रुवे टोली नामले पुकारिन्थ्यो। हात्ती प्रभावित क्षेत्रमा मानिस अहिलेको कोरोना संक्रमणभन्दा पनि बढी त्रसित देखिन्थे। यो अवस्थाले निकुञ्ज घुम्न आउने नेपाली पर्यटकलाई पनि प्रभावित पार्यो।
आन्दोलन चर्किरहेकै अवस्थामा काठमाडौंमा न्यायसेवाको तालिम लिइरहेका तत्कालीन वार्डेन झमकबहादुर कार्की तालिमलाई थाती राखेर निकुञ्जमा आई आफ्नै कार्यकक्षमा सर्वदलीय बैठक राख्नुभयो। निकुञ्जमा तैनाथ नन्दाबक्स गण सम्हाल्न भर्खरै आउनुभएका गणपति चक्र शाह र वार्डेन झमकले नै ध्रुवे लाई दूत बनाएर गाउँलेको जनधन क्षति गर्नलाई पठाएकोजस्तो व्यवहार गरेर जिल्लाका राजनीतिक व्यक्तित्वले र्याख–र्याख्ती पारेका थिए। लाग्दथ्यो त्यसवेला निकुञ्ज निरीह भएर सुन्नुको अर्को विकल्प केही थिएन र सुनिनै रह्यौँ, तर हात्ती नियन्त्रणका प्रयासहरू भने निकुञ्जले चालू नै राखेको थियो। तर, परिणाम आउन सकेको अवस्था थिएन। पछि झमकलाई हात्ती नियन्त्रण गर्न नसकेको लाञ्छना लगाएर सरुवा गरियो र उहाँको स्थानमा डा. महेश्वर ढकाल आउनुभयो।
केही महिनापछि झमकले जागिरे जीवनवाट राजीनामा गर्नुभयो। विभाग, मन्त्रालय र फिल्डस्तर निकुञ्जमा करिब दुई महिनासम्म तनावमय वातावरण थियो। प्राकृतिक प्रकोपबाट छिनभरमै सयौँको ज्यान जान्छ, तर आक्कलझुक्कल हात्तीले मान्छे मार्दा देश नै थर्कने हो भने प्रकृति संरक्षणमा खडेरी पर्न सक्छ। हात्ती हिँड्ने, ओहोर–दोहोर गर्ने नाका–गौँडा जस्तैः बाँदरझुला, प्याउली र कुसुमखोलामा बस्ती बसालेका छौँ जसले हात्ती–मानव द्वन्द्वलाई बढाएको छ, त्यसतर्फ कसैको ध्यान किन पुग्दैन ? यो कस्तो राजनीति–संस्कृति–परम्परा मौलाउँदै गएको बुझ्न कठिन भएको छ। यसको दीर्घकालीन निराकरणतर्फ कदम चाल्नुपर्नेमा हात्ती मार्नमा सबैको जोडबल थियो। सायद ध्रुवे ले भोट दिन पाउने भए उसका कुरा कसै–कसैले सुन्थे होलान्!
