१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २२ शुक्रबार
  • Saturday, 28 September, 2024
तस्बीर : धनगढी–२ मा भत्किएको गत माघमा कालोपत्रे गरिएको सडक । 
२o७८ श्रावण २२ शुक्रबार १८:o२:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

६ महिना टिक्दैनन् कालोपत्रे सडक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण २२ शुक्रबार १८:o२:oo

धनगढी उपमहानगरपालिका–२ स्थित लोकतान्त्रिक चोकदेखि विश्वनाथ मन्दिरसम्मको करिब ६ सय मिटर कालोपत्रे सडक ठाउँठाउँमा भासिनुका साथै भत्किएको छ । सडक किनारतिर कालोपत्रे भासिएको छ, बीचमा चिरा परेका छन् । नालीसहितको यो सडकको अधिकांश ठाउँमा किनारतिर घाँस उम्रेर बीचसडकसम्म फैलन थालेको छ ।

धनगढी उपमहानगरपालिकाको ९७ लाख ३१ हजार लागतमा गत माघमा सडक कालोपत्रे गरिएको थियो । कालोपत्रे भएको केही दिनमै सडक भासिन सुरु भएको स्थानीयले बताएका छन् । नगरपालिकाका प्राविधिक र ठेकेदार कम्पनीको मिलेमतोमा सडक निर्माण गर्दा कमसल सामग्री प्रयोग भएको स्थानीयको आरोप छ ।

 ‘६ महिना नटिक्ने कस्तो सडक बनायो होला ?’ स्थानीय जयराम चौधरीले भने, ‘कमसल सडक बन्नुमा नगरपालिका पनि दोषी छ । सडक बन्ने वेला अनुगमन गर्न आएका प्राविधिक के हेरेर गए ?’ अन्जु निर्माण सेवाले सडक कालोपत्रे गरेको हो । करिब एक करोड लागतमा मर्मत गरिएको धनगढी मुख्य बजारको सडक पनि भत्किन थालेको छ । मर्मत गरेको सात–आठ महिनामै सडक भत्किएर ठाउँठाउँमा खाल्डाखुल्डी परेका छन् । वर्षायाम सुरु भएसँगै मुख्य बजारको सडक भत्किन थालेको हो । 

सघन सहरीअन्तर्गत साढे ६ करोडको लागतमा निर्माण भएको धनगढी ढुंगेबजार–तारानगर सडक हस्तान्तर नहुँदै भत्कन थालेको छ । कमसल सामग्री प्रयोग गरिएकाले नाली र सडक ठाउँठाउँमा भत्किएको स्थानीयले बताएका छन् । तीन हजार तीन सय ८४ मिटर लामो यो सडक लामा–खड्का–कृष्ण जेभीले ६ महिनाअघि निर्माण गरेको हो ।  

गत वैशाख–जेठमा निर्माण गरिएको धनगढी–५ शिवनगर पुल जोड्ने सडकमा झार उम्रनुका साथै भत्कन थालेको छ । खुट्टाले चलाउँदा पनि कालोपत्रे उप्कने गरेको स्थानीय दीपेन्द्र भण्डारीले बताए । ‘कालोपत्रे सडक दुई महिना टिकेन । कमसल सामग्री प्रयोग गरिएकाले यस्तो भएको होला,’ उनले भने । 

धनगढी–५ तारानगरमा हालै कालोपत्रे गरिएको सडकको अवस्था पनि उस्तै छ । सडकमा घाँस उम्रनुका साथै भत्कन थालेको छ । स्थानीयका अनुसार निर्माण भएको दुई सातामै सडकमा घाँस उम्रिएको थियो । उपमहानगरको आठ लाख ८० हजार रुपैयाँको लागतमा एक सय ६९ मिटर लामो सडक गत असार अन्त्यतिर कालोपत्रे गरिएको थियो । असारको अन्त्यमा बजेट सक्न हतारहतार काम गर्दा गुणस्तरहीन सडक बनेको स्थानीयले बताएका छन् ।

यी केही प्रतिनिधि उदाहरण हुन्, धनगढीमा गत वर्ष कालोपत्रे गरिएका आधा दर्जनभन्दा बढी सडकमा खाल्डाखुल्डी परेका छन् । कमसल सामग्रीको प्रयोग र स्टिमेटअनुसार काम नहुँदा सडक निर्माण भएको केही समयमै भत्किन थालेका हुन् । यसले सडक निर्माण र मर्मतमा उपमहानगरले बर्सेनि खर्च गर्ने कराेडौँ रुपैयाँको प्रतिफल दिगो हुन सकेको छैन । करोडौँ खर्च गरेर कालोपत्रे गरिएका सडक टालटुलमै थप लाखौँ रुपैयाँ खर्च भइरहेको छ । 

मिलेमतोले गुणस्तरमा बेवास्ता 
निर्माण कम्पनी र साइट हेर्ने कर्मचारीको मिलेमतोमा झारा टार्ने गरी काम हुँदा धनगढीमा कालोपत्रे भएको छोटो समयमै सडक भत्किने गरेका स्थानीय बताउँछन् । ‘निर्माणका वेला प्राविधिकले अनुगमन गर्छन् । स्टिमेटअनुसारको काम भए मात्र भुक्तानी गर्ने नियम छ,’ स्थानीय नरेन्द्र साउदले भने, ‘तर, ठेकेदार, कर्मचारी र प्राविधिकको मिलेमतो हुने भएकाले कामको गुणस्तर हेरिँदैन ।’ योजना छनाेटदेखि भुक्तानीसम्म जनप्रतिनिधिको समेत मिलेमतो रहने गरेको उनको आरोप छ ।  

गुणस्तरमा नगरपालिकाको बेवास्ता र उपभोक्ताले खबरदारी नगर्नुले कमसल सडकहरू बनेका अवकाशप्राप्त इन्जिनियर मोहनचन्द्र हमालले बताए । आर्थिक वर्षको अन्त्यमा हतारहतार काम गर्ने प्रवृत्तिले पनि गुणस्तर कायम हुन नसकेको उनले बताए । 

‘गुणस्तरमा ध्यान नदिइँदा दुई–अढाई वर्षअघि कालोपत्रे भएका कतिपय सडक पुनः कालोपत्रे गर्नुपर्ने अवस्थामा छन्,’ उनले भने, ‘कारबाही हुँदैन, जनप्रतिनिधि, कर्मचारी मिलाउन सके भुक्तानी पाइने भएकाले ठेकेदार पनि गुणस्तर हेर्दैनन् ।’

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्द गुणस्तर कायम गर्न नसक्दा अधिकांश सडक निर्माण भएको छोटो अवधिमै भत्कने गरेको स्विकार्छन् । कालोपत्रे सडक दिगो नहुँदा मर्मतमै वार्षिक ठूलो बजेट खर्च गर्नु परिरहेको उनले बताए । स्तरीय सडक बन्न नसक्नुमा उपमहानगरको पनि कमजोरी रहेको चन्दले स्वीकार गरे । अनुगमन प्रभावकारी नहुनु, थोरै बजेटमा कालोपत्रे गर्नुजस्ता कारणले स्तरीय सडक बन्न नसकेको उनले बताए । दिगो र टिकाउ सडक निर्माणका लागि उपमहानगरले आगामी दिनमा गुणस्तरमा ध्यान दिने चन्दले दाबी गरे ।