मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २८ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७८ श्रावण २८ बिहीबार o८:२४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भदौमै महाधिवेशन गरेर पार्टीको  वैधानिकता बचाउन कांग्रेसका जिल्ला सभापतिहरूको सुझाब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ श्रावण २८ बिहीबार o८:२४:oo

एक महिनाभित्र महाधिवेशन नगरे वैधानिकता नै गुमाउने अवस्थामा पुगेको कांग्रेसका जिल्ला सभापतिहरूले ‘सहमति र एकता’का माध्यमबाट पार्टीको लोकतान्त्रिक छविलाई जोगाउन सुझाब दिएका छन् । कोभिड–१९ को संक्रमण र संविधानसमेतलाई ध्यानमा राख्दै भदौमै महाधिवेशन गरेर पार्टीको वैधानिकता बचाउनुपर्ने जिल्ला सभापतिको जोड छ । 

आगामी २३ भदौमा कांग्रेसको १३औँ महाधिवेशन भएको साढे पाँच वर्ष पूरा हुन्छ । त्यो मितिभित्र कांग्रेसले आफ्नो केन्द्रीय समिति र प्रदेश समितिको चुनाव गरी विवरण अद्यावधिक नगरे वैधानिक संकट पर्ने कानुनी व्यवस्था छ । पार्टीको महाधिवेशन नहुने र वैधानिक संकट पर्ने विषयमा बहस भइरहेका भेला संस्थापन र संस्थापनइतर दुवै समूहका जिल्ला सभापतिहरूको छुट्टा–छुट्टै बसेको भेलाको आयोजना गरेर पार्टीको लोकतान्त्रिक छवि बचाउनकै लागि भए पनि भदौभित्रै महाधिवेशन गर्नुपर्ने र वैधानिकता बचाउनुपर्ने सुझाब दिएका हुन् । 

संस्थापनइतर समूहका सभापतिहरूले दुईदिने भेलापछि संयुक्त वक्तव्यमार्फत पार्टीको वैधानिकता सुनिश्चित हुने गरी १४औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने पक्षमा प्रतिबद्धता जनाएका छन् । भेलामा ५० जिल्लाका सभापति सहभागी भएको दाबी पौडेल पक्षको छ । ‘मुलुकको सबैभन्दा पुरानो पार्टी हो । एकता, मित्रता र एकआपसको सद्भाव कायम राख्ने कांग्रेसको संस्कार हो । अहिले नेतृत्वका बीचमा देखिएको विवादलाई त्यसैगरी समाधान गर्दै पार्टीको लोकतान्त्रिक छवि कायम राख्न समयमै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो,’ पाँचथरका सभापति नरेन्द्रकुमार केरुङले नयाँ पत्रिकासँग भने । 

यस्तै, संस्थापन समूहका जिल्ला सभापतिहरूले पनि सहमति र एकताको भावनासहित भदौमै महाधिवेशन गर्ने कुराको सुनिश्चित गर्न माग गरेका छन् । भेलामा ३६ जिल्ला सभापति सहभागी भएको नेता बानियाले जानकारी दिए । 

भेलाले भदौमै महाधिवेशन गर्नुपर्ने र महामारीका कारण सिर्जित असहज परिस्थितिलाई जिल्ला–जिल्लाबाट मतदान गरेर सहज बनाउन सकिने उनीहरूको सुझाब छ । ‘कांग्रेस सहमति, सहकार्य र एकताको सिद्धान्त बोकेको पार्टी हो । अन्य दललाई मिलाएर, अन्य दलको नेतृत्व गरेर सरकारको नेतृत्व गरिरहेको पार्टी हो । त्यसैले पार्टीभित्रको विवादलाई लिएर लोकतान्त्रिक छविलाई धमिलो पार्नुहुन्न । सहमतिबाटै निष्कर्षमा पुग्नुस् भन्ने हाम्रो सुझाब हो,’ मकवानपुरका जिल्ला सभापति इन्द्रबहादुर बानियाँले भने, ‘अहिले कोरोनाको तेस्रो लहरको जोखिम बढेको छ । महामारीका बीच विधान र संविधानलाई समेत विचार गर्दै भदामै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो जोड हो ।’ 

संस्थापनइतर पक्षका जिल्ला सभापतिहरूले विधि पद्धतिअनुसार क्रियाशील सदस्यताको टुंगो लगाएर त्यसको पूर्ण विवरण वेबसाइटमा राख्न र सच्याउने समयावधिसमेत प्रदान गर्न माग गरेका छन् । त्यस्तै, अन्य पार्टीबाट प्रवेश गरेका र समायोजन भएका सदस्यहरूको सन्दर्भमा केन्द्रीय परिपत्र र मापदण्डबमोजिम जिल्लाबाट तहगत सिफारिस भई आएकाहरूलाई मात्र मान्यता प्रदान गर्न माग गरेका छन् । 

कांग्रेसले १६–१९ भदौसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी १२ साउनबाट तल्ला तहको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, त्यो कार्यतालिका प्रभावित भइसकेको छ । अहिलेसम्म क्रियाशील सदस्यताको विवाद टुंगिएको छैन ।