क्षति न्यूनीकरणका लागि चालिएका कदम
मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न ध्रुवे हात्तीलाई एकपटक नियन्त्रणमा लिई घाँटीमा रेडियो कलर गरिएको र हात्तीको बल घटाउन दाह्रासमेत काटेर छोट्याइएको थियो। ०६६ देखि ध्रुवे हात्तीको कारणले मानिसको मृत्यु हुन गएका घटनाहरू देखिन थालेका र ०६९ सम्म आइपुग्दा १५ जनाको ज्यान गएको रेकर्डबाट देखिन आउँछ।
जनधनको क्षति न्यूनीकरण गर्न ध्रुवे लाई वर्षको दुईपटकसम्म लठ्याउने गरिएको थियो। पछिल्लोपटक ०६९ कात्तिकदेखि घरपालुवा हात्तीबाट चौबिसै घन्टा रिसिभर ट्र्याकिङमार्फत ध्रुवे को खोजी–अनुगमन गरिएको थियो। रात परेपछि गाउँतिर निस्कने र दिनभरि प्रायः गरेर निकुञ्जको झाडीभित्र हराउने कारणले ध्रुवे लाई प्रत्यक्ष देख्न एकदम गाह्रो भएको थियो। निकुञ्जको झाडीमा ध्रुवे हात्ती नजिकै भए सिग्नल पाइन्थ्यो, टाढा भए सिग्नल हराउने गर्दथ्यो।
हात्तीलाई डार्ट गरेर लगाइने रेडियो कलरले एकप्रकारको चुम्बकीय तरंग प्रसारण गर्दछ। उक्त सिग्नल एन्टेनासहितको रिसिभरबाट सुन्न सकिन्छ। नियमित अनुगमन गर्दा जंगल–झाडीमा हात्ती नजिकै भए सिग्नल प्राप्त हुन्छ र कुन स्थानमा छ भन्ने अनुमान लगाउन सकिन्छ। यसबाट जंगलमा झाडीको कारणले हात्ती नदेखिए तापनि रेडियो कलरको सिग्नल पाएपछि गाउँलेलाई सचेत गराउन मद्दत मिलेको थियो।
निकुञ्जले आफ्ना प्राविधिक र सुरक्षाकर्मी अहोरात्र खटाई ध्रुवे हात्तीलाई ०६९ मंसिर ६ गते नियन्त्रणमा लिई जिपिएस रेडियो कलर जडान गर्न सफल भयो। यसका लागि जिल्लास्तरका राजनीतिक दलहरू र स्थानीयहरूको ठूलो दबाब थियो।
यसपछि हात्ती निकुञ्जबाट अलप भयो। तर, दुई महिनापछि फेरि निकुञ्जमै देखियो। हात्तीको घाँटीमा जडान गरिएको रेडियो कलर भुइँमा झरेको अवस्थामा पर्सा राष्ट्रिय निकुञ्जको रामहोरीभाटा क्षेत्रमा भेटियो। उक्त रेडियो कलर रेकर्ड भएको ०६९मंसिर ६ देखि ०६९ पुस १ सम्मको डाटालाई डाउनलोड गरी नक्सामा राखेर हेर्दा निकुञ्जको पूर्व–दक्षिणको वनजंगल क्षेत्रको माडी, ठोरी हुँदै बाराको कोल्वी र त्यहाँबाट फर्की सोही ठाउँ हुँदै चितवन निकुञ्जको पश्चिम भाग टाइगरटप खोरिया मुहान क्षेत्रमा ध्रुवे ले परिभ्रमण वा विचरण गरेको देखिन्छ।
ध्रुवेले गाउँमा गएर थप उपद्रो नगरोस् भन्नका लागि निकुञ्जले सम्भावित नाकाहरूमा रात्रिगस्ती परिचालन गरेको थियो। जसमा निकुञ्ज, सुरक्षाकर्मी–नेपाली सेना, जैविक विविधता संरक्षण केन्द्रको जनशक्तिसहितको सम्पूर्ण साधन स्रोत परिचालन भएको थियो। जसको छिटो–छरितो सहयोगका लागि दुईवटा गाडीसहितको घुमुवा टोली व्यवस्था गरिएको र थप जनधनको क्षति हुनबाट रोक्न सशस्त्रको २० जना टोलीलाई भरतपुरबाट माडीको बरुवामा लगेर राखिएको थियो। ध्रुवे हात्तीलाई नियन्त्रणको सिलसिलामा हात्ती निस्कने सम्भावित गाउँबस्तीमा निकुञ्जका कर्मचारी एवं सुरक्षाफौजसमेत रातभरि गस्ती गर्ने सन्दर्भमा गाउँलेबाट हात्तीको बारेमा खबर आदान–प्रदान गर्ने र हात्ती धपाउन पनि सक्रिय रूपमा सहयोग गरेको कुरालाई भुल्नै सकिँदैन।
तर, यसको विपरीत तिनै व्यक्ति दिउँसो निकुञ्जका विरुद्धमा मुर्दावादजस्ता नारा घन्काउने, निकुञ्जका कर्मचारीलाई जिउँदै जलाउनुपर्छ भन्दै गालीगलौज गर्नेजस्ता तितो अनुभव निकुञ्जका कर्मचारीवृत्तमा अझै पनि ताजै छ। यस्तो संस्कृति मौलाएकोमा अचम्म लाग्दछ। ध्रुवे हात्ती नियन्त्रण गर्न अग्रपंक्तिमा खटिने निकुञ्जमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी–सेना र जैविक संरक्षण केन्द्रका कर्मचारीको अहोरात्र खटाइले तत्कालीन अवस्थामा द्वन्द्व न्यूनीकरणमा गरेको योगदानको कदर जति गरे पनि कमै हुन्छ। किनभने बेलुका भएपछि अन्य कार्यालयका कर्मचारी कार्यालयबाट घर फर्किन्छन्, तर हामी भने जंगल छिर्छौँ, त्यही पनि जाडोयाममा ध्रुवे नियन्त्रण गर्न।
के ध्रुवे बौलाएको थियो ?
