१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २४ आइतबार
  • Friday, 05 July, 2024
भवानीश्वर गौतम काठमाडाैं
२o७८ श्रावण २४ आइतबार o६:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

एसइईको नतिजा सार्वजनिक : मूल्यांकनको आधार एउटै नहुँदा  बोर्डले तुलना गरेन तथ्यांक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण २४ आइतबार o६:२o:oo
  • जिपिए ४ ल्याउने अघिल्लो वर्षभन्दा कम 
  • अघिल्लो वर्ष ९,३१९ 
  • यस वर्ष करिब ८,४००

विद्यालयले आन्तरिक मूल्यांकन गरे पनि ०७७ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)मा उच्च ‘रेन्ज’को जिपिए ल्याउने विद्यार्थीको संख्या कम भएको छ । यस वर्ष अघिल्लो वर्षभन्दा विद्यार्थी धेरै भए पनि जिपिए ४ ल्याउने विद्यार्थीको संख्या झन्डै एक हजार कम छ ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्यांकनको प्रमाणीकरण शनिबार सार्वजनिक गरेको हो । तर, विद्यालयको मूल्यांकनको आधार एउटै नभएको र विद्यार्थीको स्तर मापन सही नहुने विश्लेषण गरी बोर्डले तुलनात्मक तथ्यांक सार्वजनिक गरेको छैन ।

स्रोतका अनुसार यस वर्ष एसइईमा जिपिए ४ ल्याउने विद्यार्थीको संख्या आठ हजार चार सयको हाराहारीमा छ । कतिपय विद्यालयले सबै विद्यार्थीलाई जिपिए ४ दिएका छन् । ०७६ को एसइईमा नौ हजार तीन सय १९ परीक्षार्थीले जिपिए ४ ल्याएका थिए । 

कोभिड– १९ का कारण भौतिक उपस्थितिमा परीक्षा लिन सक्ने अवस्था नभएपछि अघिल्लो वर्ष र यस वर्षसमेत बोर्डले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गरेको हो । यस वर्ष उच्च रेन्जको जिपिए ल्याउने विद्यार्थीको संख्यासमेत कम छ । 

अघिल्लो वर्षभन्दा झन्डै दुई हजार बढी विद्यार्थीको बोर्डले प्रमाणीकरण गरेको छ । अघिल्लो वर्ष चार लाख ८२ हजार विद्यार्थी रहेकामा ०७७ को एसइईमा चार लाख ८४ हजार दुई सय ७८ को नतिजा प्रमाणीकरण गरेको छ । 

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष आधिकारिक तथ्यांक विश्लेषण गरी सार्वजनिक गरेको छैन । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले उच्च अंक दिने संख्या घटे पनि प्रवृत्ति उस्तै रहेको बताए । हरेक विद्यालयले आ–आफ्नै ढंगले मूल्यांकन गरेकाले समग्रको तथ्यांक विश्लेषण नगरेको बताए । 

‘जुन विद्यार्थीको ए प्लस वा ए आएको छ, त्यही विद्यालयको विद्यार्थीमा गरेको मूल्यांकन हो, समग्रको होइन,’ उनले भने, ‘बोर्डको एउटै स्ट्यान्डर्डमा लिएको परीक्षा नभएकाले तुलना गर्न मिल्दैन ।’ उनले उच्च अंक पाउने विद्यार्थीको संख्या घटे पनि प्रवृत्ति उस्तै रहेको बताए । 

एसइईका परीक्षा नियन्त्रक रुद्र अधिकारीले विद्यालय आफैँले आन्तरिक मूल्यांकन गर्दा फरक हुन सक्ने भएकाले तुलना नगरेको बताए । उनले विद्यालयले पठाएको मूल्यांकनलाई प्रमाणीकरण मात्र गरेको बताए । 

मूल्यांकनमा जथाभावी गर्न नदिने प्रयास
यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले एसइईमा जथाभावी अंक नदिनका लागि केही प्रयास गरेको थियो । मूल्यांकन गर्दा ८० प्रतिशतभन्दा बढी अंक दिएमा कारण उल्लेख गर्नुपर्ने गरी कार्यविधि निर्माण गरेको थियो । 

०७७ को एसइई परीक्षाको विद्यालयबाटै आन्तरिक मूल्यांकन हुने भएपछि विश्वसनीय बनाउन कार्यविधिमा ८० प्रतिशत वा सोभन्दा बढी अंक पाउने विद्यार्थीको कैफियतमा कारण खुलाउनुपर्ने व्यवस्था गरेको थियो । 

विद्यार्थीको अंक अस्वाभाविक देखिएमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले कारण सोध्न सक्नेसमेत कार्यविधिमा व्यवस्था गरेको थियो । यस वर्ष पनि केही विद्यालयले अप्रत्याशित अंकसहितको मूल्यांकन बोर्डमा आएको थियो । बोर्ड इकाइलाई कारण सोध्न पठाए पनि मूल्यांकनमा भने परिवर्तन भएन । 

यस वर्षको मूल्यांकनमा विषय शिक्षकलाई बढी जिम्मेवार बनाइएको थियो । विषय शिक्षकले नियमितता, पहिलेका परीक्षा, कक्षा कार्य, प्रोजेक्ट वर्कका आधारमा मूल्यांकन गर्ने तथा प्रधानाध्यापकले प्रमाणीकरण गर्ने र त्यसपछि मूल्यांकन समितिमा रहेका पाँच सदस्यले अन्तिम गर्न व्यवस्था गरेको थियो । 

शिक्षक जिम्मेवार भएमा धेरै सुधार हुन्छ : प्रा.डा. बालचन्द्र लुइँटेल, शिक्षाविद्

अघिल्लो वर्षभन्दा यस वर्ष मूल्यांकनमा केही सुधार भएको जानकारी छ । यो सकारात्मक हो । सामुदायिकमा अलि बढी सुधार भएको र निजी विद्यालयमा मूल्यांकनमा अझै पनि समस्या रहेको प्रारम्भिक सूचना छ ।

कार्यविधिमा भएको व्यवस्थाले सुधारका लागि केही भूमिका खेल्यो । प्रणालीमै सुधार हुन सके राम्रो हुन्छ । उच्च जिपिए ल्याउनेको संख्या यस वर्ष कम भएको भन्ने छ । अघिल्लो वर्षभन्दा धेरै विद्यार्थीले उच्च जिपिए ल्याउनुपर्ने कारण पनि देखिँदैन ।

अघिल्लो वर्ष जथाभावी नम्बर दिएको भन्दै आलोचना भएकाले पनि केही सुधार भएको हुन सक्छ । शिक्षक जिम्मेवार भए धेरै सुधार हुन्छ । प्रणालीको सही निर्माता शिक्षक हो । शिक्षकलाई बढी जिम्मेवार बनाउन अधिकार पनि दिनुपर्छ । 

कक्षा १२ को परीक्षा स्थगित

आगामी ३१ साउनदेखि हुने तय भएको कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । कोरोना संक्रमण बढिरहेकाले परीक्षा पुनर्विचार गर्न कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले शिक्षा मन्त्रालयलाई पत्र पठाएपछि शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा स्थगित गरेको हो ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गरिएको बताए । तीन लाख ७२ हजार तीन सय ४८ विद्यार्थी कक्षा १२ को परीक्षा दिने तयारीमा थिए । बोर्डले सबै तयारी गरिसकेको थियो । परीक्षा सञ्चालनका लागि देशभर चार हजार तीन सय १० परीक्षा केन्द्र तोकिएका थिए ।

ad
ad
ad
ad