उर्लँदो जनदबाबका कारण स्थानीय प्रशासन ऐन, २०२८ मा टेकेर जिल्ला प्रशासन कार्यालय भरतपुर, चितवनले ०६९ पुस १ मा बौलाएको भनी हात्ती नष्ट गर्ने आदेश दियो। त्यसपछिका दिनमा ध्रुवे लाई मार्न बाटो खुल्यो। उपद्रो गर्ने जंगली हात्ती मार्नलाई घरपालुवा हात्तीसहितका निकुञ्ज प्राविधिक र नेपाली सेनाका दुई विशेष टोली सम्भावित नाका–नाकामा खटिए। प्रकृतिको विरुद्धमा कुनै युद्धमा होमिएकोजस्तो त्यतिखेरको दृश्य देखिन्थ्यो। सरकारले ध्रुवे हात्ती मार्न १६ लाख खर्च गरेको थियो। मानव जातिलाई नै लाज मान्नुपर्ने विषय थियो त्यो। निकुञ्जको भित्री बाटोमा ढुकेर पटक–पटक गरेर ध्रुवे लाई ६३ राउन्ड गोली चलाइयो, तर गोली चल्नासाथ ध्रुवे वायुको वेगमा झाडीतिर भागेकाले बच्न सफल भयो।
यो प्रयास असफल भएपछि निकुञ्जको घरपालुवा हिमानीकली पोथी हात्तीसँग ध्रुवे को माया–प्रेम ज्यादा भएकाले ध्रुवे हिँड्ने क्षेत्रमा टाइगरटप लजनजिकको रिऊ बगरमा हिमानीलाई लगेर राखियो जसमा ध्रुवे हिमानीलाई भेट्न आएका वेला लुकेर गोली हान्ने योजना बनाइएको थियो। भनिन्छ, मानिसपछि हात्ती तेस्रो विवेकशील प्राणी हो। त्यसैले मलाई मार्ने भए भनेर ध्रुवे निकुञ्जको नेपथ्यतिरै झन्डै दुई वर्षजति हरायो। जनआक्रोशलाई कम गर्न, त्यो कारबाही गर्नु नै पर्ने बाध्यता थियो, तर हात्तीलाई मार्नुहुँदैन भन्ने भित्री इच्छा संरक्षणकर्मीहरूको थियो। हात्ती मारेर समस्या समाधान हुँदैन भन्ने कुरामा सबै संरक्षणकर्मी एकमत नै थिए।
संरक्षणकर्मीको सोचअनुसार हात्ती बच्न सफल भयो। हात्ती बौलाएको थिएन, बौलाएको थियो त केवल हाम्रो मानसिकता। धन्न हात्ती मरेन ! यदि मरेको भए अन्तर्राष्ट्रियस्तरबाटै नेपाल लज्जित हुनुपर्ने अवस्था रहन्थ्यो। संरक्षणकर्मीहरूलाई न्याउरी मारी पछुतो लाग्दथ्यो। किनभने हात्ती बौलाएको हो भन्ने वैज्ञानिक रूपमा पुष्ट्याइँ गर्ने आधार कसैसँग पनि थिएन। वैज्ञानिक पुष्ट्याइँ गर्ने विधि र प्रक्रिया हुन्छन्, ती प्रक्रिया नपुर्याईकन नै हात्ती नष्ट गर्ने आदेश दिएको थियो। हात्तीमा विद्यावारिधि गरेकी सञ्जिता शर्मा पोखरेलका अनुसार हात्ती बौलाएको प्रमाणित गर्नु छ भने यसका लागि ठूलो अनुसन्धान गर्न जरुरी छ। अहिलेसम्म यस्तो अनुसन्धान भएको छैन। त्यसका लागि हात्तीको दिमाग, नसा, सबै शारीरिक प्रक्रिया र रसायनको साथसाथै यी प्रक्रियाहरूसँग संलग्न भएका सबै व्यवहारहरूको अध्ययन नगरी हात्ती बौलायो भन्नु केवल हाम्रो मूर्खता मात्र हुन्छ। ।
वर्षायाममा प्रशस्त पौष्टिक आहारा वनजंगलबाट ग्रहण गर्ने भएकाले यस समयमा हात्तीहरू मोटाघाटा देखिन्छन् जसले गर्दा २० वर्षभन्दा माथिको उमेरका भाले हात्तीहरूमा प्राकृतिक रूपमा माद उत्पन्न हुन्छ। यस अवस्थामा भाले हात्तीमा हुने पुरुष हर्मोन (टेस्टोस्टेरोन) ५० गुणासम्म वृद्धि हुन्छ। त्यसैले ढोई हात्तीहरू खोजी–खोजी प्रजनन क्रियामा सक्रिय रहन्छन्। यस्तो वेलामा वयस्क भाले हात्तीको दुवै कञ्चटबाट कालो तैलीय तरल पदार्थ (माद) निस्किएको हुन्छ। भाले हात्तीको यस्तो अवस्थालाई सामान्य भाषामा माद लागेको वा वैज्ञानिक भाषामा भन्नुपर्दा मस्थमा रहेको भनिन्छ। यस्तो समयमा हात्तीले दिनभरि नचरीकन ढोईसँग बसिरहन्छ, निर्भयता र आक्रोश दुवै गुण बढ्छ यस समयमा। भाले हात्तीहरू भाद फुटेका वेला अत्यन्त आक्रामकसमेत हुने गर्दछन्। भोको पेट छिटो–छिटो भर्न रातको समयमा जंगलनजिकैका गाउँतिर निस्कन्छन् र धानका भकारी फोर्ने, केरा तथा अन्य खेतीपाती खाई नष्ट गरिदिन्छन्। खोला तथा जंगलका छेउछाउमा हिउँदमा लाग्ने बाक्लो कुहिरो, हात्तीको कालो शरीर र आवाजविहीन चाल र अँध्यारो रातले गर्दा मानिस हात्तीको पहुँचमा पुग्ने हुँदा अप्रिय घटना घट्ने गर्दछ। हो, ध्रुवे हात्तीको अवस्था पनि त्यही थियो। तर, हामीलाई लाग्यो ध्रुवे बौलायो !
ध्रुवेले वा अन्य कुनै वन्यजन्तुले गर्ने जनधनको क्षतिमा निकुञ्ज सधैँ संवेदनशील रहने गर्दछ र दुःखी हुन्छ। तर, के गर्ने निकुञ्जले ध्रुवेलाई जनधनको क्षति गर्न जा भनेर पठाएको पनि होइन। निकुञ्जका कर्मचारीलाई कुनै पनि वन्यजन्तुले चिन्दैन र अह्राएको पनि मान्दैनन्। सबै जंगली जीवजन्तु विवेक प्रयोग गर्न नसक्ने पशु नै हुन्।
ध्रुवेले गरेको जनधन आँखाबाट हेर्दा अत्यन्त दर्दनाक पनि छ। माद लागेको भाले हात्तीलाई जिस्क्याउने, तर्साउने गर्नुहुँदैन, यदि त्यसो गरेमा हात्तीमा तनावमा निस्कने रसायन अथवा स्टेस हर्मोनको उत्सर्जन वृद्धि हुने कारणले हात्तीलाई झन् बढी सुरो तुल्याउन सक्छ। हात्ती गाउँबस्तीमा निस्की मानिसको आवाज आएतिर वा बत्ती देखाएतिर आक्रमण गर्न आउने सक्ने हुँदा भागेर पनि मानिसले ज्यान जोगाउनसमेत नसक्ने अवस्था सिर्जना हुन सक्छ। कहिलेकहीँ त हवाईफायरको पनि उसले वास्ता गर्दैन। हो, ध्रुवे लाई पनि यस्तै गरिएको थियो।
गाउँमा हात्ती निस्के पनि आफू सुरक्षित भएर हात्ती धपाउनुपर्छ। ध्रुवे लाई मान्छे मार्न रहर किन हुन्छ ? के मान्छे हात्तीको खाने आहारा हो र ? मारेर मासु खाने हो र ? होइन नि ! हामीले पक्कै कहीँ–कतै उसलाई तर्साइदियौँ वा पीडादायक दुःख दियौँ र जसको कारणले उसले मान्छे देख्नासाथ आक्रमण गर्ने र मार्ने गरेको हुन सक्छ।
हामी चितवनमा बसोवासका लागि आउनुअगाडि यो क्षेत्र वनजंगल र यिनै वन्यजन्तुहरूको घर हो नि ! होइन र ? हामीले वन्यजन्तुको घरमा आफ्नाे घर बनाएर बस्ने, खेतीपाती लगाउने उसको पुर्खौली थलोमा मोजमस्ती गर्ने अनि हात्तीका सन्ततीले आफ्नाे पुर्खाले हिँड्ने गरेको बाटो पहिल्याउँदै, पछ्याउँदै आउनु के उसको गल्ती हो ? यो उसको प्राकृतिक स्वभाव हो। हाल हामीले बसोवास गरेका क्षेत्रहरू कुनै जमानामा वनजंगल र यसमा आश्रित वन्यजन्तुहरूका घर, चरन क्षेत्र थिए भन्ने कुरा पनि ख्याल वा हेक्का राख्नुपर्दछ।
हामीले पानीमुनि गएर बस्न सिक्यौँ, तर गोहीसँग सुरक्षित भएर बस्न सिकेनौँ, अनि गोहीलाई नै सिध्याउन खोज्यौँ। यो कसको कमजोरी र कसको दोष हो त ? यो पृथ्वी मानवको मात्रै हो ? आगोअगाडि घिउ राखिदिएपछि पग्लिहाल्छ नि ! हो त्यही भएको हो हात्तीलाई पनि ! हात्तीको प्राकृतिक शारीरिक अवस्थाले गर्दा छिटो–छिटो पेट भर्न धानखेत वा थन्क्याइएको अन्नपात खान खोज्दा घरगोठ भत्किन जाने हन्छ। हात्तीबाट अन्नपातको सुरक्षा गर्न खोज्दा मानिसको जिउज्यान नै जोखिममा पर्ने गरेको छ। हामीले समय र मौसमअनुसार सतर्कता अपनाएर, सुरक्षित भएर बस्न नसक्नाले साथै केही हदसम्म मूर्ख्याइँ गर्दा हात्तीबाट मृत्युवरण गर्नु परिरहेको छ। हात्ती प्रभावित ठाउँका हामीले के–कति सुरक्षा अपनाएर बसेका छौँ भन्ने कुराले पनि ठूलो अर्थ राख्दछ। ‘नाच्न जान्दैन आँगन टेढो’ भनेजस्तै अनि दोषजति हात्तीलाई र निकुञ्जलाई थुपार्न के मिल्छ ?
निकुञ्ज त राज्यको नीतिअनुसार संरक्षणको काम गर्ने निकाय हो। के हात्ती बचाउनु निकुञ्ज र सुरक्षाकर्मी–सेनाको मात्र कर्म र धर्म हो ? यसमा अन्य निकायको दायित्व हुँदैन ? मानवले हात्तीको मात्र दोष देखाउनु भनेको ‘बाँदरका रिसले वनमा डढेलो लगाउनु’जस्तै हो। हात्ती बचाउनु र जनता बचाउनु हाम्रो दायित्व होइन र ? कि निकुञ्जसँग सिँगौरी खेल्नु मात्र स्थानीय बासिन्दा र स्थानीय राजनीतिक दलको दायित्व हो ? समाजका हरेक तह र तप्काका मानवको दायित्वभित्र के हात्ती संरक्षण र जनता संरक्षण पर्दैन ?
जुन परिवारमा हात्तीका कारणले आफन्त गुमाएको छ र पीडा सहेको छ, त्यस परिवार र समाजमा हात्ती वा अन्य वन्यजन्तुहरूको संरक्षणको भाव झल्किँदैन, यो सत्यता हो।
हात्ती प्रभावित क्षेत्रमा यस्तो अवस्था आउनु केही बासिन्दाहरूको दर्दनाक गरिबीपनले गर्दा पनि हो। किनभने माडी क्षेत्रमा गरिब परिवारका घरहरू प्रायः छरिएर रहेको पाइन्छ। साथै घरहरू झुपडीको रूपमा देखिन्छन्। गरिब समुदायको जंगलछेउमा रहेका यस्ता झुपडीहरूबीच भीमकाय मत्ताहात्ती हिँड्दैमा मात्र पनि हल्लिएर भत्कन सक्छन्। त्यसमा पनि साँच्चिकै हात्तीले अन्नपातको लोभमा घर फोर्ने गर्दा पीडित व्यक्तिको भाँडाकुँडा, लत्ताकपडा र संकलित अन्नपात केही खाने, केही पोख्ने र कुल्चने गरी सबै ध्वस्त पार्दछ। पक्की संरचनाका घरहरू भने हात्तीले भत्काउन खोज्दैन। तर, विडम्बना ! पक्की घरहरू धनी परिवारले निर्माण गरेका हुन्छन् जो हात्तीको आक्रमणवबाट सुरक्षित हुन्छ। तर, यस्ता घरहरू हात्ती प्रभावित क्षेत्रमा कमै देखिन्छन्। त्यसैले निकुञ्ज छेउछाउका अव्यवस्थित विपन्न गाउँबस्तीलाई एकत्रित गरी सुरक्षित बस्तीको विकास गरेमा विपन्न वर्गमा पर्ने जंगली हात्तीको दुष्प्रभाव कम गर्न सकिन्छ।
दीर्घकालीन न्यूनीकरणका उपायहरू
१. माडीको मणि भनेको प्रकृति संरक्षण हो। यसलाई पाखा लगाएर माडीलाई मणि कहिल्यै बनाउन सकिँदैन। माडीमा जति नै विकास गरे पनि संरक्षणविना मणि फल्दैन। सालिन्दा वर्षायाममा सोमेश्वर पहाडबाट सुलुसुलु बगेर आउने गेग्रानले तल्लो तटका स्थानीयका खेतहरू पुरिँदै छन्। यदि हामीले सोमेश्वरको संरक्षण गर्न चुक्यौँ भने केही समयपछि माडी गेग्रानमा परिणत हुनेछ। हामीले विकासको नाममा तल गेग्रान रोक्ने प्रयासहरू त गरेका छौँ, तर त्यसले दीर्घकालीन रोकथामका लागि प्रयास गरेका छैनौँ। पहाडबाट गेग्रान किन झरिरहेका छन् भन्ने जड पत्ता लगाएर गरेको विकास दिगो हुन्छ। पहिला मुहान सफा गर्नुप¥यो नि ! अनि मात्र तलका बस्तीलाई सङ्लो पानी पिउन उपलब्ध होला।
२. माडीमा मानव–वन्यजन्तु द्वन्द्वलाई निमिट्यान्न पार्न सकिँदैन, तर न्यूनीकरण गर्न सकिन्छ। कि त निकुञ्जमा रहेका सबै वन्यजन्तु मार्नुप¥यो अनि मात्र समस्या समाधान हुन्छ, होइन भने जबसम्म निकुञ्ज रहन्छ तबसम्म मानव वन्यजन्तु समस्या निराकरणको साटो न्यूनीकरण मात्र हुने हो। यसको समस्या समाधानको जड भनेको माडी क्षेत्रलार्ई इको टुरिजम र अग्र्यानिक गाउँको रूपमा विकास गर्न सक्नु हो। यसो गर्न सके वन्यजन्तु संरक्षण पनि हुने र स्थानीयको पनि दिगो रूपमा आयआर्जनका अवसर सिर्जना हुन सक्छ।
३. स्थानीय ऐतिहासिक थारू बस्तीहरूलाई ज्युँका त्युँ बचाइराख्ने र उर्वराभूमिमा सोलार तारबारबाट संरक्षण हुने गरी अग्र्यानिक कृषिखेतीमा जोड दिन उपयुक्त हुन्छ। कम उर्वरशील क्षेत्रहरू जस्तै खोलाका किनार, वन क्षेत्रसँग जोडिएका वा पर्ती भूमिलाई वन्यजन्तुको वासस्थानको रूपमा विकास गरी पर्या–पर्यटन वृद्धि गर्न सके माडीको भविष्य सदाका लागि उज्ज्वल हुने देखिन्छ।
४. यसका लागि होमस्टे र स–साना रिसोर्टदेखि ठूलाखाले होटेल व्यवसाय संस्थागत रूपमा चलाउनुपर्ने हुन्छ। माडी क्षेत्रमा सञ्चालन हुने पर्या–पर्यटन व्यवसायमा प्रत्येक माडीवासीको अपनत्व महसुस हुनका लागि धेरैजसो परिवारलाई सेयर लगानी गर्न दिनुपर्छ। हुन त अहिले धार्मिक पर्यटनको रूपमा पनि माडीलाई विकास गर्दै लैजाने कार्य अगाडि बढिरहेको छ। जे होस्, मणिलाई चिनेर अगाडि बढ्यो भने माडीको भविष्य सुनौलो देखिन्छ। साथसाथै चितवन राष्ट्रिय निकुञ्ज माडी क्षेत्रका लागि छिमेकी, संरक्षक, लगानीकर्ता र नियामक निकायसमेत भएकाले स्थानीय जनप्रतिनिधि र राजनीतिक शक्तिहरूले निकुञ्जसँग सिँगौरी खेल्नुको सट्टा सौहार्दपूर्ण वातावरणमा आप्mना पीरमर्का राखी सहकार्य गर्दा लक्षित उद्देश्य हासिल गर्न सकिन्छ।
५. हात्तीलगायत वन्यजन्तुपीडितका लागि क्षतिपूर्ति एवं राहतको व्यवस्था राज्यले गरेको भए पनि निकुञ्जनजिकका विपन्न परिवारका गाउँबस्तीलाई राज्यले पहिचान गरी तिनीहरूको वास बस्ने पक्की संरचना (घर) निर्माण गरिदिने वा एकीकृत बस्ती विकास गर्नतिर लाग्न सके हात्तीलगायत अन्य वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्नमा टेवा मिल्ने थियो कि ?
अन्तमा, हाल हात्तीमा विद्यावारिधि गरिरहेका अशोक रामका अनुसार देशभरिमा ३१ वटा समस्याग्रस्त हात्तीहरू छन् तिनलाई रेडियो कलर जडान गरी अनुगमनको व्यवस्था मिलाउन सके ५० प्रतिशतसम्म मानव–हात्ती द्वन्द्व घटाउन सकिन्छ। हालसम्म १० वटा समस्याग्रस्त हात्तीलाई रेडियो कलर जडान गरी अनुगमन गरिएको छ। हाल ध्रुवे र रोनाल्डोलाई पनि कलर गरी अनुगमन जारी राखिएको छ। मानव–हात्ती द्वन्द्वको कारणले प्रत्येक वर्ष १५ देखि २० जनासम्मको मृत्यु र चारदेखि पाँचवटाको संख्यामा जंगली हात्तीहरूको मृत्यु हुने गरेको अनुसन्धानले देखाएको छ यसतर्फ राज्यले वेलैमा सोच्ने हो कि ?
(लेखक खड्का चितवन राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत हुन्।)